विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाएको छ ।
केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो ।
“जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक–दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ”, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भन्नुभयो, “पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ ।”
पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २०० मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको थियो ।
बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । “राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको हो”, योगेशले भन्नुभयो । उहाँका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहाबलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।
कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब आठ किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने