द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-१६
वास्तवमा गङ्गालाई पृथ्वीमा गर्नु पर्ने काम सिद्धिएको थियो तत्कालका लागि। उनी पवित्रताकी प्रतीक थिइन्। उनी शिवजीको जटामा बसेर संसारलाई शुद्ध पार्ने काममा खटिएकी थिइन् स्वर्गमा। ती पवित्रताकी प्रतीक गङ्गाकै कोखबाट नै वसुहरूले जन्म लिन चाहेका थिए। धेरै पहिले नै श्रापमुक्त हुन चाहने वसुहरूमध्ये कान्छा वसुको लागि गङ्गा चिन्तित हुने नै भइन्। आखिर जे जस्तो परिवेशले वसुहरू जन्मनु परेको भए पनि आमाको कोखबाट जन्मने र जन्माउने काम त यही मत्र्यलोकमा नै भएको थियो। महाराज शन्तनुका सन्तानका रुपमा त जन्मिएकै थिए। त्यसमध्ये आठौँ वसुले कुरुवंशका लागि यो धरामा केही काम गर्नु नै थियो। तर वसुमध्ये द्यौ वसुको समय लम्बिनु पर्ने कारणमा र गङ्गा स्वर्गमा फर्कनु पर्ने कारणमा त्यही सर्त अचानक तेर्सियो -महारानीले जे गरे पनि महाराज शन्तनुले चुपचाप हेरेर बस्नु पर्ने थियो तर आठौँ सन्तानलाई पनि पानीमा लगेर बगाउने चेष्टा गरे पछि राजालाई असह्य भएकै हो। कारण थियो, यी नियतिका अदृश्य गणितका सूत्रहरूका बारेमा उनलाई कुनै जानकारी थिएन। त्यसैले आठौँ बच्चालाई रानीको हातबाट खोस्ने धृष्टता महाराज शन्तनुले गरेकै हुन्।
अरु अप्सराहरूको चरित्र र गङ्गाको चरित्रमा भिन्नता पाइने रहेछ। अरु अप्सराहरू इन्द्रका स्वार्थ र क्षणिक आनन्दका लागि मर्त्यलोकमा समय व्यतीत गर्न आउँछन् र भोग विलासका क्रममा यदि बच्चा जन्मेको अवस्थामा निर्मम तरिकाले बच्चा या बच्चीलाई कसैको सहाराविना नै छोडेर गएका पाइन्छन् तर गङ्गाले ती सात वसुहरूलाई पानी डुबाउनुका कारण थियो, उनीहरूलाई उनीहरूको लोकपालको कर्तव्यका लागि बेलैमा पठाउनु। अनि समयक्रममा आफ्ना महत्वपूर्ण काम गर्न मत्र्यलोकमा आएका अष्टवसुमध्येका द्यौ वसुले गर्नु पर्ने कामहरूमध्ये थियो कुरुकुलको अन्तिम राजकुमारका रुपमा सत्यप्रतिको निष्ठालाई अघि बढाउनु र कलिको आगमनका बेलाको स्वागत गराउनु। धर्म र कर्मका बिचमा देखिने खाडलको उदाहरणीय नेतृत्व गर्नु। धृतराष्ट्र राजा हुनुभन्दा पहिलेको अवस्था कस्तो थियो ? स्वयं धृतराष्ट्र र पाण्डु कुन तरिकाले कुरुकुलमा जन्मिए ? कसरी धीवरपुत्री मत्स्यगन्धा महारानी हुन हस्तिनापुर दरबारमा आउन सकिन् ? कसरी मत्स्यगन्धाले आफ्ना सन्तानका लागि कुरुवंशीय अनुपम गद्दी फेला पार्न सकिन् अनि बल्ल बल्ला वृद्ध राजा शन्तनुबाट जन्मिएका दुई सन्तान चित्राङ्गद र विचित्रवीर्यको लागि हस्तिनापुर सुरक्षित हुन सक्यो ? नियतिले तिनै कान्छा वसुलाई त्यसको अभिभारा सुम्पिएको देखियो।
