ग्यासको कालोबजारी नियन्त्रणमा विभाग सक्रिय

अन्तर्राष्ट्रिय बजारको अभावलाई बहाना बनाएर खाना पकाउने एलपी ग्यासमा भइरहेको कालोबजारी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ। पछिल्लो समय बजारमा ग्यास लुकाउने, बढी मूल्य लिने र अवैध कारोबार गर्ने क्रम बढेपछि विभागले यस्ता अनुचित व्यापारिक क्रियाकलापबारे जानकारी दिन आम उपभोक्तालाई आग्रह गरेको छ। उपभोक्ताले देशको जुनसुकै स्थानबाट ग्यास अभाव वा ठगीसम्बन्धी सूचना विभागको निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर टिपाइ सहयोग गर्न सक्नेछन्।

नेपाल आयल निगमले आपूर्ति व्यवस्था सहज बनाउन आधा सिलिन्डर ग्यास बिक्री गर्ने व्यवस्था गरे पनि बजारमा अझै अभाव कायमै छ। यसै सन्दर्भमा विभागले देशभर स्थलगत अनुगमन र निरीक्षणलाई तीव्र पारेको छ। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने व्यवसायीलाई तत्कालै कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ। आपूर्ति प्रणालीलाई सहज बनाउन र कृत्रिम अभाव सिर्जना गर्ने तत्त्वहरूलाई नियन्त्रण गर्न विभागले उद्योगी तथा वितरकहरूलाई कानुन बमोजिम मात्र व्यवसाय सञ्चालन गर्न सचेत गराएको छ।

यसै कारबाहीको क्रममा सोमबार विभागले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा छापा मारेको थियो। उक्त उद्योगले ६ हजार ३७७ थान भरिएका सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला परेपछि विभागले तत्कालै ३ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले विषम परिस्थितिमा उपभोक्तालाई मर्कामा पार्ने जो-कोहीलाई पनि नछाड्ने प्रतिबद्धता जनाउँदै सूचना दिएर सहयोग गर्न नागरिकहरूलाई पुनः अनुरोध गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link