बेनी जोमसोम सडक: माथि पहिरो तल उर्लिदो काली

गोपालजंग थापा

बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा झरेको पहिरोका कारण जोखिम बढेको छ। पछिल्लो समय यस खण्डका ठाउँ ठाउँमा ठूल्ठूला पहिरोहरू खसेका छन्। विशेष गरी वर्षाको समयमा माथिबाट खस्ने पहिरोका कारण यहाँको यातायात सेवा बेला बेलामा अवरुद्ध हुने गरेको। म्याग्दीको गलकोटदेखि घाँसासम्मको सडकका अधिकांश स्थानमा पहिरो झरेको छ। पहिरोका कारण नियमित रुपमा आवतजावत गर्ने सर्वसाधारण सास्ती भोग्न बाध्य छन्। पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ का भीम बरुवालले पहिरोसँगै ठूला ठूला ढुङ्गाहरू झर्दा बेला बेलामा बाटो बन्द हुने गरेको बताउनुभयो। भीमले पानी परेको समयमा बेनी जोमसोम सडकमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको दुःखेसो गर्नुभयो।

पहिरोले वर्षेनी यस्तै समस्यामा पार्दै आएको छ। “उता माथि वेग खोला आउँछ, वेग खोलाको बाढी आएपछि त्यहाँको झोलुंगे पुल, त्यहाँको मोटर पुल नै बगाएको पनि धेरै भयो। अहिले सम्म बन्न सकेको छैन,  त्यहाँ पनि ठूलो समस्या छ। ” भीमले माथिल्लो क्षेत्रमा खस्ने पहिरोका कारण तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको बताउनुभयो। भीम भन्नुहुन्छ, “तल उर्लिएको कालीगण्डकी बगिरहेको छ, पहिरोले कालीगण्डकी थुनिने जोखिम उस्तै देखिन्छ, यदि पहिरोकै कारण कालीगण्डकी थुनिएको खण्डमा नदी किनारका बस्ती कुनै पनि बेला सखाप हुन सक्छन्। भीम यस्ता सम्भावित जोखिमबाट हुने क्षति कम गर्नका लागि यहाँको भौगोलिक अवस्थाका बारेमा अध्ययन गरी पहिरो नियन्त्रणमा ध्यान दिनु पर्ने बताउँछन्।

हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने सडकको डरलाग्दो अवस्थाका कारण यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको छ। पहिरोको उच्च जोखिमसँगै सडकको अवस्था दयनीय भएकाले जिल्लामा भित्रिने पर्यटकको आवागमनमा समस्या भइरहेको थासाङ गाउँपालिका वडा नम्बर १ टुकुचेका होटल व्यवसायी सरोज तुलाचनले बताउनुभयो। सरोजले वर्षौँदेखि चिनको कोरला नाका पनि जोड्ने बेनी जोमसोम सडक कालोपत्रे नहुदाँ जिल्लामा पर्यटनका गतिविधिमा प्रत्यक्ष रुपमा असर परेको गुनासो गर्नुभयो। सरोज तुलाचन भन्नुहुन्छ, “हाम्रो राष्ट्रिय गौरवको आयोजना छ नि पोखरा टु अहिले बेनी बाटो हजुरले देख्नु भयो नि यति वर्षमा पनि बन्न सकेको छैन। अझै कहिले पुरा हुने हो छाँटकाँट केही छैन, जति सम्म यही बाटोले दुःख दिएको छ हजुर। यसरी पहिरो खस्दा पर्यटकलाई साह्रै दुःख हुन्छ।”

बेनी जोमसोम सडक खण्डमा सुपभाइजरका रुपमा कार्यरत अरूण हमालले हिउँदको समयमा पहिरो पन्छाएर सडक विस्तारको काम हुने गरेको बताउनुभयो। हिउँदमा राज्यको ठूलो रकम खर्चिएर सडकलाई व्यवस्थित बनाउने काम गरे पनि सबै मेहनत वर्षामा आउने बाढी पहिरोसँगै बग्ने गरेको अरूणले बताउनुभयो।

आवरण तस्बिरः म्याग्दीको दानामा अवस्थित संसारको सबै भन्दा गहिरो अन्ध गल्छी नजिकैको जोखिमपूर्ण सडक   

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

गोपालजंग थापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link