अनि गङ्गाले उनलाई अरु अप्सराहरूले जस्तो बिचैमा जेसुकै गरोस् भनेर छोडिनन्। हो पक्कै नै सर्तको बहानामा हस्तिनापुरकी महारानीको पदवी छोडिन् तर आफूले पाएको छोरालाई संसारको सबैभन्दा नैतिकवान राजकुमारको रुपमा, सबैभन्दा लडाकु क्षत्रियको रुपमा, चारैवेद र सम्पूर्ण पुराणादिको ज्ञाताको रुपमा, नीतिवान राजाको रुपमा तयार गर्न कुनै कन्जुस्याइँ गरिनन्। राजालाई मात्र यति भनेर गएकी थिइन् कि महाराजको छोरोलाई म योग्य शासकको रुपमा, योग्य लडाकुको रुपमा र सर्वश्रेष्ठ मानवको रुपमा फिर्ता गर्नेछु। यति भनेर सालनालसहितको बच्चा लिएर गएकी गङ्गाले एकजना वयस्क युवाको रुपमा देवब्रत हस्तिनापुरलाई दिइन् र सदैव गांगेय देवब्रतको रक्षाकवचको रुपमा अदृश्य लागिरहिन्। र भनेकी थिइन् -बाबु, जब जब तिमीलाई गाह्रो साँघुरो पर्नेछ, यो गङ्गालाई सम्झनू, हाजिर हुनेछु। यसरी आमाको आशीर्वादको कवच जहिले पनि गांगेयमा अनुभूत हुन्थ्यो र जबजब हस्तिनापुरका संरक्षक राजकुमार देवब्रतलाई निर्णय गर्न मुस्किल हुन्थ्यो, अनायास नै माता गङ्गाको स्मरण गर्थे र अदृश्यरुपमा गङ्गाबाट पाउने ढाढसलाई आफ्नो क्षमताको रुपमा प्रयोग गर्थे।
एउटा कुरामा राजकुमार देवब्रत जसलाई पछि गएर नातिहरूका तर्फबाट पितामहको रुपमा मानिएकाले र कहिल्यै विवाह पनि नगर्ने, राज्यको औपचारिक राजाको पदवी पनि नलिने भीष्म ब्रतको पालना गर्न उद्यत भएकाले भीष्म पितामह भनियो। महाभारतले औपचारिकरुपमा, रक्तका आधारमा कुरुकुलीय शिरोमणिका रुपमा उनैलाई अन्तिम वंशका रुपमा मानियो। त्यसो त राजाका अनेक महारानीहरूबाट जन्मिएका अनेक सन्तानका रुपमा कुरुकुलीय सन्तान थिए होलान् तर राजपरिवारका रुपमा ठाडो सन्तान शाखाको सदस्यका रुपमा भीष्म पितामह नै पछिल्ला पुस्ता देखिन्छन्।
कुरुवंशीय परम्परामा नियोगको सिद्धान्तले राजपरिवारका सदस्यहरू जन्माएका देखिन्छन् र उनीहरूलाई राजकीय पदमा आसीन गराएको पनि पाइन्छ। जस्तो कि विचित्रवीर्यको आधिकारिक पहिलो सन्तानको रुपमा धृतराष्ट्रलाई कुरुकुलीय ज्येष्ठ सन्तानको रुपमा, पाण्डुलाई कुरुकुलीय दोश्रो सन्तानको रुपमा र शूद्राबाट जन्मिएकाले विदुरलाई राजाको रुपमा स्वीकार नगरिएता पनि महामन्त्रीको रुपमा स्वीकार गरिएको पाइन्छ। आखिर धृतराष्ट्र, पाण्डु र विदुर विचित्रवीर्यको क्षेत्रमार्फत् जन्मिएकाले उनीहरू नियोगका कारणले जन्मिएता पनि विचित्रवीर्यकै सन्तानको रुपमा गणना गरिएका हुन्।
भीष्म पितामहका बारेमा यदि जानिएन भने महाभारतको खास तथ्यको जानकारी नै हुँदैन भनिन्छ। जब जब हस्तिनापुरलाई अप्ठेरो परेको हुन्छ, धर्म अधर्मको बिचार नगरी कुरुवंशको अविच्छिन्न उत्तराधिकारको बचाउमा उनी लागेका पाइन्छन्। धर्म र अधर्मको बिचार नगरी भन्नुको अर्थ हो, जानाजान धृतराष्ट्र र उनका सन्तानहरूबाट भएका गल्ती कामहरूलाई सहने र त्यसका विरुद्धमा आवाज नउठाउने गरेका धेरै उदाहरणहरू पाइन्छन्। त्यसका पछिल्तिरको मुख्य तर्क नै के दिइएको पाइन्छ, भीष्म पितामहले भने यदि मैले वास्ता गरिन भने हस्तिनापुरको अस्तित्व मेटिन्छ।
आन्तरिक द्वन्द्वमा सधैँ पिल्सिएका देवब्रतले आफ्ना पुरानो जन्मको पनि कर्तव्य पूरा गर्दै थिए भने वर्तमानमा प्राप्त भूमिकाको पनि कुशलताका साथ निर्बाह गरिरहेका थिए। उनलाई थाहा थियो, शिखण्डीको जन्म उनको वध गर्नका लागि भएको थियो र पनि आफ्नै दरबारको गुरुकुलमा आचार्य द्रोणमार्फत् शिक्षादीक्षा दिलाउने काम गराएका थिए। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार