युधिष्ठिरका लागि त द्रौपदी नै पटरानी भएकी र उनको आदेश नभई अरुले भोग गर्न नपाउने अवस्था यसकारणले पनि थियो कि उनी ज्येष्ठ पाण्डव थिए, भावी राजा थिए र उनैको राज्य पुनर्वहालीका लागि अनेक प्रयास हुँदै थियो र शक्ति सञ्चयका लागि वारणावतबाट अचानक मरेको नाटक गरेर भाग्नु परेको थियो। कुन्तीको अव्यक्त प्रतिशोधले नयाँ राजनीतिको उदय हुँदै पनि थियो। कुन्ती नबोलिकन आफ्नो योजना बनाउँदै थिइन् र आफ्ना छोराहरूलाई कुमालेले माटोलाई स्वरूप दिएजस्तै गरी नयाँ राज्य सञ्चालन तयारीका लागि परिवारलाई एकत्रित गराउँदै थिइन् ……..
हुन त देखावटी रूपमा महाराज धृतराष्ट्रको पनि चाहना युधिष्ठिरलाई राज्य सञ्चालनका लागि तयारी गर्नु नै थियो। ऋषि कणिकको चाहना अनुसार पाण्डवसहित महारानी कुन्तीलाई वारणावत पठाइएको थियो र कणिकको सिद्धान्त थियो सर्प दुलोमा पस्नुभन्दा पहिले नै उसको टाउकोमा हानेर कच्याक कुचुक पारेर मार्नुपर्छ। अर्थात् सर्प फेरि बौरिएर नबाँचोस् र उसले सम्झी सम्झी प्रतिशोध लिन नसकोस्। शत्रुको शेष पनि राख्नु हुँदैन किनभने यदि बाँचेको रहेछ भने त्यसले एकदिन प्रतिशोध लिएरै छोड्ने छ। ऋण, शत्रु, आगोको शेष बाँकी रह्यो भने त्यो बढ्दै बढ्दै जान्छ र एकदिन त्यसले सखाप पार्छ भन्ने कणिक नीति अनुसार पाण्डवहरूलाई महाराज धृतराष्ट्र र उनका भित्रिया सल्लाहकारहरूले ऋणको रूपमा पनि लिए, शत्रुको रूपमा पनि लिए र आगोको रूपमा पनि लिएका थिए।
ऋणको रूपमा यसरी लिए कि भारतका आधिकारिक राजा पाण्डु थिए र उनले आफू फर्की नआउन्जेलसम्मका लागि दाजुलाई कार्यवाहक राजाको काम दिएका थिए। राजा पाण्डु भए पनि सम्पूर्ण राज्यको हाली मुहाली भारतका सेनापति राजकुमार देवब्रतको जिम्मामा थियो। उनले धृतराष्ट्रको भित्री कालो स्वरूप थाहा पाएका थिए, प्रतिशोधको कालो धब्बा उनका बातैपिच्छे देखापर्थ्यो। त्यसैले भारत राज्यको चक्रवर्तित्व सापटको रूपमा जिम्मा लगाएका थिए। यसको अर्थ हुन्थ्यो या त पाण्डुले हस्तिनापुरमा प्रवेश गर्ने बित्तिकै धृतराष्ट्रले त्यो राज्यरुपी सापटी तत्काल फिर्ता गर्नु पर्ने थियो या पाण्डुको आधिकारिक उत्तराधिकारीलाई फिर्ता गर्नै पर्ने थियो। युधिष्ठिर त्यो बेलाको हस्तिनापुरको नैतिक नियम अनुसार स्वतः युवराजको पदमा आसीन हुन पाउँथे। त्यसैले यो राज्य पाण्डुको ऋण स्वरूप थियो। अर्को शत्रुको स्वरूप। पाण्डुप्रति धृतराष्ट्रको धारणा कहिल्यै पनि सकारात्मक रहेन। आँखामात्र नदेख्ने थिए धृतराष्ट्र, अरु सबै कुरामा सक्षम थिए। उनले पाण्डुलाई नै राजाको रूपमा भित्री मनले कहिल्यै स्वीकार गरेका थिएनन्। झन बच्चा नै नहुने भनेर श्रापसमेत परेको थाहा पाएका धृतराष्ट्रले पाँच पाँच ओटा छोराहरू लिएर कुन्ती आएपछि तिनलाई कार्यबाहक महाराज धृतराष्ट्रले कुनै पनि हालतमा राज्य फिर्ता नदिने सोच बनाएका थिए, त्यसैले उनका लागि कुन्ती, उनका साथमा आएका पाण्डुका नामका पाँचै भाइ छोराहरू शत्रुको रूपमा थिए र उनीहरूलाई सधैँ हस्तिनापुरमा पालेर राख्नुले शत्रुको सम्मान गरेको जस्तो हुन्थ्यो। शत्रु समन गर्ने रणनीति बमोजिम नै युधिष्ठिरलाई युवराजको पदवी दिइएको थियो र सँगै दरबारमा रहँदा षडयन्त्र थाहा हुने भएकाले अलि टाढै राखेर भावी रणनीति तयार गर्न पनि सकिन्थ्यो र सकेसम्म पुरोचनमार्फत् बारणावतको लाक्षागृहमा आगो लगाएर मार्न पाए शत्रु सदाका लागि समाप्त हुनसक्थे।
