यसरी बन्यो ढुङ्सी परियारको घर

ढुङ्सी परियारको नयाँ घर

वर्षायामको समय, सिमसिम पानी परिरहेको बेला। कोभिड १९ को असर परेकाहरूलाई राहत वितरण गर्दै रोल्पा मिझीङ्गस्थित उपल्लोथरको दलित बस्तीमा पुगेकाहरूले एउटा घरको आँगनमा एकजना बुढी दिदी निन्याउरो अनुहार लाएर अभिएको देखे। उहाँको घरको छानामा ठूला–ठूला प्वाल परेका थिए, र त्यही प्वालबाट वर्षादको पानी घर भित्र छिरिरहेको टाढैबाट देखिन्थ्यो। त्यो घर लगभग भत्कने अवस्थामा पुगिसकेको थियो।

राहत समूहका एकजनाले सोधे– ‘दिदी ! यो तपाईँको घर हो ? तपाईँ यहीँ बस्नु हुन्छ?

‘हो, यो मेरै घर हो, म यहीँ बस्छु,’ ती दिदीले जवाफ दिनुभयो।

कुराको सिलसिला अगाडि बढाउँदै जाँदा थाहा भयो दिदीको नाम ढुङ्सी परियार रहेछ। घर मर्मत नगर्नुको कारण बुझ्दा दिदी एकल महिला हुनुहुँदो रहेछ र उहाँको छोरा ऋृण लिएर खाडीमा काम गर्न गएको गएका रहेछन्। खाडीमा कमाएको पैसाले ऋणको किस्ता तिर्न र घरमा खाद्यान्नको जोहो गर्न समेत मुस्किल पर्ने भएकोले घर मर्मत गर्न नसकिएको ढुङ्सी परियार दिदीले बताउनु भयो। दिदीले भन्नुभयो, ‘या त अरू कसैको घरमा गएर बास माग्नुपर्‍यो, होइन भने मरे पनि मरिन्छ, यसैमा बस्नुपर्‍यो,’ भन्दै सुसाउनुभयो।

आफ्नै आँखा अगाडि त्यस्तो पीडादायी दृश्य देखेर र दिदीको त्यो दुःखी वचन सुनेर राहत समूह स्तव्ध बन्नपुग्यो, भावविह्वल भयो।

सारा विश्वलाई आक्रान्त बनाएको कोरोना भाइसर (कोभिड) को महामारीबाट नेपाल पनि अछुतो रहन सकेन। सन् २०२१ मा फैलिएको कोभिडको नयाँ भेरियन्टले नेपालको दुर्गम पहाडी जिल्ला रोल्पालाई पनि नराम्ररी प्रभावित बनायो। यो महामारीका अगाडी उपलब्ध श्रोत–साधन एवं तयारी अपर्याप्त देखिए, अधुरो साबित भइदिए। संकटको घडीमा सक्दो सहयोगका हात बढाउनु हरेक नागरिकको कर्तव्य ठानेर रोल्पा सुलिचौरका सामाजिक सेवाप्रति समर्पित व्यक्तिले ‘परिवर्तनका लागि साझा प्रयास समूह ‘ नामक गठन गरेका थिए।

समूहका सदस्यहरू र विदेशमा रहेका रोल्पालीहरूको सहयोग र सद्‍भावमा यो समूहले रोल्पामा निःशुल्क अक्सिजन उपलब्ध गराउने, अन्य संघ–संस्थाहरूसँग समन्वय गरेर कन्सन्ट्रेटर, थर्मल गन लगायत आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्ने, सरसफाई तथा शौचालय मर्मत कार्य गर्ने लगायत सामाजिक कार्यहरू गरेको थियो।

यसै सेरोफेरोमा सहयोगी समूहले गाउँकै केही विपन्न परिवारलाई खानकै धौ–धौ भएर भोक–भोकै बस्नुपरेको खबर पायो। समूहका सदस्यले अन्य केही दाताको सहयोग लिँदै राहत वितरण गर्न रोल्पा मिझीङ्गस्थित उपल्लोथर दलित बस्तीमा पुगेका थिए। राहतस्वरूप खाद्यान्न वितरण गर्ने क्रममा सहयोगी समूहका भुपनारायण घर्तिमगर, सुरज घर्तिमगर, फत्ते प्रचण्ड घर्तिमगर र अन्य सहयोगीहरूले साथ दिनुभयो।

वर्षाको समय भएकाले तत्कालै दिदीको घर मर्मत गर्न सम्भव थिएन। समूहको अनुरोधमा स्थानीय समाजसेवी खगेन्द्र विष्टले दुईवटा त्रिपालको व्यवस्था गरिदिनुभयो। स्थानीय युवाहरू केशव गिरी र हुकुम घर्तिमगरले त्रिपालले घर छोप्ने काममा सहयोग गर्नुभयो।

त्यो दिन राहत वितरणका साथ–साथै ढुङ्सी परियार दिदीलाई परेको समस्याको समेत अस्थायी समाधान गरेर राहत टोली फर्कियो। तर त्यो दिन ढुङ्सी परियार दिदीको त्यो कारुणिक अवस्था देखेर समूहका सबै सदस्यको मन घायल बन्यो। हा त्यहाँबाट फर्किएपछि पनि दिदीको व्यथाले सबैलाई घोचिरह्यो। अनन्तः राहत समूहले ‘नरबहादुर स्मृति ग्रामीण सेवा संस्था’ को समन्वयमा दिदीको जीर्ण घर पुनःनिर्माण गरिदिने निर्णय गर्‍यो।

समाजसेवी भुपनारायण घर्तिमगर

आवश्यक व्यवस्था गरेपछि पुष २०७८ को तेश्रो हप्ताबाट समूहले ढुङ्सी परियार दिदीको घरको पुनःर्निर्माण कार्य शुरू गरेर फागुन १७ मा सम्पन्न भयो। दुई महिनाभन्दा कम समयको अन्तरालमा घरलाई पूर्णरूपमा नयाँ बनाएर विधिवत रूपमा उहाँलाई हस्तान्तरण गर्न उक्त समूह सफल भयो।राहत समूहका अगुवा तथा समाजसेवी भुपनारायण घर्तिमगर भन्नु हुन्छ ‘पक्कै पनि एक–दुईवटा घर पुनःर्निर्माण या निर्माण गरेर स्थायी रूपमा समस्याको निरूपण हुँदैन। हामी सबैले आ–आफ्नो ठाउँबाट पहल गर्‍यौँ भने अवश्य जनजागरण बन्न सक्छ। त्यसबाट स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारमाथि दवाव पर्न जान्छ। संघ–संस्था तथा सामाजिक र धार्मिक निकायहरूलाई समेत प्रेरणा बन्न सक्छ। तपाईँ–हामीले पनि आफ्ना अनावश्यक खर्च कटाएर दुःखीलाई सहयोग गर्न सक्छौँ। विवाह, व्रतवन्ध, जन्मदिन लगायतका संस्कारहरूमा गरिने अनावश्यक खर्च कटौटी गर्दै सहयोग गर्न या उक्त संस्कारलाई नै सेवामा समर्पित गर्न पनि सकिन्छ। यहाँ हामीले जे–जति प्राप्त गरेका छौँ, ती सबै समाजकै उपज हुन् भन्ने मनन गर्न जरूरी छ। धेरै गर्न नसके पनि वर्षमा एक–दुई आवश्यकतामा रहेका परिवारलाई वर्षाको अनिकालमा सहयोग गर्न सकिन्छ। विपन्न परिवारका बालबालिकालाई पढ्नका लागि थोरै मद्दत गर्न सकिन्छ। हाम्रो सानो प्रयासले समाजलाई सकारात्मकतातर्फ अगाढि बढाउन सकिन्छ।’

ग्लोबल न्यूज ब्रेकसँगको सहकार्य

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link