नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र जारी गर्दै समावेशी लोकतन्त्रका पाँच ‘प’ मा आधारित मान्यता सार्वजनिक गरेको छ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्कल्प प्रस्ताव भनेर सार्वजनिक गर्नुभएको निर्वाचन घोषणापत्रमा भनिएको छ, ” संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी, स्वामित्व र अपनत्व स्थापित गर्ने तथा समाजमा सहअस्तित्वको भावलाई बलियो बनाउदै समुन्नतिको मार्ग नै नेपाली कांग्रेस को अबको राजनीतिक कार्यदिशा हुने छ।”
समावेशी लोकतन्त्रका पाँच आधार शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- नेपाली कांग्रेस संविधानमा लिपिबद्ध अधिकारको रक्षा गर्दै सबै नेपालीको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्दै सबैको प्रगति र प्रतिष्ठा सहितको जीवनयापन गर्न पाउने वातावरण निर्माणका लागि समावेशी लोकतन्त्रका निम्न पाँच ‘प’ मा आधारित मान्यता अंगीकार गर्दछ।
१. पहिचान बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशिष्ट अवस्था नेपालको मौलिक पहिचान हो। पहिचानलाई निषेध गरेर होइन, सहअस्तित्व र सबैको सम्मानबाट नै साझा नेपाली पहिचान स्थापित र विकसित हुनसक्छ। नेपाली कांग्रेसले विविधताभित्रको एकता आम नेपालीको सच्चा राष्ट्रियता भन्ने मान्यताका साथ सबैको पहिचानको सम्बोधन, संरक्षण र सम्मान गर्ने छ।
२. प्रतिनिधित्व नेपाली कांग्रेस ले नेपालभित्र रहेका सवै तहमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने उद्देश्यले संविधान, कानून र राज्य संरचना त्यसै अनुरुप विकास गर्दै जाने छ।
३. पहुँच नेपाली कांग्रेस राज्यका सबै तह, निकाय र क्षेत्रमा जाति, भाषा, लिङ्ग, वर्ग, क्षेत्र, समुदाय र समूहको समान ढङ्गले पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छ। कानूनको समान संरक्षण, व्यक्तिको स्वतन्त्रताको समान उपयोगसँगै बञ्चितिकरणमा परेका समुदायहरूलाई सामाजिक न्यायको सुनिश्चितताका लागि राज्यद्वारा विशेष व्यवस्था गर्ने छ।
४. प्रतिष्ठा प्रत्येक व्यक्ति आफ्नो भाषाको प्रयोग गर्न, आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन, आफ्नो संस्कृति र साँस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्न, आफ्नो धार्मिक परम्परा अनुसार आस्था प्रकट गर्न तथा आफ्नो रोजाई अनुसारको पेशा व्यवसाय गर्न स्वतन्त्र रहेको अवस्थामा नै हरेक व्यक्तिको प्रतिष्ठाको सम्मान गर्न कटिवद्ध छ।
५. प्रगति व्यक्तिको कुनै पनि अवस्थामा स्वतन्त्रता कुण्ठित नहुने, आफुले चाहेको पेशा–व्यवसाय निर्वाधरुपमा गर्न पाउने तथा मर्यादित जीवनका लागि आर्थिक समृद्धिका न्यूनतम आधारहरूको सुनिश्चितता भएको अवस्थामा मात्रै व्यक्तिको प्रगति सम्भव हुने भएकाले नेपाली कांग्रेस व्यक्तिमा अन्तर्निहित क्षमतालाई पहिचान गरी राज्यले प्रवर्द्धन, विकास र उपयोग गर्ने वातावरण सृजना गर्न प्रतिबद्ध छ।
यसैगरी इतिहासका सात दशक: लोकतन्त्रको अथक यात्रा शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- लोकतान्त्रिक आन्दोलनको संवाहक नेपालको लोकतान्त्रिक आन्दोलनको सात दशक लामो यात्रामा अनेकौँ आरोह–अवरोह पार गर्दै परिष्कृत र परिमार्जित हुँदै यहाँसम्म आइपुगेको छ। यस बीचमा शान्तिपूर्ण रूपमा जति पनि आन्दोलनहरू भए, चाहे ती स्वतन्त्रताको सन्दर्भमा हुन् वा जन अधिकार स्थापित गर्ने सन्दर्भमा, सामाजिक न्यायको लागि हुन् वा समावेशीकरणका लागि, पहिचानको सन्दर्भमा हुन् वा पहुँचको सन्दर्भमा, यी सबैको मर्मलाई आत्मसात गर्दै लोकतन्त्रलाई थप जनमुखी र समृद्ध बनाउन नेपाली कांग्रेस कटिबद्ध रहँदै आएको छ।