मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यो मतपत्रमा आफूलाई मन पर्ने उम्मेदवारको निर्वाचन चिह्नमा मतदाताले मत संकेत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘१’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘२’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।
तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘३’ लेखिएको नजिकैको मतपेटिकमा मतपत्र खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गरिसकेपछि त्यसलाई पट्याएर ‘४’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।
हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत संकेत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ। आसन्न निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाहरूको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने