सुनसरी–मोरङमा नियमित बिजुली जान्छ तर “लोडसेडिङ” भन्दैन प्राधिकरण

विराटनगर-सुनसरी र मोरङको गार्हस्थ र औद्योगिक क्षेत्रमा बिजुली आउने र जाने कुनै टुङ्गो छैन्। छिनछिनमा बिजुली आउने र जाने भइरहन्छ। ठाउँ हेरी पाँच घण्टादेखि १० घण्टासम्म बिजुली कटौती गरेपनि नेपाल विद्युत प्राधिकरण भने लोडसेडिङ भन्नै चाहदैन। प्राधिकरणले लोडसेडिङ नभने पनि यो क्षेत्रमा दैनिक सरदर १० घण्टा बिजुली जाने गरेको सर्वसाधारणहरू बताउँछन्।

यो गर्मीको समयमा विनासूचना झयाप्प बिजुली आउने र जाने तथा लामो समयसम्म बिजुली नआउने समस्याले नागरिकले सास्ती मात्र भोगेका छैनन् उनीहरूले सम्पत्तिको नोक्सानीसमेत व्यहोर्नु परेको छ। झ्याप्प झ्याप्प बिजुली आउने र जाने गर्दा भोल्टेज पनि कुनै बेला कम र कुनै बेला बढी आउने गरेको उनीहरू बताउँछन्। यसरी कम र बढी भोल्टेज आउँदा घरमा रहेका राइस कुकर, पंखा, विद्युतिय चुल्हो, बल्ब, रेफ्रिजेरेटर, पानी तान्ने मोटर जस्ता विद्युतीय सामग्री बिग्रिने गरेका छन्।

अनियमित रूपमा बिजुली आउने जाने गर्दा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योग बढी मारमा परेको उद्योगीहरू बताउँछन्। बिजुली आउने र जाने समय तालिका आफुहरूलाई दिए त्यही अनुसार मजदुर लगायतको व्यवस्थापन गर्न सजिलो हुने उद्योगीहरू बताउँछन्। तर बिजुली जाने तालिका नदिँदा काम नहुँदा पनि मजदुरलाई बोलाउनु परेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल बताउनुहुन्छ। अनियमित रूपमा बिजुली आउने र जाने गर्दा, भोल्टेज कम र बढी आउँदा उद्योगमा ठूलो नोक्सानी हुने उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका बताउनुहुन्छ। प्लाष्टिक, फलाम, सिमेन्ट, पाइप, ट्याङ्की उत्पादन गर्ने उद्योगमा त झन धेरै नोक्सान हुने मुरारकाको भनाई छ। यी उद्योग २४ घण्टा नै चलाउनु पर्ने प्रकृतीका हुन्। यी उद्योग सञ्चालन भइरहेको समयमा बिचमा बिजुली गए उत्पादन प्रकृयामा रहेको सबै कच्चा पदार्थ नोक्सानी हुने संघका अध्यक्ष रिजाल बताउनुहुन्छ। सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा साना ठूला गरी पाँच सय ६० छन्। जसमा चार दर्जन प्लाष्टिक उद्योग, १० वटा फलाम उद्योग, १० वटा सिमेन्ट उद्योग, तीन वटा पाइप र तीन वटा ट्याङ्की उद्योग सञ्चालनमा छन्। अनियमित बिजुलीले सबै उद्योगमा क्षती पु¥याए पनि प्लाष्टिक, फलाम, सिमेन्ट, पाइप र ट्याङ्की उद्योगमा बढी नोक्सानी हुने उद्योगीहरू बताउनुहुन्छ। जुनसुकै समयमा झ्याप झ्यापी बिजुली जानेआउने र बिजुली आउँदा पनि कम भोल्टेजमा गुणस्तरहीन बिजुली आउने गरेको भन्दै उद्योगीहरूले यसले उद्योग व्यवसायमा ठूलो नोक्सानी भइरहेको बताएका छन्।

विनासूचना जुनसुकै समयमा झ्याप झ्यापी बिजुली आउने–जाने गर्दा उद्योग कलकारखानाका मोटर जल्ने, प्यानल बोर्ड सर्ट हुने, एमसीभी बिग्रिने, महङ्गा मेशिनहरू बिग्रिने, जल्ने लगायतका समस्या आएर ठूलो नोक्सानी हुने गरेको उद्योगी व्यवसायीहरूको गुनासो छ। अनियमित र गुणस्तरहीन बिजुलीका कारण ठूलो नोक्सानी भएको भन्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परीसंघले नेपाल विद्युत प्राधिकरणको ग्रिडमा धर्नां दिएका थिए। माग र आपूर्तीबीचको खाडलका कारण आएको समस्यालाई कृतिम समस्याको जस्तो बुझेर ग्रिड कार्यालय नै घेराउ गर्ने जस्ता आन्दोलन गरेपछि नेपाल विद्युत प्राधिकरण पनि कठोर रूपमा प्रस्तुत हुन थालेको छ। उसले क्यापासिटर बैंक जडान नगर्ने उद्योगको बिजुली काट्न थालेको छ।

मोरङ व्यापार संघले उद्योगमा बिजुली काटेको र केहीलाई बिजुली काट्ने धम्की दिएको भन्दै वैशाख १७ गते प्रेस विज्ञप्ती नै जारी गरेको थियो। सबै आन्दोलन र कार्यक्रम संयुक्त गर्दै आएको उद्योग संगठन मोरङले भने वैशाख १७ गतेको विज्ञप्तीमा हस्ताक्षर गर्न मानेन। विद्युत प्राधिकरणले तीन वर्ष अघि जडान गर्न निर्देशन दिएको क्यापासिटर बैंक नजोड्ने उद्योगको प्राधिकरणले बिजुली काटेकाले उद्योग संगठनले विज्ञप्तीमा हस्ताक्षर गर्न नमानेको हो। क्यापासिटर बैंक जडान गर्दा भोल्टेज कम र बेसी आउने समस्या हट्ने र बढी लोड खपत गरेका कारण अन्यलाई समस्या नपर्ने भन्दै प्राधिकरणले तीन वर्ष अघि नै उद्योगमा क्यापासिटर बैंक जडान गर्न निर्देशन दिएको थियो। तर उद्योगीले यसलाई अवज्ञा गर्दै जडान गरेका थिएनन्। उद्योगको आन्दोलनबाट चिढिएको प्राधिकरणले क्यापासिटर बैंक जडान नगर्ने उद्योगको बिजुली काट्न थालेपछि उद्योगीको आन्दोलन सेलाएको छ। र उनीहरू आन्दोलनका कुरा पनि गर्न छाडेका छन्।

अधिकांश आयोजना वहाबमा आधारित भएकाले वर्षात नभएका कारण जडित क्षमता भन्दा धेरै कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ। पूर्वमा दुई सय ५० मेगावाट भन्दा बढी बिजुली आवश्यक भएपनि त्यसको आधा मात्र आपूर्ती भएका कारण बिजुली व्यवस्थापन गर्दा बिजुली कटौती गर्नु परेको विद्युत प्राधिकरण दुहबी ग्रिडका ईञ्जिनियर कविन्द्र कुमार झा बताउनुहुन्छ। माग र आपूर्ती घटबढ भइरहने भन्दै ईञ्जिनियर झाले कोशी प्रदेशमा बिजुलीको कति माग छ र बिजुली कहाँबाट कति आपूर्ती भइरहेको छ भन्ने कुराचाहिँ खुलाउन चाहनुभएन। लोडसेडिङको तालिका सार्वजनिक गरेर बिजुली व्यवस्थापनलाई व्यवस्थित बनाउने भन्दा पनि अव्यवस्थित तरिकाले बिजुली बितरण गर्दा सर्वसाधारण मारमा परेका हुन्। उद्योग बन्द हुँदा गुम्ने रोजगारी, सर्वसाधारणका लाखौँ मूल्यका घरायसी विद्युतीय सामग्री तथा उद्योगीका करोडौँका मेसिन जोगाउन र सर्वसाधारणलाई सास्ती दिनबाट रोक्न प्राधिकरणले बिजुली वितरणलाई व्यवस्थित गर्नु आवश्यक छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link