आगो कुन कारणले मानेका थिए भने कुन्तीको अधीनमा आएका पाँचै भाइ कोहीभन्दा कोही कमी थिएनन्, उनीहरू आगोका बिउ थिए। कतै पनि जान्थे, आफ्नो प्रभाव अमिटरूपमा छोड्थे। युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव धैर्यवान थिए। उनीहरूको मनमा के छ भन्ने थाहा पाउन सकिएको थिएन। कुन्ती कुनै महात्वाकांक्षा कहिल्ये देखाउँदैन थिइन्। ती छोराहरूलाई कसरी राजकीय कार्यमा तालिम दिएकी छिन् भन्ने भेउ कसैले पाएका थिएनन्। उनीहरू सौतेनी भाइहरू हुन् भन्ने पनि कतै देखिँदैन थियो। आफ्ना कोखबाट जन्मेका भन्दा माद्रीका कोखबाट जन्मेका नकुल र सहदेवलाई उनी धेरै माया गर्थिन्। त्यसका पनि सबैभन्दा सानो सहदेवको रक्षामा भीमसेन सदैव तयार रहन्थे किनभने धृतराष्ट्रका सय भाइ छोराहरूले सबैभन्दा विकराल मानेका व्यक्ति पनि भीमसेन थिए। उनी कुनै पनि अपमान सहँदैनथे। तत्काल लड्न तयार रहन्थे र कतिपटक दुर्योधन, दुःशासनसहितका भाइहरूलाई पिटेर सास्ती दिन्थे किनभने उनीहरू बारम्बार भीमसेनलाई घोचेर भन्थे—तँ हाम्रो सन्तान नै होइनस्, काकीले कसको सन्तान पाएकी हुन् हामीले कसरी आफ्ना दाजुभाइ मान्ने? कसरी यो राज्यका प्रतिनिधि मान्ने? कसरी यो राज्यको भावी राजा मान्ने? अरु भाइ सुनेको नसुनेजस्तै गर्थे र भीष्म पितामहको वचनका आधारमा हस्तिनापुरको राज्यमा आफ्नो अधिकार छ भन्ने मान्थे। तर पाण्डुका सन्तान हुन् भने आदरणीय ऋषिहरूले भनेर गएकाले पनि र गोप्य सूचनाले पनि पाण्डुको आदेशमा ती छोराहरू नियोगमार्फत् पाएको जानकारी हस्तिनापुरलाई थियो। स्वयं धृतराष्ट्र आफैँ विचित्रवीर्यका सन्तान भनिए पनि महर्षि व्यासका छोरा थिए भन्ने त सबैलाई थाहा थियो। भारतवर्षको राज्य नीति र भावी उत्तराधिकारीहरूको तयारीको नीति अनुसार पाण्डुका पाँचै ओटा छोराहरू हस्तिनापुरका भावी राजाहरू थिए किनभने धृतराष्ट्रको अधिकार छैन भन्नेमा स्वयं पितामह भीष्म नै थिए। त्यसले यी पाँचै भाइ आगोका बिउ जस्तै थिए, कुनै पनि बेलामा ती धपक्कै बल्न सक्थे र कौरव नामको वनका डँढेलो लाउन सक्षम थिए।
कणिकको नीतिलाई मान्नका लागि विदुर र पितामहको कुनै सल्लाह पनि लिएनन्। भन्न त महाराज धृतराष्ट्र भन्ने गर्थे, मैले युधिष्ठिरलाई राज्य सुम्पने भई हालेँ, पितामहको चित्त बुझाउन पनि आफ्नो सेखपछि भाइका छोराहरूको राज्य स्वीकार गराउने आदेश दिई हालेँ। अनि किन महामन्त्री र सेनापतिको आदेश र सल्लाह चाहियो र ? खासगरी महाराज धृतराष्ट्रलाई राजमाता सत्यवती, भौतिक पिता व्यास र सेनापति देवब्रतसँग यति रिस उठेको थियो कि उनको मात्र आदेश चल्थ्यो भने उनी सबैलाई कारागारमा थुन्ने थिए या मृत्यु दण्डसम्म दिने थिए। राजनीतिको यो नै सबैभन्दा घृणित महत्वाकांक्षा थियो तर पनि यो मनोभावना पितामहले बुझेका थिए र त उनी बेलामौकामा गङ्गाजीलाई कल्पेर के गर्ने भन्ने एकाग्र भएर सोच्ने गर्थे। अनि गङ्गानन्दनको मनमा उठेका विचारका छालहरूलाई माता गङ्गाले शान्त पार्थिन् र भन्थिन् —बाबु, समयले सबै कुराको जबाफ दिनेछ, तँ धेरै चिन्तित नहुनू।
यी सबै कुरा बुझेर पनि नबुझेजस्तो गर्ने महारानी कुन्ती थिइन् र न्यायका पक्षमा सधैँ बोल्ने महारानी गान्धारी पनि थिइन्। समस्या थियो, न्यायप्रेमी महारानी गान्धारीलाई कणिक नीति मान्ने धृतराष्ट्र र उनका भित्रिया सल्लाहकार उनका छोराहरू(विकर्ण बाहेक), छोराको मिल्ने साथी सारथि अधिरथका पोष्यपुत्र वृषसेन कर्ण, आफ्नै दाजु शकुनिले पाण्डव विरुद्धको कुनै पनि षडयन्त्रको भनक पनि पर्न दिँदैनथे। तर पनि आन्तरिक छलफलमा कर्णले जहिले पनि छलेर केही पनि नगरौँ, हाकाहाकी जे गर्नुछ त्यही गरौँ भनेर सल्लाह दिन्थे भने शकुनिमा एउटा चाहना थियो जसरी हुन्छ कुरुवंशको नाश गर्नुछ किनभने कुरुवंशीहरूले अनावश्यक दबाब दिएर साना राज्यहरू, पहाडी राज्यहरूलाई जस्तो पनि आदेश दिने नभए त्यो राज्यलाई धुलिसात पार्थे।
गान्धार नरेश सुबलका अत्यन्त चलाख उत्तराधिकारी युवराज शकुनिले बरु आफ्नो राज्यको उत्तराधिकारी आफू राजा नभई छोरो उलुकलाई दिएका थिए, उसैलाई राज्याभिषेक गर्न तयार थिए तर आफू भने जसरी पनि धृतराष्ट्र, पितामह भीष्म समेतको सत्यानाश नगरी गान्धार नफर्कने दृढता मनमा मसक्क बाँधेर बसेका थिए। उनी अत्यन्त कुटिल स्वभावका थिए र कूटनीतिका ज्ञाता पनि थिए। शत्रुको शत्रु मित्र बनाउने कुटिल चालमा अत्यन्त सिपालु थिए अनि अत्यन्त महत्वाकांक्षी ज्वाईँ धृतराष्ट्र, त्यस्तै भावी राजाको सपना देख्ने भान्जा दुर्योधनसमेतको महत्वाकांक्षामा आगोमा घिउ हाल्ने काम गर्थे। अनि कणिकको नीतिलाई कार्यान्वयन गर्न उक्साउँथे र भन्थे, त्यो मेरी अभागिनी बहिनी गान्धारीलाई यी सबैकुरा भन्यो भने सम्पूर्ण षडयन्त्र विफल हुन्छ र पाण्डवको नाश गर्न सकिँदैन। पाण्डवहरूमा देखिएको क्षमता वृद्धिले उनी के कुरामा आफू विश्वस्त थिए भने यही घरका शत्रुहरूले मात्र धृतराष्ट्र र भीष्म पितामहको नाश गर्नेछन्।
महारानी कुन्तीप्रति शकुनिको सम्मान थियो किनभने कुन्तीले कहिल्यै गान्धारीको विरुद्धमा कुनै षडयन्त्र गरेकी थिइनन् र दृष्टिविहीन जेठाजुसँग दृष्टिसहितकी सुबल कन्याको जोडी कसरी बाँधियो होला भनेर दुःख व्यक्त गर्थिन्। जुन बहिनीको अपमान गरेर बिबाह गर्न बाध्य पारिएको थियो र शकुनिका त्यसको प्रतिशोध लिने भावना पलाएको थियो, उनीजस्तै गान्धारीको भलो चाहने कुन्तीप्रति शकुनिको सकारात्मक भावना हुने नै भयो तर देखावटीमा कुन्तीलाई अपमान हुने शब्द नै प्रयोग गर्ने गर्थे, कारण थियो त्यसो गर्दामात्र दुर्योधनहरूको हित चिताएको देखाउन पाइन्थ्यो। कुनै पनि हालतमा धृतराष्ट्र र उनका सन्तानको सुख देख्न नचाहने शकुनिले कसरी हस्तिनापुर दरबारलाई आफ्नो कब्जामा राखेको थियो, त्यो नै उसको कूटनीतिक क्षमता थियो। कसैले पनि त्यो भनक पाएका छैनन् भन्ने शकुनिलाई लाग्थ्यो तर महारानीहरू गान्धारी र कुन्तीलाई भनक परेको थियो। गान्धारीको मनमा पनि नराम्रो चोट लागेकोले त उनले आँखामा पट्टी बाँधेर आफैँसँग बदला लिएकी थिइन्। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- नियोगका नियम
- लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
- ‘नरनारायण’का नर -अर्जुन
- शकुनिको बदला
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री