फोनको क्यामरा अन छ, एउटा संगित बजिरहेको छ अनि नाँचिरहनु भएको छ मेरी आमा।५४ वर्ष पुग्नु भएकी मेरी आमाले यसरी आफ्नो मन खोलेर रमाउनका लागि वा बह पोख्नका लागि कि रत्यौली आउनु पर्थ्यो कि तीजनै।
सायद यो मेरी आमाको कुरा मात्र होइन, आज टिकटकमा धेरै आमाहरू धक खोलेर नाचेका छन्, आफ्ना कुरा भनेका छन् आफूले जानेका सीप बाँडेका छन्। सार्वजनिक रूपमा उनीहरूको प्रशंसा भएको छ, नचाहिदो गर्दा गाली पनि खाएका छन्।
यही त हो टिकटकको शक्ति।आवाजबिहिनहरूका लागि आवाज बनेको छ मञ्च नपाएकालाई गज्जबको रंगमञ्च भ
एको छ। कुन्ठा पोख्ने, रिस गर्ने, गाली गर्ने, सबले एउटा माध्यम पाएका छन्। कतिका लागि नशा भएको छ कतिलाई दुर्व्यसन।
सुत्नु अगाडि एकचोटि टिकटक नहेरी निन्द्रा नै लाग्दैन- साह्रै व्यस्त जीवन विताउने मेरा साथीसंगीको मुखबाट यो धेरै पटक सुनेकी छु। नशा भन्नुस् दुर्व्यसन भन्नुस वा मनोरञ्जन । त्यसैमा त फस्टाएको छ टिकटक ।
सन् २०१६ को सप्टेम्बरमा चिनको बाइटडान्स नामक कम्पनीले सुरू गरेको डाविङ्ग नामक एपलाई २०१७ को सप्टेम्बरमा टिकटकका रूपमा अन्तर्राष्ट्रिय स्तरमा फैलाइयो।संसारभर विवाद र प्रतिबन्धका अनेकन काण्ड छन् टिकटकका। तर त्यति हुँदाहुँदै पनि सेप्टेम्बर २०२१ मा टिकटक हरेक दिन एक करोड ४५ लाख मानिशले प्रयोग गरेको तथ्याङ्क छ।टिकटक किन यति छिट्टै यति धेरै लोकप्रिय भयो भन्नेमा नेपालमाचाहिँ धेरै थरी उत्तर आउने गरेका छन् । छोटो समयमा धेरै कुरा हेर्न र देखाउन सकिने भएर, सबैको पहुँच सजिलै हुने भएर, टिकटकबाट स्टार बन्ने अवसर भएर, कमाईको पनि माध्यम भएर, आफू एकलै पनि गर्न सक्ने भएर आदि इत्यादी नेपालमा आउने उत्तर हुन।
बुढादेखि बच्चासम्मको ध्यानाकर्षण गर्न सफल भएकै हो यो समयमा। म्युजिक भिडियोको प्रोमोसन त झन टिकटक बिना नहुने नै भएको छ। यो त भयो टिकटकले किन तान्यो त मानिसलाई भन्ने कुरा। अब टिकटकका विषयमा बनिएका धारणाका पनि कुरा गरौं। कोही भन्छन यो खेर गएको समयको दुरुपयोग हो। कोही भन्छन् यो सृजनाको स्थान हो। कोही भन्छन् यसले समाजमा विकृति भित्र्याउदै छ। कोही भन्छन् यसले एक्लोपन र एन्जाईटी कम गर्दै छ। कोही भन्छन् परिवारलाई नजिक बनाएको छ त कोही टाढा। कोही भन्छन् प्रतिभा जन्माएको छ। कोही भन्छन् आत्महत्या नै घटाएको छ । हाम्रो यी कुनै पनि कुराको अनुसन्धान भएको छैन, त्यसैले प्रमाण पनि छैन तर भन्नेहरूले भनिनै रहेका छन्।