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- लोकतन्त्रको लडाईंको लामो कालखण्डमा नेपाली कांग्रेसले पटक–पटक उग्र वामपन्थी र उग्र दक्षिणपन्थी प्रहारहरूको सामना गर्नु पर्यो। दुवैखाले अतिवादलाई परास्त गर्दै शान्तिपूर्ण रुपान्तरण मार्फत् लोकतन्त्रको चेतनालाई जीवित राखेर त्यसलाई थप मजबुत बनाउन नेपाली कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता नेपाली कांग्रेस र हाम्रा दूरदर्शी अग्रजहरूले गरेको अथक संघर्ष र बलिदानको प्रतिफल स्मरण गर्न पाउँदा हामीलाई गौरवको अनुभूति हुने गर्दछ। नेपाली कांग्रेसले २००३ सालदेखि जनताको शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै जहानियाँ राणा शासनका विरुद्ध २००७ सालमा जनक्रान्ति मार्फत् जनताको मतबाट मात्र शासन गर्न पाउने पद्धतिको स्थापना गरेको हो। २०१७ सालमा राजाबाट कपटपूर्ण ढंगले लोकतन्त्र र जनअधिकार अपहरण गरिएपछि ३० वर्षसम्म अथक संघर्ष गर्दै नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएको हो। २०४६ को जनआन्दोलन पश्चात एक वर्षको छोटो समयमा नै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ संविधान निर्माण गरी आमनिर्वाचन सम्पन्न गरेर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्रलाई सुदृढ तुल्याएको यथार्थलाई हामी गौरवपूर्ण स्मरण गर्दछौँ। त्यसको एक वर्षपछि पुन: स्थानीय निर्वाचन सम्पन्न गरी प्रजातान्त्रिक अभ्यासलाई तल्लो तहसम्म पुर्याउन नेतृत्वदायी भूमिका खेलेको वास्तविकता इतिहासमा सुनौलो अक्षरमा लेखिएका छन्।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- २०६२ मङ्सिर ७ गते सात राजनीतिक दल र माओवादी बीच भएको १२ बुँदे समझदारीको जगमा एकातर्फ एक दशक लामो हिंसात्मक द्वन्द्वको अन्त्य भयो भने अर्कोतर्फ निरंकुश राजतन्त्रको अन्त्य भयो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- यसरी मूलत: माओवादी हिंसात्मक राजनीतिको अन्त्य गर्दै शान्तिपूर्ण रुपान्तरण गर्ने, निरंकुश राजतन्त्रको अन्त्य गर्दै संविधानसभा मार्फत् लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने, नेपालको विविधता राज्य संयन्त्र र शक्तिमा प्रतिबिम्बित हुने गरी राज्यको पुनर्संरचना गर्ने कार्यदिशा नेपाली कांग्रेसले अनुसरण गर्यो। त्यही कार्यदिशाले नै २०६२–६३ को जनआन्दोलन मार्फत् शान्तिपूर्ण मार्गबाट आजको राजनीतिक निकास संभव भएको वास्तविकतालाई नेपाली कांग्रेस पुन: स्मरण गर्दछ। २०६४ सालमा संविधानसभाको निर्वाचन गर्न थुप्रै बाधा अवरोध उत्पन्न भए। तर यो अवधिमा मधेशलगायत आदिवासी–जनजातिको पहिचानको आन्दोलन, महिला, दलित, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक समुदाय एवं कर्णाली र दुर्गम क्षेत्रका जनताको उचित प्रतिनिधित्व र अधिकारका आन्दोलनलाई संवाद मार्फत् शान्तिपूर्ण रुपमा समाधान गरी नेपाली कांग्रेसकै नेतृत्वमा पहिलोपटक संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको हो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- २०७० को दोस्रो संविधानसभाबाट नेपाली कांग्रेसले लोकतान्त्रिक संविधान जारी गर्ने अभियानको नेतृत्व गर्यो। नेपाली कांग्रेसको दृढ सङ्कल्प तथा सहमति, सहकार्य, एकता र मेलमिलापको राजनीतिक संस्कारका कारण नेपाली कांग्रेसकै नेतृत्वमा १ वर्ष १० महिनाभित्र ऐतिहासिक संविधानसभाबाट संविधान जारी गरी तीनवटै तहको निर्वाचन सम्पन्न गरेपछि संघीय प्रणाली कार्यान्वयनको चरण प्रारम्भ भएको हो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- यस पृष्ठभूमिमा सात दशकदेखि लोकतन्त्रका निम्ति पटक–पटक भएका संघर्ष र आन्दोलन, निरंकुश राजतन्त्रको अन्त्यदेखि माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण, संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणदेखि तीनै तहको निर्वाचनसम्मको नेतृत्व नेपाली कांग्रेसले गरेको ऐतिहासिक जिम्मेवारीप्रति नेपाली कांग्रेस गौरव गर्दछ।
