कसरी गर्ने बिजुली चुलोको प्रवर्द्धन?

गोपालजंग थापा

राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाले १६ औ आवधिक योजनामा विद्युतीय चुलो प्रवर्द्धनलाई थप प्रभावकारी हुने गरी समेट्ने प्रतिवद्धता जनाउनु भएको छ। उहाँ काठमाडौँमा आयोजना भएको बिजुलीबाट चल्ने चुलोको बजार प्रवर्द्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै हुनुहुन्थ्यो। प्राक्टिकल एक्सनले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै  डा. अनिताले बिजुली चुलोको बजार प्रवर्द्धन परियोजनाको उपलब्धि र कार्यक्रम पद्धतिको प्रशंसा गर्दै कार्यक्रमबाट छलफलका क्रममा उठेका ठोस विषयवस्तुलाई आवधिक योजना बनाउने क्रममा गम्भीरतापूर्वक लिने उल्लेख गर्नुभयो।

विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीले आयोगले बनाएका निर्देशिकाहरूको बारेमा जानकारी दिनुभयो।। उहाँले आयोगले बनाएका र आगामी दिनमा बनाउनुपर्ने निर्देशिकाहरू अझै सान्दर्भिक बनाउनका निम्ति सबैको सुझाव आवश्यक भएको बताउनुभयो।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले राज्यले नै विद्युतीय चुलोको विस्तार गर्ने नीति लिएकाले यसको प्रवर्द्धनमा साझेदारहरूको सहकार्य अझै बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले समुदाय स्तरमा विद्युतीय चुलो स्वीकार्ने वातावरण निर्माण गर्न, मापदण्ड बनाएर बजारमा विस्तार गर्न, तोकिएका मापदण्डको पालना गर्न, विद्युत वितरण सुधार गर्ने देखि सहज नीतिगत व्यवस्थाका लागि सबैको उतिकै जिम्मेवारी हुने बताउनुभयो।

प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पुजा शर्माले विद्युतीय चुलोको अभियानमा लिएको छलाङ र परिवर्तन भएको बहसको मुद्दाहरू प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा उर्जाको विस्तार मार्फत यसको परिणाममुखी उपयोगका सवालमा अझै सशक्त ढंगले काम गर्ने बताएकी छिन। दुई वर्ष अगाडि मात्रै परियोजना शुरु हुनु पूर्व विद्युतीय चुलोको प्रवर्द्धन गर्ने विषयमा चिन्तित रहेको उल्लेख गर्दै निर्देशक शर्माले साझेदारहरूसँग महत्वपूर्ण सहकार्य, कर्मचारीको मेहनेतका कारण सफलता हात लागेको उल्लेख गर्नुभयो।

सो अवसरमा प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मीन विक्रम मल्लले “विद्युतीय चुलोको बजार प्रवर्द्धन” परियोजनाका बारेमा विस्तृत जानकारी गराउनुभयो। दुई वर्षे परियोजनाको अवधिभर गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशका १० वटा जिल्लामा ९ हजार ८ सय ७५ विद्युतीय चुलो वितरण गरिएको परियोजना प्रबन्धक उपाध्यायले जानकारी दिनुभयो। उहाँले १० हजार चुलो बाँड्नै लक्ष्य रहेको उल्लेख गर्दै परियोजना अवधिभर ९८ दशमलव ८ प्रतिशत सफल भएको बताउनुभयो।   

इन्डेभ कार्यक्रमको आर्थिक सहयोग र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा तीन वर्ष अघि सन् २०२१ जुलाईबाट “विद्युतीय चुलोको बजार प्रवर्द्धन” परियोजना सुरु भएको थियो। गोष्ठीमा राष्ट्रिय योजना आयोग, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण लगायतका सरकारी निकाय, विद्युत उत्पादन र प्रयोगमा संलग्न विभिन्न साझेदारहरू, दातृ निकाय, राष्ट्रिय सञ्जाल, गैरसरकारी संस्था, व्यापारी, स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

 आवरणः प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पुजा शर्मा

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

गोपालजंग थापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link