काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।
वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उहाँले सुनाउनुभयो ।
सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गर्नुभएको थियो । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्नेगरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौँ महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
