निर्वाचन आयोगले विजयकुमार गच्छेदारविरुद्ध नेकपा (एमाले) को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिनुभएकी भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका वडा नं. १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा स्थानीय एक अनलाइनमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ। साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ। निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सन्दर्भमा तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
स्पष्टीकरण पत्रमा निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिईएको धम्कीपूर्ण तथा हिंसाउद्यत गराउने अभिव्यक्ति तपाईंले नै दिएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले सार्वजनिक मञ्चमा दिनु भएको भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र सोही ऐनको दफा १३ को उपदफा (१) को खण्ड (फ) को उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ।
ट्वीटका कुरामा गगनलाई स्पष्टीकरण
निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार गगन कुमार थापालाई ‘फेरी पनि काठमाडौँ क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरिएको भनी आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ। स्पष्टीकरण पत्रमा भनिएको छ–निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ।
क्याम्पसका सहप्राध्यापक पार्टी सचिव?
निर्वाचन आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई नेपाली काँग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन।
त्यस्तै निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको छ। पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
स्पष्टीकरण पत्रमा भनिएको छ–प्रचलित कानून तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी तपाईं राजनीतिक दलको गतिविधिमा संलग्न हुनु भएको होईन भन्ने आधार र कारण के छ ? तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी तपाईं राजनीतिक दलको गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही हुनु नपर्ने हो ? साथै तपाईंलाई प्रचलित कानून बमोजिमको कारवाहीको लागि सम्बन्धित निकायलाई किन लेखि पठाउनु नपर्ने हो?
यसैगरी आयोगले सहप्राध्यापक डा. पराजुली नेपाली काँग्रेसको पार्टी सचिव रहेको विषयमा पाटन संयुक्त क्याम्पसका प्रमुखलाई स्पष्ट खुलाई दिन भन्दै पत्र पठाएको छ।
सहप्राध्यापक भई राजनीतिक गतिविधिमा संलग्न व्यक्ति भए सो विषयको जानकारी हुँदाहुँदै निजलाई क्याम्पसले प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही नगरेको हो ? पत्रमा भनिएको छ। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र उल्लेखित प्रश्नको जवाफ खुलाई पठाउन भनेको छ।
मन्त्रीको सरकारी गाडीमा रातो प्लेट
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुप्रयोग गरेको विषयमा खानेपानी मन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं. १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीहरूले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो। “तपाईंले चुनाव प्रचार प्रसारका क्रममा सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ?” स्पष्टीकरण पत्रमा भनिएको छ, “यदि निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?”
मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफँै उपस्थित भई वा प्रतिनिधिमार्फ लिखित जवाफ पेश गर्न भनिएको छ।
आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रमम सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेश गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरिएको छ।
विद्यार्थीहरूलाई रकम बाँड्दा
निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा मकवानपुर क्षेत्र नं. २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं. २ (ख) का नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ।
उम्मेदवार खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही रु १५ हजार उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।
आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा “कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” स्मरण गराइएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ।
“तसर्थ, तपाईंबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनुनपर्ने हो ?” आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोग वा आफू उम्मेवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्णयानुसार जानकारी गराइन्छ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने