यसका लागि उनको पूर्वजन्मको कथा हालियो, अनि पाँचै जनासँग भिन्दाभिन्दै विवाह रचियो र विधिवत् रूपमा द्रौपदी पाँच भाइकी रानी बनिन्। मूलतः उनी युधिष्ठिरकी रानी मानिने र पालैसँग युधिष्ठिर र अन्य राजकुमारहरूसँग सहवास गर्ने भन्ने कुरा पारित भएको थियो श्रीकृष्ण, बलराम र वेदव्याससँगको वार्तालापमा। पाञ्चाल राज्यका लागि पनि यो विवाह प्रतिष्ठाको विषय बनेको थियो भने महाराज द्रुपद पनि असमञ्जसमा परेका थिए। के गर्ने, के नगर्ने? ………
विवाह त गर्नुपर्ने थियो अर्जुनसँगै तर विवाह भयो पाँचै जना पाण्डवहरूसँग। हुनुपर्ने त्यही थियो भन्ने सल्लाह श्रीकृष्ण र श्रीकृष्ण द्वैपायन व्याससमेतको थियो। काम्पल्य बडो असमञ्जसमा थियो किनभने स्वयंवर गरेर गएकी राजकुमारीका बारेमा धेरै चर्चा गर्नु पनि थिएन र पनि अनौठो प्रयत्नका बारेमा भने चिन्तित थिए। महाराज द्रुपदका लागि खुसी र चिन्ता एकै पटक आइलागेको थियो। खुसी यस कारणले कि ती वाणको सन्धान गरेर सर्त जित्ने महारथी अर्जुन नै थिए जसको नाम जपेर उनी बसेका थिए अनिन्द्य सुन्दरी पुत्री द्रौपदीको पाणिग्रहण गराउँला भनेर। आखिर भवितव्यको घटनाले त्यो पूरा भएको थियो र उनको मनको भित्री कुनामा रहेको कुरुवंशको नाशले अब कसरी गति लिने होला भन्ने कुरामा भने चिन्तित थिए अनि आफ्नी एक्ली छोरी कसरी पाँच जनाकी पत्नी, साध्वी पत्नी, सती नारीको रूपमा दिन काट्ली? त्यो तत्कालको चिन्ता थियो। पाञ्चाल कुमारहरू पनि यो हुनै नसक्ने कुरा अब कसरी जीवन पर्यन्त चल्ला भनेर चिन्तित थिए। त्यो बेलासम्म वैधानिक रूपमा कुनै पाण्डवले पनि विवाह गरेका थिएनन्।
भवितव्यको घटनामा हिडिम्बासँग भीमको सहवास भएको थियो र घटोत्कचको जन्मसमेत भएको थियो। त्यसलाई दरबारिया भाषामा विवाह नमानेर राक्षसी विवाहको दर्जा दिइएको थियो किनभने हिडिम्बा राक्षसी पनि थिइन् र त्यो राक्षसीको दबाबमा विवाहको नाटक रच्नु जरुरी भएको थियो। भीमसँगको हिडिम्बाको विवाहको अर्थ यहाँ काम वासना तृप्तिको मात्र थियो। यहाँ गणितको सूत्रले जस्तै काम गरेको कुरा त्यस बेलामा मात्र प्रमाणित भयो जब महारथी कर्णले अर्जुनलाई मार्नका लागि भनेर राखेको वाण हानेर घटोत्कचको वध गर्ने बाध्यता परेको थियो। नत्र त्यो वाण अर्जुनमाथि बर्सन्थ्यो र अर्जुनको मृत्यु अवश्यम्भावी थियो। घटोत्कचकी आमा हिडिम्बाले एउटा छोरो पाएपछि भने न त अर्को छोरोको लालसा देखाइन्, न त अर्को कुनै राक्षस, मानव, दैत्य, नाग, यक्षसँग विवाह नै गरिन्। आफ्नो अभिभावक जस्तो निशाचर राजा हिडम्बासुर, जो उनको दाजु पनि थियो, उसलाई समेत मार्न सक्ने भीमप्रति हिडिम्बाको आकर्षण स्वतः परेको देखिन्थ्यो र त्यो हात्तीको जस्तो काँधमा टाउको राखेर अनि ती बलिष्ठ बाहु पासमा बाँधिने रहर जागेर आएको थियो। स्वर्गको इन्द्र, यक्षराज कुवेरसँग पनि नडराउने दाजुलाई सामान्य बाहुबलमा नै मार्ने त्यो महसुर मानवप्रति अचानक मोह बढेर जानु र त्यस्तो पुरुषको बच्चा पाउने लालसा राक्षसी हिडिम्बामा पलाएको थियो। ऊ रूप परिवर्तन गर्न सक्थी, राम्री, कुरूपा जे पनि हुन सक्थी। भीम चाहियो भनेर कुन्ती, युधिष्ठिरसँग माग्न आउने राक्षसीले रूपसी मानवीको रूपमा प्रस्तुत भएकी थिई र आफैँ स्वनिर्वासनको क्रममा वनवासको बेला कसैले नचिनुन् भनेर पनि समस्याको समाधान तत्काल गर्नु जो थियो। आइलाग्नेसँग जाइलाग्ने र समस्याको समाधान तत्काल गर्नुपर्ने बाध्यता पनि सँगै थियो। हिडम्बासुरको हत्याको हल्ला चल्नु पनि आवश्यक थिएन जसका लागि हिडिम्बाले भनेको मान्दा हल्ला पनि नचल्ने र भीमले केही समयमा नै उनको यौन तुष्टी गराएर फर्कने बुद्धिमत्तापूर्ण निर्णय गरिएको थियो। त्यसका लागि निर्णय गर्ने र अन्तिम फैसला कुन्तीमा थियो एकातिर भने युधिष्ठिरको फैसला नै कुन्तीको पनि फैसला हुन्थ्यो। कुन्ती बनमा पनि राज्य कसरी चलाउने, निर्णय कसरी लिने र आपत् धर्मको निर्वाह कसरी गर्ने भन्ने बारेमा प्रायोगिक माध्यमबाट आफ्ना छोराहरूलाई सिकाउँथिन् भन्ने प्रमाणका रूपमा जहिले पनि भीम नै पर्दथे। आखिर आमा कुन्ती र दाजु युधिष्ठिर तथा भाइहरू अर्जुन, नकुल र सहदेवको रक्षा गर्नु अनि उनीहरूको परिचय नखुलोस् भनेर रूप लुकाउनु पनि भीमकै मातहतमा पर्थ्यो। रक्षाको भार, खानेकुरा खोज्ने भार, कहाँ कसरी सुत्ने र सुरक्षित रहने भन्ने पनि भीमकै अधीनमा थियो।
एक प्रकारले भन्नुपर्दा सबैको सुरक्षाको जिम्मा भीममा नै थियो। पटक्कै चित्त नबुझे पनि र महाराज हुने पालो पर्खेर बसेका कुरुवंशका युवराज युधिष्ठिरको समेत सुरक्षाको जिम्मा भीमसेनमा नै थियो। तर सतर्कता कस्तो थियो भने भीमसेनको परिचय पनि खुल्नु हुँदैन थियो, अर्जुनको पनि परिचय खुल्नु हुँदैनथ्यो, कुन्ती विश्व सुन्दरी थिइन् र नकुल अनि सहदेवका पनि आफ्ना आफ्ना विशेषताहरू थिए, ती कुनै पनि विशेषताको खुलासा हुँदा उनीहरू मरेको भन्ने भ्रमको पर्दा उघ्रने डर थियो। वास्तवमा महाराज धृतराष्ट्रसँग नैतिक र राजनीतिक रूपमा बदला लिनु थियो र त्यसका लागि शक्ति सङ्ग्रह गरेर हस्तिनापुरमा आफ्नो कब्जा जमाउनु थियो जुन राज्य महाराज पाण्डुको देन थियो र पाण्डुको देहावसान नहुँदासम्म महाराजका रूपमा कार्यवाहक भएर धृतराष्ट्रले राज्य सञ्चालन गरेका थिए। वास्तविक महाराजको कार्य गर्ने र आदेश दिने आधिकारिक व्यक्ति त शन्तनु नन्दन देवब्रत भीष्म प्रतिज्ञ व्यक्ति नै थिए तर राजनीतिमा सत्तामा कब्जा गर्नु पनि एउटा विषको नसा जस्तै हुने रहेछ, त्यसको प्रत्यक्ष प्रमाणका रूपमा कार्यवाहक महाराज धृतराष्ट्रले पाण्डुको मृत्यु पहिलेदेखि नै आफूलाई राजाको रूपमा प्रस्तुत गरिरहेका थिए। त्यसमा राजसभाले पनि हस्तक्षेप गरेको थिएन किनभने पाण्डुको निष्क्रियता र मृत्युले अर्को विकल्प पनि दिएको थिएन। भीष्म पितामह गद्दी सिन नहुने, महाराज विचित्रवीर्यको स्थानमा बसेका पाण्डुको स्थान रिक्त भएको कुराले शत्रु राज्यहरूले आक्रमण गर्ने निहुँ पाउने हुने अवस्था थियो। त्यसमा राजमाता सत्यवतीको कर्तव्यनिष्ठ प्रयास र हस्तिनापुरप्रतिको निष्ठा र पुत्रहरू श्री वेदव्यास र देवब्रतको सल्लाहले राज्य निष्कण्टक चलेको थियो। उनकै संयमपूर्वक गरिएको दूरदर्शी बुद्धिमत्ता प्रयासले धृतराष्ट्र, पाण्डु र विदुरको जन्म सम्भव भएको थियो। अर्थात् नियोगमार्फत अम्बिका, अम्बालिकाबाट जन्मिएका पुत्रहरू राजा भए र शूद्राबाट जन्मेको पुत्र महामन्त्रीका रूपमा मनोनीत भएका थिए। त्यसरी नियोगका लागि आदेश दिने राजमाता नै थिइन् र नियोगका लागि प्रयुक्त पुरुष उनकै पुत्र श्रीकृष्ण द्वैपायन वेदव्यास थिए। नियोगमार्फत उत्तराधिकारी जन्माउने काम त्यसपछि पनि भएको थियो जसमा युवराज युधिष्ठिर, राजकुमारहरू भीमसेन, अर्जुन, नकुल र सहदेव थिए।
द्रौपदीको आगमन पश्चात् नयाँ समस्या परेको थियो। द्रौपदी पाँचै जनाकी विवाहितता नारी थिइन् र पाँच जनासँगको सहवासले पनि उनलाई सती नारीको रूपमा गणना गर्न सकिन्थ्यो। विवाहका लागि निः सर्त प्रयास गर्ने अर्जुनभन्दा खुसी त भावी महाराज युधिष्ठिर थिए र परिवारको रक्षाको भार लिएका भीमसेनका लागि एउटै परिवारमा दुई दुई जना विश्व सुन्दरीहरूको रक्षा गर्ने अभिभारा थपिएको थियो। भीमसेनलाई परेको ठुलो अपवादको भने समाधान भएको थियो साझा रूपमा रानी प्राप्त भएरै भए पनि। अब उनले परिवेत्ताको रूपमा आफूलाई एकान्तमा घोरिनु पर्ने भएको थिएन। त्यसो त हिडिम्बा सम्झेको बेलामा आउने सर्तमा बिदा भएकी थिई तर उनले फेरि फेरि किन पनि सम्झिएनन् भने दाजुको विवाह भएकै थिएन र अरू भाइहरूको विवाह हुनका लागि पनि युधिष्ठिरको विवाह हुनु जरुरी थियो।