संसारका त्यति धेरै मानिशलाई तान्न सफल भएको टिकटकले मलाई पनि तान्यो भन्दा के अचम्भ भयो त? म टिकटकमा अलि पछाडि नै आईपुगे । यसको श्रेय मेरो साथी प्रतिमालाई जान्छ। उनीले नै पहिलो चोटि घरमा आएर मेरो टिकटक भिडियो बनाईदिएकी हुन र चलाउन पनि सिकाइदिएकी हुन। गीतको धुन र लाईन सुन्ने बितिक्कै मलाई नाचौं नाचौं भैहाल्छ । कतिपय यस्ता घटनापनि छन् जहाँ नाच्नु नै हुने थिएन तर मैले नाचेरै छोडेको छु। त्यसैले टिकटक प्रयोग गर्न सुरु गर्दा मैले गीतमा नाचेकै भिडियो बनाए। म टिकटकमा आफुलाई अभागी नै मान्छु किनभने मेरो चलचित्रमा लाईक र भ्युज त्यति धेरै आउँदैन। अरुले नहेर के भयो त एउटा भिडियो बनिसकेपछी म त्यसलाई आफैं हेर्छु अनि मख्ख पर्छु किनकी म आफूले आफैलाई खुब माया जो गर्छु। पछि पछि भने मैले संवादमा अभ्यास गर्न लागें यो निकै नै फलदायी रह्यो । पेसाले रङ्गकर्मी अभिनय त मैले गर्ने नै भएँ तर मलाई डबिङ्ग गर्ने काममा लिपसिङ मिलाउन पहाड नै पर्थ्यो। संवादमा बनाउदा मैले बिस्तारी मेरो लिप्सिङ्गमा सुधार पाएँ। यसको लागि मैले टिकटकलाई धन्यवाद भन्नै पर्छ। टिकटकलाई हामीले सिकाईको थलो पनि मान्न सक्ने रहेछौं। अझै पनि आफुलाई मन परेको गीतमा नाच्दै, गाउँदै र डाईलगमा टिकटक बनाउन छोडेको छैन।
अब कुरा गरौं कन्टेन्टको। कस्ता सामाग्री टिकटकमा आईरहन्छन र रुचाईन्छ त? मानिस स्वभावले नै हाँस्न चाहन्छन। त्यस अर्थमा गम्भीर भन्दा पनि कमेडी भिडियो धेरै बनेको पाउँछु। तर हँसाउन कै लागि अनावश्यक रुपमा व्यक्तिको शरीरमा गरेको प्रयोग देख्दा दु:ख पनि लाग्छ। अनि हसाउन कै लागि गरेको “लाउड याक्ट” पनि अलि पचाउन गाह्रो पर्ने नै हुन्छन। अर्को बन्छन् दोहोरो अर्थ लाग्ने खालका । हेर्दै के गर्या होला भन्या जस्ता भिडियो जसमा भ्युज व्यापक हुन्छन् र कमेन्टको ओइरो। “म चाहिँ कमेन्ट पढ्न मात्रै आको है ” भन्ने जस्ता कमेन्ट पढ्दा अचम्म लाग्छ । अरुले गाली गरेको के सुन्न मन परेको होला? रमिते जमातको कमि कहाँ छ र यहाँ। यस्ता भिडियो नबनाएपनि हुने भन्ने भैरहन्छ।
चलाउन र सदुपयोग गर्न जाने टिकटकजस्ता सामाजिक सञ्जालका निकै धेरै फाइदा छन् तर जीवन उपयोगी शिक्षा लिने बेलामा बालबालिकाले सबै समय यता खर्च गर्दा भने उनीहरूका लागि अभिशाप हुन सक्छ। श्रोत: INS NEWS-स्वतन्त्र समाचार
सरस्वती अधिकारी
- सरस्वती रंगकर्मी हुनुहुन्छ र आइएनएस-स्वतन्त्र समाचारका लागि नियमित लेख्नहुन्छ।