माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link