बर्खा लागेसँगै भयावह बन्दै डेंगु

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगुको संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेंगु सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगु नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’

डा. मरासिनीका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको संख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको संख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि संक्रमित संख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो,’ उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेंगु नियन्त्रणका लागि सहकार्य गरिरहेको बताउनुभयो । उहाँले डेंगुको संक्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने बताउनुभयो । घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ ।

डेंगुको संक्रमणको अवस्था

विसं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन् २०१० मा पहिलो पटक नौ सय १७ जनामा डेंगुको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार नौ सय ९२ सङ्क्रमित र छ जनाको मृत्यु भएको थियो । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगुका बिरामी देखिएका थिए । सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । बागमती प्रदेशमा ७७ प्रतिशत डेंगुका बिरामी भेटिएका थिए । त्यसमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ५६ प्रतिशत डेंगु सङ्क्रमित रहेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ ।

डेंगुको लक्षण र उपचार

वरिष्ठ कन्सलटेन्ट डा विमल चालिसेका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उहाँका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ । उहाँले डेंगु संक्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “डेंगुको कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिन्छ । पारासिटामोलको प्रयोग गर्ने भए पनि आइब्रुफेन र एस्पिरिन जस्ता औषधिको प्रयोग गर्न हुँदैन ।” गम्भीर डेङ्गुका बिरामीलाई तत्कालै अस्पताल भर्ना गर्न उहाँले सुझाव दिनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बर्खा लागेसँगै भयावह बन्दै डेंगु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link