रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो पदार्थ वा सिद्धान्तलाई आदर्श भनिन्छ । यसलाइ बृहत् नेपाली शब्दकोषले कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर भनेर पनि अर्थ्याएको छ । आदर्श संस्कृत शब्द हो । यो शब्दमा वाद थपे आदर्शवाद बन्छ । आदर्शवाद भनेको मानिसले सधैं आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य सुन्दर र सुखद हुनेछ भन्ने एउटा सिद्धान्त पनि हो । अर्थ हेर्ने हो भने यो शब्द आफैंमा श्रद्धा जगाउन सक्ने शब्द हो भन्ने बुझ्न कठिन छैन ।
कुनै व्यक्ति, वस्तु, वा संस्थाको लागि यो शब्द प्रयोग गरियो भने त्यो अत्यन्तै सम्मानित र अनुकरणीय छ भनेर बुझिन्छ । यसले मानिसमा स्वाभाविक लालसा जगाउँछ– त्यस्तै हुन पाए गजब हुन्थ्यो भनेर । ‘आदर्श ‘ शब्द बोल्न र लेख्न जति सजिलो छ त्यति दुरूह र दुर्ज्ञेय छ यसलाई व्यवहारमा उतार्न वा यसको मर्यादा कायम राख्न । यति हुँदाहुँदै पनि मानिस यो शब्दप्रति आकर्षित हुन्छन् र आफूमा त्यो शब्द प्रयोग होस् भन्ने चाहन्छन् ।
मानिस विवेकसम्मत प्राणी भएकाले सकेसम्म राम्रै गरौं भन्ने सोच राख्दछ । यस्तै विवेकी मानिसहरूको मत मिल्यो भने समाज कल्याणका कार्य गर्न अग्रसर हुने हुन् ।
आज यही आदर्शसँग जोडिएको एउटा पुस्तकालयबारे केही चर्चा गर्ने जमर्को गरेको छु । प्रसङ्ग हो- मोरङ जिल्लाको विराटनगरस्थित आदर्श पुस्तकालयको ।
निरङ्कुश जहानिया शासनको दबदबा भएका वेला सबै जातजाति, भाषाभाषीको साझा चौतारीको कल्पना गरेर विराटनगरका आदर्शवान पुरुषहरूले विक्रम संवत् २००३ सालमा आदर्श विद्या मन्दिर स्थापना गरे । यो मन्दिरले कुनै किसिमको भेदभाव नगरी ज्ञान लिन र दिन तत्पर मानिसहरूलाई एकत्रित गर्न थाल्यो । त्यसवेला विराटनगरमा आदर्शवान मानिसहरूको कमी रहेनछ, जसले यस्तो पुण्यको काम सुरु गर्नुभयो । यसैलाई पछि आदर्श पुस्तकालय भनिन थालियो ।
आदर्श पुस्तकालयको निजी सम्पत्ति अनेक जालझेल, तिकड़म र ख़ुराफ़ाती प्रपञ्च रचेर रोटरी क्लब विराटनगरले आफ्नो नियन्त्रणमा लिन सफल भयो । आदर्श पुस्तकालय भन्ने कुरा इतिहासको गर्भमा लुक्न पुग्यो र त्यस ठाऊँमा रोटरी जग्मगायो । सबै मुकदर्शक बनेका छन्, मानौ त्यहाँ तमासा चलिरहेको छ । शायद आम नागरिक मनोवैज्ञनिक त्रासमा छन्- कोही केही बोल्दैनन् । उनीहरू टुलुटुल हेर्न बाध्य छन् तर किन ?
त्यसवेला आदर्श पुस्तकालयसँग प्रशस्त पुस्तकहरू थिए । उसको आफ्नै निजी घर-जग्गा थियो । पुस्तकहरूको सुव्यवस्था र सञ्चालन आफैँले गरिआएको थियो । यसका मुख्य संस्थापकहरू मध्येका थिए- लक्ष्मीराजभक्त नेपाली र प्रतापनिधि शर्मा । विशेषगरी यी दुई आदर्श पात्रको सुनाम आदर्श पुस्तकालयसँग अभिन्न रूपमा जोडिएको छ । प्रतापनिधि शर्मा संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँहरूको व्यक्तित्व उदाहरणीय र अनुकरणीय मानिन्छ ।
समय, परिस्थिति विविध कारणले पुस्तकालय सञ्चालनमा शिथिलता देखापर्न थाल्यो ।
यसैबीच २०३३ सालमा विराटनगरमा पनि रोटरी क्लब गठन गरियो । विराटनगरको रोटरी क्लबले २०३४ सालमा आदर्श पुस्तकालय सञ्चालनमा बाधा नपुर्याई आफ्नो काम त्यहीँबाट सञ्चालन गर्ने भयो । क्लबले आदर्श पुस्तकालय सञ्चालन गर्ने जिम्मासमेत लियो ।
आदर्श पुस्तकालय र रोटरी क्लब दुई अलग-अलग दिशा र कार्यक्षेत्र भएका संस्था हुन् । अझ रोटरी क्लबले पनि आफ्नो उद्देश्यमा ‘आइडियल’ शब्दलाई विशेष महत्त्व दिएको छ । दुवै संस्था विराटनगरमा रहेको र विराटनगरवासीको संलग्नता रहेको कुरालाई विचार गरी तत्कालीन अञ्चल प्रशासनको रोहवरमा आदर्श पुस्तकालय सञ्चालनको जिम्मा लिएर पुस्तकालय परिसरमा रोटरी क्लब अफ विराटनगरको प्रवेश भयो ।
सुरूका दिनमा रोटरी क्लब र आदर्श पुस्तकालयको सम्बन्ध राम्रै थियो । रोटरी क्लबको अध्यक्ष किशनलाल दुगड भएका वेला २०३९ सालमा पुस्तकालयको एकतले भवनको जीर्णोद्धार गरियो । भवन जीर्णोद्धार कार्य सम्पन्न भएपछि पुस्तकालय भवनको भित्तामा एउटो शीलालेख राखियो । शीलालेखमा लेखिएको छ- ‘यस आदर्श पुस्तकालय भवनको जीर्णोद्धार एवं पक्की हाता लगाउने कार्य रोटरी क्लब विराटनगरले आफ्ना सदस्यहरू एवं व्यापरीवर्गबाट सहयोग स्वरूप संकलन गरेको ४१०००।– रुपैयाँ खर्च गरी सुसम्पन्न गरायो ।’
रोटरियन किशनलाल दुगड आदर्श रोटरियन हुन् । विराटनगरका अरू रोटरियनको तुलनामा पुस्तकालयप्रति उनको इमानदारी र सदाशयता नमन गर्न लायक र स्तुत्य छ । रोटरीको विश्वव्यापि ‘आदर्श’ को अवलम्बन उनीबाट भएको छ । २०२८ सालमा आदर्श पुस्तकालयको सल्लाहकार सदस्यको हैसियतमा काम गरेका तोलाराम दुगडको छाप र प्रभाव उनमा राम्रै परेको हामी धेरैले स्वीकार गर्न हिचकिचाउनु हुँदैन ।
आदर्श पुस्तकालयका संस्थापक सदस्य एवं २०२८ सालका सञ्चालक समिति सदस्य लक्ष्मण शास्त्री (२०५० जेठ मसान्तमा निधन) ले पनि आफ्नो संस्मरणमा आदर्श पुस्तकालय र किशनलाल दुगडको चर्चा गर्नुभएको छ । उहाँ भन्नुहुन्छ- “ पुस्तकालय सञ्चालनको भार रोटरीले आफ्नो हातमा लियो । वर्ष दिनपछि क्लबका सदस्यहरूले पुस्तकालय सञ्चालन गर्न ( खोल्न बन्द गर्न ) आआफ्ना नोकरहरूलाई अधिकार दिएको हुनाले त्यसबेला धेरै किमति पुस्तकहरू र जिल्द बाँधिएका बहुमूल्य पत्रिकाहरू हराए ।” उहाँ अगाडि लेख्नु हुन्छ- “वर्ष दिनपछि रोटरी क्लबको चुनाव हुँदा अध्यक्ष पदमा किशनलाल दुगडको आगमन भयो, … भवनको जीर्णोद्धार गरिछाडे । अहिलेसम्म अर्थात् यो संस्मरण लेख्दासम्म पुस्तकालय राम्ररी चलिरहेको छ ।”
आदर्श पुस्तकालयका अगाडि रोटरीको आदर्श ह्रास हुन थाल्यो । २०४३ सालपछि विराटनगरका रोटरियनहरूको मनमा द्वेष र अपवित्र भावनाले जरा गाड्न थाल्यो । यसको फलस्वरूप न पुस्तक, न पुस्तकालय रहन सक्यो । पुस्तकालयको निजी सम्पत्तिमा रोटरीको समेत नाम अंकित हुन् पुग्यो । पुस्तकालय भवन ‘रोटरी भवन’ मा परिणत गरियो । त्यहाँ पुस्तकालय भनेर चिनिने नामोनिशान केही रहेन । अब त्यहाँ रोटरी मात्र रह्ये । देखिन थाल्यो- केवल रोटरी ।
आदर्श पुस्तकालयको निजी सम्पत्ति अनेक जालझेल, तिकड़म र ख़ुराफ़ाती प्रपञ्च रचेर रोटरी क्लब विराटनगरले आफ्नो नियन्त्रणमा लिन सफल भयो । आदर्श पुस्तकालय भन्ने कुरा इतिहासको गर्भमा लुक्न पुग्यो र त्यस ठाऊँमा रोटरी जग्मगायो । सबै मुकदर्शक बनेका छन्, मानौ त्यहाँ तमासा चलिरहेको छ । शायद आम नागरिक मनोवैज्ञनिक त्रासमा छन्- कोही केही बोल्दैनन् । उनीहरू टुलुटुल हेर्न बाध्य छन् तर किन ?
विराटनगर रोटरीको नियत पुस्तकालयलाई शून्यमा पुर्याउने र सम्पत्ति हत्याउने रहेछ भन्ने कुरा नगरवासीहरूले बुझ्दै जान थालेपछि त्यसलाई ब्युँताउन केही व्यक्तित्व जुरमुराए । उनीहरूले आदर्श पुस्तकालयको विधान,२०७६ दर्ता गराएर विधानसम्मत ढङ्गबाट काम गर्न शुरू गर्न थाले । यसले रोटरियनहरूमा छटपटि र खटपटी शुरू भयो । उनीहरूले पुस्तकालय प्रतिनिधिहरूको गतिविधिलाई निस्तेज पार्ने र त्यसलाई धराशायी बनाउन चाल चल्न सुरू गरे । स्थानीय पत्रिकामार्फत पुस्तकालयका बारेमा चासो राख्नेहरूको मानमर्दन गर्न पनि पछि परेनन् ।
पुस्तकालयका पदाधिकारीहरूले रोटरीसँग गरेको अनुरोधलाई बेवास्ता गर्ने, आदर्श पुस्तकालय भन्नु नै रोटरी हो भन्ने दम्भ देखाउने गर्न थाले । त्यसपछि रोटरीले आफ्नो विधान २०७७ सालमा दर्ता गरायो र त्यसको दफ़ा ( १६ झ ) मा आदर्श पुस्तकालयलाई रोटरीको अधीनमा खुम्च्याउने कार्य गर्यो । पुस्तकालय समितिलाई ‘कथित’ भन्ने, एकत्रित हुँदै गएकालाई फूटको प्रयास गर्ने, पुस्तकालयको ७५ वर्षे हीरक जयन्ती पुस्तकालय परिसरमा मनाउन प्रशासनको सहारा लिएर हटक गर्ने र अन्यत्र गर्न बाध्य तुल्याउने, हीरक जयन्ती रोटरीले मनाउँछ भन्ने तर नमनाउने कार्य गरे । केही रोटरियनहरूले सामान्य शिष्टता राख्न समेत उपयुक्त ठनेनन् । शिष्टता नै नभएपछि लाज शरमको ख्याल नहुनु त स्वाभाविक नै भयो ।
यसैक्रममा २०७९/३/६ का दिन नगरवासीहरूको आँखामा छारो हाल्न (आदर्श पुस्तकालयको भवनमा) रोटरीले इ–लाइब्रेरीको उद्घाटन गरेको समाचार स्थानीय समाचारपत्र मार्फत सार्वजनिक भयो । यो रोटरीको अर्को जाल हो- चाल हो । कहाँको ऐतिहासिक आदर्श पुस्तकालय, कहाँको रोटरी क्लब ।
आदर्श बचाएर राख्न यो समाजमा अझै थुप्रै मानिस छँदैछन् भन्ने कुराको प्रमाण आगामी दिनले प्रस्तुत गर्दै जानेछ । आदर्श पुस्तकालयलाई जीवन दिन तत्पर तमाम विवेकी नागरिकसमक्ष यसको संरक्षण र सम्बर्द्धन गर्दै जीवन्तता प्रदान गर्न आम नागरिकको साथ र सहयोग प्राप्त हुने अपेक्षा राख्दै सबैलाई यो पुनित कार्यमा सहभागी हुन आह्वान गर्दछु ।
(लेखक कार्की पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार