जलवायु न्यायको प्रतीक्षा

गोपालजंग थापा

‘‘ मेरो नाम जानकी महतो हो। मेरो घर सिरहाको नगरपालिकामा हो। पहिला हाम्रो खेतहरूमा प्रशस्त घोँगी, माछाहरू पाइन्थ्यो। त्यही मारेर जिविकोपार्जन हुन्थ्यो। तर अहिले पानीको मुहान सुक्दै गएका छन्। घोगी, माछाहरू पाइन छाडेका छन्।”

“ मेरो नाम सन्तोषीकुमारी राम हो। म पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बस्छु। पानी चाहिने समयमा नपरेर नचाहिने बेलामा पर्छ। जसले एक त समयमा अन्न बाली रोप्न पाउँदैनौ र रोपी हाले पनि भित्राउने बेलामा कहिले बाढी आइदिन्छ। जलवायु परिवर्तनको असर सबैलाई नै छ तर विशेष गरि कृषिमा भर पर्ने किसानको जनजीवन नै अस्तव्यस्त बनाएको छ।”

विश्व वातावरण दिवसका अवसरमा काठमाडौँको एक्सनएड इन्टरनेसनल नेपालले जलवायु न्यायका लागि शुरु गरेको वृहत् अभियान उद्घाटन कार्यक्रमका सहभागीहरूले तराईका दुई जिल्ला पर्सा र सिरहाका दुई किशोरीहरूले सुनाएका अनुभव हुन् यी।

जुन ५ का दिन काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको हो। सन् २०२३ जुन ५ देखि १० तारिख सम्म एक्सनएड इन्टरनेसनल नेपालले देशका विभिन्न स्थानमा जलवायु न्याय अभियान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दैछ। युवा र महिलाहरूको सहभागितामा जलवायु न्याय अभियानलाई सशक्त बनाउनका लागि आज देशभरका ११ जिल्लाबाट जलवायु न्याय अभियानको शुभारम्भ भएको छ। एक्सनएडले विभिन्न साझेदार संघ संस्थासँग सहकार्य गरेर जलवायु सङ्कटको मुद्दा सम्बोधन गराउने उद्देश्यले काठमाडौँ सहित तेह्रथुम, सिरहा, महोत्तरी, पर्सा, चितवन, मकवानपुर, पाल्पा, कपिलवस्तु, बर्दिया र डोटी जिल्लाबाट एकै साथ जलवायु न्याय अभियान शुभारम्भ गरेको हो। सोमबार पहिलो दिन विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौँमा भएको उद्घाटन कार्यक्रमका सहभागीहरूले जलवायु परिवर्तन विश्वको साझा एजेण्डा भएकाले जलवायु न्यायका लागि सबैले एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्। कार्यक्रमको पहिलो सत्रमा बोल्ने वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा नराम्रो असर परेको अनुभव सुनाए। पछिल्लो केही वर्ष यता पानी पर्ने क्रममा आएको फेरबदलका कारण यसको असरबाट कृषिबालीमा विभिन्न किसिमका समस्या भोग्नु परेको बताएका छन्। उनीहरूले कृषिमा देखिएका समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायले जलवायुमैत्री कृषि गतिविधि सञ्चालन गरी कृषकको क्षमता अभिवृद्धि गरी जलवायु उत्पादनशीलतामा जोड दिनुपर्ने बताए।

त्यसैगरी दोस्रो सत्रमा बोल्ने वक्ताहरूले जलवायुमैत्री कृषिका लागि नीतिगत रुपमा व्यवस्था अनुसार तिनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताएका छन्। कार्बन उत्सर्जन कम हुने खालका पर्यावरणमैत्री कृषि गतिविधि सञ्चालन गर्नेतर्फ प्रेरित गर्नु पर्ने आवश्यकता देखाए। जलवायु परिवर्तनको सवाल सम्बोधनका लागि राजनैतिक दृष्टिकोणबाट सोच्नु पर्ने उनीहरूको भनाई थियो। सो अवसरमा जलवायु न्यायको अभियानलाई वातावरणीय सवालका साथै राजनैतिक मुद्दाका रुपमा अगाडि बढाउनुपर्ने उनीहरूको धारणा थियो।

कार्यक्रममा बोल्दै एक्सनएड इन्टरनेसल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले जलवायु परिवर्तनको बहुआयामिक असरहरूको अत्यधिक भार नेपाल र यस भित्रका सीमान्तकृत समुदायले भोग्नु परेको बताइन। धनी मुलुकहरूको अनियन्त्रित गतिविधिका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा परेको उल्लेख गर्दै यस बापतको क्षतिपूर्तिका लागि दावी गर्नै पर्ने बताइन। जलवायु परिवर्तनका कारक पक्ष एउटा हुने तर पीडित अर्कै रहँदा यसले व्यापक अन्याय सिर्जना गरेको भन्दै यसको एक मात्र विकल्प जलवायु न्याय भएको उनको भनाई थियो। एक्सनएड इन्टरनेशनल नेपालले जलवायु न्यायको माग गर्न समुदायलाई सशक्त बनाउँदै उनीहरूलाई नै परिचालन गर्न जलवायुको सवालमा आधारित साझेदाहरूसंग काम गरीरहेको छ।

जलवायु परिवर्तनले कृषिमा निर्भर रहेको नेपाली समुदायको जनजीवनलाई असर पारिरहेको कुरा बताउँदै जलवायु न्यायको सवाललाई स्थानीय सवाल र जनजीवनसँग जोडेर समाधानका उपाय अपनाउनुपर्ने कुरामा जोड दिएका छन्। कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको असर कृषि उत्पादनमा कमी आएको र जसका कारण साना किसान, महिला, बालबालिका, अपांगता भएका व्यक्ति, विपन्न वर्ग लगायत सीमान्तकृत समुदायका मानिसहरूको जीवनमा अप्ठ्यारो परेको बताउनुभएको थियो।

कार्यक्रममा डोटीका युवा केशव विष्टले जलवायु परिवर्तनका कारण बहुसंख्यक युवाहरू निर्भर रहेको कृषि उत्पादनमा ह्रास आउँदा युवाहरू पलायन हुने क्रम बढेका बताउँदै जलवायु परिवर्तन असर न्यूनीकरण र अनुकुलनका लागि स्थानीय तहमा युवाहरूको नै अगुवाइ हुने कुरामा जोड दिनुभयो। कृषक महिला अनुपा ढकालले भन्नुभयो “पानी पर्नु पर्ने बेलामा पानी पर्दैन अनि पानी नपर्ने बेलामा पानी परेर बालीनाली नष्ट गरिदिन्छ। कृषिमा उब्जनी घटेको छ,  जसका कारण कृषिमा निर्भर परिवारमा पुरुषहरू विदेशमा हुन्छन्। महिलाहरू कृषिमा संलग्न हुन्छन्, जसले गर्दा कार्य बोझ, बालबालिका तथा वृद्धवृद्धाको स्याहारसुसार समेत महिलाले गर्नुपर्ने हुन्छ। जसका कारण मानसिक तनाव हुने, जलवायु प्रभावका कारण भएको प्रकोपका बेला महिलाहरू महिला हिंसा हुने  भोग्न बाध्य छन्। ” ढकालले भन्नुभयो “महिलाहरूको आवाज नसुन्ने प्रवृत्ति र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा यी सवालहरूको सम्बोधन हुने सकेको छैन।” 

बर्दियाकी कृषक महिला निलम विकले जलवायु परिवर्तनले महिलालाई पारेको असर र प्रभाव कम गर्न जलवायु न्यायको वकालतलाई नेतृत्व गर्न सक्ने युवाहरूको नेतृत्व, डिजिटलाइजेसन लगायतका माध्यमबाट समुदायमा चेतना र नीतिमा कृषक महिलाको सवाललाई सम्बोधन गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम शिवाकोटी नेपाल सरकारको कृषि तथा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका नीति, योजना र कार्यक्रमका बारेमा प्रकाश पार्दै सरकारले कृषिको उत्पादकत्व वृद्धि र बजार जोड्ने गरी सरकारको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो। यस्तै उहाँले प्रत्येक कार्यक्रमहरू जलवायु परिवर्तन र यसको यसको असरलाई कम गर्न न्यायलाई केन्द्रमा राखेर कार्यान्वयन गरिने कुरामा विश्वस्त गराउनु भयो। उहाँले रैथाने बीउको दर्ता, वितरणलाई बजारसँग जोडिएको तथा खाद्य तथा कृषि जैविक विविधताका लागि कार्यक्रम तय गरिएको र जलवायु प्रकोपलाई सम्बोधन गर्न बीमा नीति लागू गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडीजका निर्देशक उत्तमबाबु श्रेष्ठले  भन्नुभयो, “जलवायु परिवर्तन अन्तरपुस्ताको समस्या हो। प्रायः युवाहरू जलवायु वकालतका महत्त्वपूर्ण ड्राइभिङ कारक हुन्। जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यास उत्सर्जन हो, त्यसैले कार्यक्रमहरू यसको न्यूनीकरणमा केन्द्रित हुनुपर्छ। जलवायु न्यायका लागि जटिलभन्दा सरल समाधानमा जोड दिनुपर्छ। उदाहरण स्थानीयकरण, वृक्षारोपण, स्थानीय खाद्य उत्पादकत्व आदि। त्यसैले सरल समाधानले धेरै समस्याहरूलाई सम्बोधन गर्न सक्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ।” खाद्य, लैङ्गिक तथा जलवायु विज्ञ डा. यमुना घलेले खाद्य उत्पादकत्व र बजार सुरक्षामा जोड दिनुपर्छ भन्नेमा जोड दिनुभयो।

यसै कार्यक्रमका बीच, एक्सनएड इन्टरनेसनले नेपालले जलवायु न्यायका लागि आज वृहत अभियान सुरु गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौँको प्रज्ञा भवनमा एक कार्यक्रमका बीच जलवायु परिवर्तनको असर र प्रभाव अनुकूलन तथा न्यूनीकरणका साथै जलवायु न्यायको पैरवी, वकालतका लागि कार्यक्रमको सुरुवात गरिएको हो। जलवायु न्यायका लागि नीति परिवर्तन, न्यायोचित अवतरण, जलवायु न्याय र अधिकार र यसको लागि स्थानीय कार्यलाई प्राथमिकता दिँदै यो अभियानले स्थानीय, राष्ट्रिय स्तरमा काम गर्नेछ। अभियानको सुरुवात अन्तर्गत एक्सनएडको साताव्यापी कार्यक्रम तय गरेको छ। जसमा जलवायु परिवर्तन र न्याय सम्बन्धी सञ्चार, कला, प्रदर्शनी लगायतका कार्यक्रम रहेका छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

गोपालजंग थापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link