युधिष्ठिर भीमसेन एकातिर द्रौपदी जस्ती विश्व सुन्दरीको पति हुन पाएकोमा अत्यन्त खुसी थिए भने अर्जुनमा आफ्नो पुरुषार्थबाट प्राप्त भएकी राज कन्या साझा पत्नी हुँदा उदासीन देखिन्थे तर त्यो कुरा बाहिर देखाउन चाहँदैनथे। नकुल र सहदेव त आमा र दाजुहरूको आदेश मान्ने भएकाले जे भन्छन् त्यही अनिवार्य कर्तव्य मानेका थिए। अर्जुनप्रति द्रौपदीको बढी चाहना थियो र सानैदेखि उनको मनमा बसेका अर्जुन नै थिए जसको एउटा काल्पनिक छवि मात्र उनको मनमा थियो। अर्जुनलाई महाराज द्रुपदले दुवै कारणले सम्झन्थे- यदि द्रोणाचार्यको प्रतिनिधिका रूपमा अर्जुन नआउँदा हुन्थे भने उनलाई जित्न सक्ने कोही पनि त्यस्तो कुरुकुलमा थिएन, त्यसैले अर्जुनसँग पनि बदला लिनु थियो तर छोरी दिएर र द्रोणाचार्यका विरुद्धमा प्रयोग गर्ने विचारमा। राजा द्रुपद विद्वान पनि थिए र दूरदर्शी पनि थिए। द्रोणाचार्यले उनको आधा राज्यमा राजकीय हस्तक्षेप गरेका थिए र राज्य प्रतिनिधिका रूपमा आफ्ना चिरञ्जीवी पुत्र द्रोणी अश्वत्थामा नियुक्त गरेका थिए। राज्य फिर्ता लिनु पनि थियो जसमा अर्जुनको सहयोग यदि द्रोणाचार्यलाई भएन भने द्रुपदलाई हराउने कोही पनि थिएन। अर्जुनको मृत्यु भएको सुनेर उनी खिन्न भएका थिए किनभने यदि अर्जुन नै रहेनन् भने आफ्नी छोरी द्रौपदी अविवाहित नै रहने हुन् कि भन्ने पनि थियो। जसरी एउटी विवाहित महिलाले आफ्नो पतिप्रति आस्था राख्छिन् र सती नारी हुने शपथ खान्छिन्, त्यस्तै शपथ द्रौपदीले पनि लिएकी थिइन् र पाण्डवहरूले पनि एक नारी ब्रह्मचारी जस्तै मानेका थिए-पटरानीका रूपमा, बडामहारानीका रूपमा द्रौपदी मात्र मान्यता प्राप्त वैधानिक नारी थिइन् पाण्डवकी पटरानीका रूपमा। सबैभन्दा बढी द्रौपदीप्रति आकर्षित भीमसेन थिए। द्रौपदी भने सबैभन्दा बढी अर्जुनप्रति समर्पित हुन चाहन्थिन्। युधिष्ठिरका लागि त द्रौपदी नै पटरानी भएकी र उनको आदेश नभई अरूले भोग गर्न नपाउने अवस्था यस कारणले पनि थियो कि उनी ज्येष्ठ पाण्डव थिए, भावी राजा थिए र उनैको राज्य पुनर्बहालीका लागि अनेक प्रयास हुँदै थियो र शक्ति सञ्चयका लागि वारणावतबाट अचानक मरेको नाटक गरेर भाग्नु परेको थियो। कुन्तीको अव्यक्त प्रतिशोधले नयाँ राजनीतिको उदय हुँदै पनि थियो। कुन्ती नबोलीकन आफ्नो योजना बनाउँदै थिइन् र आफ्ना छोराहरूलाई कुमालेले माटोलाई स्वरूप दिएजस्तै गरी नयाँ राज्य सञ्चालन तयारीका लागि परिवारलाई एकत्रित गराउँदै थिइन्। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति