यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको रोमाञ्चक खेलमा स्पेनी जाइन्ट रियल मड्रिडले ग्रीक क्लब एएके एथेन्समाथि ३–२ गोल अन्तरको कठिन जित निकालेको छ। खेलको अन्तिम समयमा कप्तान फेडरिको भल्भेर्डेले उत्कृष्ट गोल गर्दै रियल मड्रिडको शतप्रतिशत जितको यात्रालाई कायम राखेका छन्।
एएके एथेन्सको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले दुई पटक अग्रता लिए पनि जोसे मोउरिन्होको टोलीले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलको १२औँ मिनेटमा आबुबाकारी कोइटाले गोल गर्दै एएके एथेन्सलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको ३२औँ मिनेटमा जुड बेलिंगहमले उत्कृष्ट फिनिसिङ गर्दै रियल मड्रिडका लागि १–१ गोलको बराबरी फर्काए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा खेल झन् रोचक बनेको थियो। खेलको ७५औँ मिनेटमा स्टाभ्रोस पिलियोसले गोल गर्दै एएकेलाई फेरि २–१ ले अगाडि बढाए। घरेलु टोली जित नजिक पुगेको जस्तो देखिए पनि स्टार स्ट्राइकर किलियन एम्बाप्पेले हार टारे। खेलको ७८औँ मिनेटमा एम्बाप्पेले उत्कृष्ट गोल गर्दै स्कोर २–२ बनाए।
निर्धारित ९० मिनेटको खेल बराबरी तर्फ उन्मुख रहेका बेला इन्जरी समयको दोस्रो मिनेटमा (९२औँ मिनेटमा) कप्तान फेडरिको भल्भेर्डेले डिबक्स बाहिरबाट निकै शक्तिशाली र आकर्षक लामो दूरीको प्रहार गर्दै जाली चुलाए। भल्भेर्डेको यही निर्णायक गोलको मद्दतले रियल मड्रिडले रोमाञ्चक ३–२ को जित हात पार्न सफल भयो।
यो जितसँगै च्याम्पियन्स लिगको इतिहासमा रियल मड्रिडले खेलको इन्जरी समय वा अतिरिक्त समयमा कुल ४९ गोल पुर्याएको छ, जुन प्रतियोगिताको इतिहासमै सर्वाधिक हो। साथै, यो जितसँगै रियल मड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत तथा अपराजित यात्रा कायम राखेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
- तरकारीभन्दा फूल खेतीमै बढी आम्दानी
- आजदेखि राष्ट्र बैंकले सुन-चाँदीका सिक्का बेच्ने
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- पश्चिमी वायुको प्रभाव: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