यसैगरी लोकतान्त्रिक समाजवाद र आर्थिक विकासको अभियन्ता शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- नेपालको आधुनिक अर्थतन्त्रको अवधारणागत र संरचनात्मक आधारशीला नेपाली कांग्रेसले खडा गरेको हो। २०१२ सालमा जारी गरिएको प्रजातान्त्रिक समाजवादी घोषणापत्रले “प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थ व्यवस्थाको स्थापना गर्दै समान अवसर र समान स्वतन्त्रता भएको नेपाल निर्माण” को लक्ष्य लिएको थियो। त्यही भावना र मर्म नै ६ दशकपछि संविधानसभाबाट बनेको संविधानमा लिपिवद्ध भएको छ। २०१५ सालमा प्रथम जननिर्वाचित बी.पी. कोइरालाको सरकारले १८ महिनाको छोटो अवधिमा आर्थिक तथा मानवीय साधनको सीमितताका बावजुद समाजवादी नीति तथा कार्यक्रम अनुरुप जमिन्दारी र विर्ता प्रथाको उन्मूलन, वन–जंगलको राष्ट्रियकरण, ग्रामीण विकास योजनाको शुरुवात, यातायात प्रणालीको विस्तार तथा मोहीको हक र भूमि व्यवस्थामा सुधार जस्ता कार्यले आर्थिक विकास र आधुनिकताको जग बसालेको थियो। नेपालमा व्यापक औद्योगिकरण, सिँचाई र हवाई पर्यटनका प्रारम्भिक पहलहरू लिएको थियो। नेपालको पहिलो विश्वविद्यालय र पूर्व–पश्चिम लोकमार्गको थालनी सँगसँगै सहकारी आन्दोलन र स्वतन्त्र परराष्ट्र नीतिको अगुवाइ पनि नेपाली कांग्रेसको सरकारले गरेको हो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- २०४६ को राजनीतिक परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थ व्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरुप प्रतिस्पर्धात्मक र आधुनिक बनायो। आर्थिक सामथ्र्य बढाएर सामाजिक न्याय–उन्मुख लोक कल्याणकारी राज्यको जग बसालेको थियो। निजी क्षेत्र, ठूलो संख्यामा जनता सक्रिय हुने गैरसरकारी संस्था, सहकारी, स्थानीय निकाय र सामुदायिक क्षेत्रलाई समेत यसले आर्थिक–सामाजिक विकासका गतिविधिहरूमा प्रोत्साहित गर्यो। उद्योग, व्यापार, पर्यटन, विदेशी विनिमय, बैंकिङ, पुँजी बजार, कर तथा राजस्व, ऊर्जा, जलविद्युत, संचार, हवाइ यातायात लगायत अर्थतन्त्रका हरेक क्षेत्रमा उदार आर्थिक नीति अपनाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति प्रारम्भ भयो। त्यसैले अर्थतन्त्रको व्यापक विस्तार हुन गई आजपर्यन्त फराकिलो आर्थिक आधार निर्माण भएको हो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ-२०४८ को बजेटको आकार २६ अर्ब हुँदा राजस्व १३ अर्ब मात्र थियो भने विदेशी अनुदान र ऋणमाथिको निर्भरता ८ अर्ब ५० करोड थियो। त्यस्तो समयमा एकातिर ६४ वटा सार्वजनिक संस्थानले वार्षिक झन्डै एक अर्ब घाटा बेहोरिरहेका थिए भने नयाँ सरकारसँग गाउँ–गाउँमा स्कूल, स्वास्थ्य चौकी, खानेपानी, बाटो–घाटो पुर्याउनु पर्ने र व्यापक रोजगारी सृजना गर्नु पर्ने जनअपेक्षा थियो। आर्थिक वर्ष २०४९/५० मा मात्र ६०६ नयाँ उद्योग स्थापना गरी अन्दाजी ८९,००० नयाँ रोजगारी सृजना भएको थियो। उद्योग स्थापना र रोजगारी सृजना दुवै दृष्टिले यो नेपालको इतिहासमा नै नयाँ रेकर्ड हो। त्यतिवेला राजस्वका क्षेत्रमा गरिएको साहसिक निणर्यका कारण सरकारको ढुकुटी बढ्यो। यो स्रोतलाई सामाजिक विकासतर्फ उन्मुख गराई विकास बजेटको ७० प्रतिशत रकम ग्रामीण क्षेत्रमा खर्च गर्ने नीति अपनाइयो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- विकेन्द्रीकरण तथा सामाजिक सुरक्षाका कार्यक्रम मार्फत् भौगोलिक हिसाबले स्थानीय स्तरमा र वर्गीय हिसाबले विकासको पहुँच बाहिर रहेका जनतासम्म विकासको प्रतिफल सीधै पुर्याउने प्रक्रियाको प्रारम्भ नेपाली कांग्रेसले नै गरेको हो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- २०४८ सालमा नेपाली कांग्रेसको सरकारले ३९१४ वटा गाविसमा उप–स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति र कार्यक्रम तथा पछिल्ला दिनमा स्वास्थ्य बिमा र सामाजिक सुरक्षाका कार्यक्रमको विस्तार, प्रत्येक वडामा एउटा स्वास्थ्य केन्द्र र प्रत्येक स्थानीय तहमा एक अस्पताल बनाउने नीति लगायत स्वास्थ्य पूर्वाधारको विकासका कारणले जनस्वास्थ्यको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको छ। स्वास्थ्य सेवा विस्तारसँगै बाल तथा मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ। नेपाली जनताको औसत आयु बढेर ५४ बर्षबाट अहिले ७१ बर्ष नाघेको छ। यसरी लामो हिंसात्मक द्वन्द्व र त्यसपछि पनि निरन्तर राजनीतिक अस्थिरताका कारणले उर्वर युवाशक्ति ठूलो संख्यामा विदेशिन वाध्य हुँदा समेत नेपालले संयुक्त राष्ट्र संघले निर्धारण गरेका अधिकांश सहस्राब्दी विकास लक्ष्यहरू हासिल गर्न सफल भयो। मुलुकको आर्थिक स्थायित्व कायम रहनसक्नुमा २०४८ पछि नेपाली कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग नै हो।
यसैगरी सामाजिक रुपान्तरणको उत्प्रेरक नेपाली कांग्रेस शिर्षकमा नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- स्थापनाकालदेखि राजनीतिक र आर्थिक परिवर्तन मात्र नभएर सामाजिक तथा साँस्कृतिक रुपान्तरणको पनि प्रमुख संवाहक शक्ति हो। अन्धविश्वास, रुढीवादिता, छुवाछुत र भेदभावरहित समतामूलक समाज निर्माण गर्न राष्ट्रिय अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको पार्टी हो। दलितहरूप्रति हुने अमानवीय विभेद र छुवाछुतको अन्त्य, महिला विरुद्ध हुने हिंसा र विभेदका व्यवहार, गरिब र असहायप्रतिको अपहेलना, जात–जाति र सम्पत्तिका आधारमा सृजित सामाजिक असमानताहरूको अन्त्यका लागि नेपाली कांग्रेसको नेतृत्वमा २००७ साल देखि नै हुँदैआएका आन्दोलनहरू ऐतिहासिक प्रमाणका रुपमा रहेका छन्। तर राजनीतिक, संवैधानिक तथा कानूनी दृष्टिकोणले जतिसुकै सुधार गरे पनि व्यवहारमा सामाजिक विभेद तथा विकृति–विसंगति आज पनि जटिल रहेको देखिन्छ। त्यसैले विद्यमान सबै प्रकृतिका विभेदको समूल अन्त्य गर्न नेपाली कांग्रेस कृतसङ्कल्पित छ।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- समावेशीकरणको मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेसकै नेतृत्वमा पहिलो पटक राष्ट्रिय महिला आयोग, दलित आयोग तथा आदिवासी–जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको स्थापना भएको हो। नेपाली कांग्रेसकै नेतृत्वमा राष्ट्रिय प्रसारण माध्यमबाट नेपाली बाहेक अन्य स्थानीय भाषामा समाचार र अन्य सूचनामूलक सामग्रीको प्रसारण प्रारम्भ भएको थियो।
नेपाली कांग्रेसको सङ्कल्प प्रस्तावमा भनिएको छ- माध्यमिक शिक्षा नि:शुल्क गराउने कार्यक्रम, मधेशी, दलित, मुस्लिम, चेपाङ, हलिया, कमैया, कमलरीलाई नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्थाका साथै छात्रालाई विद्यालय पठाउने प्रोत्साहनका कार्यक्रम लगायतले १५ देखि २४ उमेर समूहमा साक्षरता ९२ प्रतिशत पुगेको छ। शिक्षाका हरेक तहमा छात्र–छात्राको भर्ना अनुपात समान भएको छ। सामाजिक–साँस्कृतिक रुपान्तरणका आफ्ना यी अग्रसरतालाई स्मरण गर्दै यसलाई थप बल पुर्याउन र महिला, दलित, आदिवासी–जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुगर्म क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँच को नयाँ संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने