बुङमतीमा वृक्षारोपण 

गोपालजंग थापा

पर्यावरणीय सन्तुलन जोगाइराख्नका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर २२, रोटरी क्लब अफ पाटन र रोटरी क्लब अफ हिमालयन पाटनको संयुक्त आयोजनामा शनिबार ललितपुरको बुङमतीमा आयोजित वृक्षारोपण कार्यक्रमका सहभागीहरूले वातावरण जोगाउनु सबैको साझा दायित्व भएको बताएका हुन्।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर– २२ का अध्यक्ष सागर तुलाधरले पछिल्लो समय भौतिक विकासलाई मात्रै प्राथमिकता दिँदा वातावरणीय विकास ओझेलमा परेको बताउनुभयो। वातावरणीय विकासले खुशियाली ल्याउने उल्लेख गर्दै भौतिक विकासले विनाश निम्त्याउने भएकाले यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ। वडा अध्यक्ष तुलाधरले आफ्नो वडामा समेत भौतिक विकासका लागि योजना माग्नेहरूको संख्या धेरै भए तापनि वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूमा खासै कसैको ध्यान नगएको स्मरण गर्नुभयो। उहाँले वृक्षरोपणका माध्यमबाट भूक्षय र पहिरो जस्ता प्रकोप नियन्त्रण देखि वातावरणीय सुरक्षामा सहयोग पुग्ने भएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले विश्व तापमान वृद्धिका कारण उत्पन्न कठिन परिस्थितिले ठूला ठूला संकट आइरहेकाले नेपालजस्ता मुलुकले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि स्थानीयस्तरमा अनुकूलनसम्बन्धी कार्यक्रमहरू नतिजामुखी बनाएर सञ्चालन गर्नु पर्ने उनको भनाई छ। रावलले वृक्षरोपणका माध्यमबाट माटोको संरक्षण गर्नुका साथै भविष्यमा धेरै लाभ मिल्ने भएकाले वातावरणीय स्वच्छतामा मद्दत पुग्ने किसिमका बिरुवा रोपिएको बताउनुभयो।

रोटरी क्लब अफ पाटन वातावरण समितिका संयोजक डा. खड्कसिंह विष्टले रोटरीका विभिन्न ७ वटा क्षेत्र मध्ये वातावरण संरक्षण पनि पर्ने भएकाले वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिनुभयो। विष्टले आफूहरूले वार्षिक रुपमा वातावरण संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनुभयो। यस अवसरमा धुपी, कपुर, एभोकाडो, ओखर, लप्सी, चिउरी, आँप, अम्बा, अम्रिसो लगायतका फलफूल, वनस्पति र घाँस प्रजातिका बिरुवा रोपिएका हुन्।

वृक्षारोपण पश्चात बिरुवाहरूको रेखदेख र संरक्षणको जिम्मेवारी स्थानीयलाई दिइएको छ। बिरुवा रोपी सके पछि तिनको मलजल लगायत व्यवस्थापनमा कुनै कमी नराख्ने उनीहरूको भनाई छ। वृक्षारोपण कार्यक्रम महिलाका लागि महिला समूह बुङमती, योग केन्द्र बुङमतीसँगको सहकार्यमा आयोजना गरिएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

गोपालजंग थापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link