रहरको कुनै सीमा कहाँ हुन्छ र? यो त बस् जागिदिन्छ। कुनै कुराको रहर वा इच्छा गर्नलाई धनी वा गरिब, महिला वा पुरुष, बालक वा वृद्ध, केले छेक्छ होला र? रहर जसलाई पनि लाग्न सक्छ र जुनसुकै कुराको लागि पनि लाग्न सक्छ। कसैको रहर आफ्नो पेशासँग सम्वन्धित हुनसक्लान, कसैको जीवनशैलीसँग सम्वन्धित अथवा कसैको महोत्वकांक्षाका। ठीक यसैको रहर हुनुपर्छ भन्ने पनि त केही छैन।
म सानो छँदा ममा ठ्याक्कै यही बन्छु भन्ने कुनै एक रहर थिएन। जे देख्यो र जे सुन्यो त्यही बन्न मन लाग्थ्यो मलाई, एउटै लयमा मात्र जीवन जीउन चाहँदिन थिएँ कि कतै? दिनहुँ स्कुल आउ–जाउ गर्नु अनि कक्षा चढ्दै माथिल्लो तहमा पुग्नु मेरा लागि केवल एउटा नियमित प्रक्रिया मात्र थियो। किनकी म डाक्टर, इन्जिनियर वा ठ्याक्कै यही बन्छु भनेर पढ्न गएकै थिइँन। कक्षामा गुरुहरूले वा बाहिर पनि कसैले “भोलिपर्सि तिमी के बन्छौ“ भनेर प्रश्न गरे भने मलाई त्यसको उत्तर दिनु एकदम गाह्रो हुन्थ्यो किनकि मेरो रहर एउटा मात्र थिएन। राम्रो पढाउने शिक्षक देख्यो भने मलाई शिक्षक बन्न मन लाग्ने, डाक्टर देख्यो त्यही बन्न मन लाग्ने, चोर पक्डने पुलिस देख्दा पुलिस नै बनौँ–बनौँ मन लाग्ने, अनि कहिलेकाहीँ त्यो चोरको बाध्यता सम्झेर चोर नै बन्न मन लाग्ने। टन्न पैसा गनिरहेको व्यापारी देख्दा व्यापार नै गर्न मन लाग्ने, अनि किसान जस्ता कविता पढ्दा किसान बन्न मन लाग्ने। फिल्म हेर्न बस्यो हिरोइन बन्न मन लाग्ने अनि भिलेनको साहस देख्दा त्यही बन्न मन लाग्ने।
यस्ता रहरहरू त कति थिए कति, कुरै नगरौँ। मान्छे म एउटी अनि मेरा सयौँ रहरहरू, कसरी पूरा हुन सक्थ्यो होला र? अनि मैले एउटा जुक्ति लगाएँ, सायद आफ्ना असीमित इच्छा–आकांक्षाहरूलाई पूरा गर्न नै म रंगकर्मी बनेकी हुँ जस्तो लाग्छ। रंगकर्मी बनेकै कारण केही नबनेर पनि सबै बन्न पाएँ, अनि सबै बनेर पनि केही बनिनँ। म आफू पनि झुक्किएँ र अरूलाई पनि झुक्याएँ। तर के नै भयो र? यो दुनियाँ नै मीठो भ्रम न हो। नझुक्किएर पनि झुक्किने मजस्ता कैयौँ मान्छेहरूको जमातले बोकेका होलान भारीका भारी रहरहरू।
सबैको जीवन रहर र कहरका बीच रुमल्लिएको त छ यहाँ, होइन त? तर रहरको यात्रा सजिलो कहाँ छ र ! त्यो पनि हाम्रो जस्तो समाजमा जहाँ छोरीमान्छे भएर जन्मिनुलाई नै एउटा दोष मानिन्छ। अनि त्यही समाजमा एउटा छोरीमान्छेले मान्छे भएर बाँच्न खोज्नु, त्यसमाथि पनि यस्तो रहर राख्नु जसलाई यो समाजले ‘छोरी मान्छेको लागि असुरक्षित र असुरक्षित’ भनेर किटान नै गरिदिएको छ। ओहो ! औडाहा नै हुन्छ कतिपय परिस्थिति सम्झँदा। देख्नेलाई त लाग्दो हो– ‘आफ्नो मनको गर्या छन, आनन्द छ नी !’ कहरमा हिँड्नेहरूको लागि “बिचरा मनलाई मारेर अर्को बाटो रोजेछन् नि !” भन्ने सान्त्वना त छ। रहरमा हिँड्नेलाई यति पनि कहाँ पाउनु, उल्टो “आफ्नै रहरले त हो नि”, “के–के न गर्या जस्तो”, “हाम्रो लागि गर्या हो र?”, “हामीले भनेको सुनेको हो र?” आदि–इत्यादि सुन्नुपर्छ।
तर आफ्नो रहरमा हिँड्न चानचुने आँटले पुग्छ होला र? यसको लागि त ठुलो धैर्यता र दृढता आवश्यक हुन्छ। तपाइँ आफ्नो मनले चाहेको बाटो हिँड्दा अघिपछि कुरा काट्नेहरू धेरै भेटिन्छन्, त्यसलाई सहज रुपमा लिएर पचाउन सक्ने दृढ आत्मसंकल्प हुनुपर्दछ तपाइँभित्र। रात–बिहान केही नभनी भिडिरहने पागलपन हुनुपर्दछ, सपना बुन्ने आँखा र त्यसलाई पूरा गर्न सक्ने खुबी हुनुपर्दछ। तपाइँभित्र असम्भव मानिएको पक्षलाई पूरा गर्न सक्ने तत्परता हुनुपर्छ। अनि यसमा सबैभन्दा महत्वपूर्ण पक्ष हुनेछ समय। त्यो समय जुन तपाईंको जीवनको सबैभन्दा उर्जाशील अनि उर्वर कालखण्ड लाग्ने छ तपाइँलाई। मनले तनलाई थाक्न वा थकाइ मार्न पटक्कै अनुमति दिँदैन। जसलाई पूरा गर्नका लागि तपाईंले आफ्नो जीवन नै समर्पण गर्नुभएको छ, त्यो रहरले तपाईंलाई पाल्नुपर्छ कि पर्दैन? तपाइँको रहर तपाईंको पेशा बन्नु पर्छ कि पर्दैन होला त? एकदमै द्वविधामा पारिदिने किसिमका होलान यी प्रश्नहरू सायद !
समाजमा तपाईंले पाउने इज्जत तपाईंले आर्जन गरेको धन र प्रतिष्ठाले तय गर्दछ। तपाईंको प्रतिष्ठा र तपाईंको कमाईका बीच बडो गज्जबको तालमेल बनाएको छ समाजले। “गरीबको घरमा चोर पस्यो भने कुकुर पस्यो, धनीको घरमा कुकुर पस्यो भने पनि चोर पस्यो” भन्ने भनाई त्यसै भनेका होइनन् बुढापाकाले। रंगकर्मीलाई प्रायः सोधिने एउटा प्रश्न छ– “नाटक गरेर खान पुग्दैन रे हो?” यसको उत्तर पनि एकदमै सहज छ– “हो”। स्टेज नाटक मात्र गरेर जीवन चलाउनु असम्भवजस्तै हुन्छ। रंगकर्म सँगैसँगै कुनै बिद्यालयहरूमा नाटक पढाउने, कुनै प्रोजेक्टको सडक नाटक र रेडियो नाटक गरेर पनि मज्जाले पालिन सकिन्छ। अब नाटकले पाल्दो रहेछ कि रहेनछ त भनेर बुझ्ने काम तपाईं आफैँ गर्नसक्नु हुनेछ। हामीले बुझ्नु पर्ने मुख्य कुरा के हो भने स्टेज नाटकलाई कमाउने थलो होइन, सिक्ने र माझिने अनि अवसरको सिर्जना गर्ने थलो मान्ने र त्यहीँ सिकेको जानेको कुरा अन्यत्र लगेर त्यसलाई पेसा बनाउने हो। यसो गरियो भने मात्र हामी रंगकर्मीहरूलाई सहज हुनेछ।
सबै अभिभावकको चाहना हुन्छ आफ्ना छोराछोरीले राम्रो पढुन्, कमाउन, जमाउन र रमाउन भन्ने। हिजो–आज आफ्ना छोराछोरी नाटक वा रंगमञ्चमा लाग्दा ‘कहाँ लागेछन नि ! कहाँ बरालिन लागे !’ भनेर अभिभावकहरूले चिन्ता लिँदैनन्, नाटकलाई हेर्ने वहाँहरूको दृस्टिकोण बदलिएको देखिन्छ। तर मुख्य चिन्ता त्यही कमाईको लाग्ने रहेछ। सन्तान खुसी छन, ठीकै छ, तर यही रहरले सारा समय त लाने होईन भन्ने जस्ता डर चाहिँ अभिभावकलाई सधैँ हुँदो रहेछ। देशको कला–साहित्यको विकास हुनु वा हुन नसक्नुमा त्यहाँको राजनीतिले यसलाई कसरी संरक्षण गरिरहेको छ भन्ने कुराले प्रमुख भूमिका निर्वाह गर्ने रहेछ। हामी कस्तो मुलुकमा बसेर नाटक गर्दैछौँ भन्ने कुराले ठुलो महत्व राख्दछ। हाम्रो देशमा नाटकलाई नै भनेर केही छुट्टयाइएको छैन, केही गरिएको छैन। छुट्याउनु त परै जाओस्, पार्टीगत मनमुटावमा “नाटक नै हो” र “नौटङ्की नै हो” भन्ने जस्ता संवाद प्रयोग गरेर नाटकलाई ‘एउटा फगत हो” भन्दै हावामा उडाइरहेका हुन्छन्। जहाँ राष्ट्रले नै ‘कला र संस्कृति जोगाउनु पर्छ’ भनेर भन्दैन त्यहाँ अनेकन समस्या आउनु स्वभाविक नै हो। आम मानिसमा भने ‘टिकट काटेर नाटक हेर्नुपर्छ’ भन्ने कल्चर बिस्तारै बस्दै गएको छ। नाटकलाई के–कस्ता उपाय अपनाएर व्यावसायिक बनाउन सकिन्छ र पेशाका रुपमा अपनाउन सकिन्छ भनेर यस अघि पनि मेरा अग्रजहरूले विभिन्न माध्यमबाट भनिसक्नु भएकै छ। आशा गरौं एकदिन आउनेछ जब नाटकको सम्मान झन् उच्चस्थानमा हुनेछ। सबैका अभिभावकले ‘मेरा सन्तान नाटक गर्छन’ भनेर गर्वका साथ भन्न सक्नेछन्। अहिले मैलेजस्तै ‘नाटक रहरबाट व्यवसाय बन्ला त?’ भनेर अरु कसैले लेख्नु पर्ने छैन। श्रोतः आइएनएस –स्वतन्त्र समाचार
रंगकर्मी सरस्वती आइएनएस–स्वतन्त्र समाचारकी नियमित स्तम्भकार हुनुहुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार