विषादी प्रयोग गरी छिटो तरकारी छिटो उत्पादन गरेर तत्काल आम्दानी गर्ने हतारमा कृषक देखिन्छन्। पशुपालकदेखि तरकारी उत्पादकसम्मका कृषकले उत्पादन तथा वृद्धि विकास जतिसक्दो छोटो खोजिरहेका छन्। तर सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चाँदनीचोक पर्सेनीकी ३० वर्षीय बिन्दु शाहीले भने जलवायुमैत्री तरकारी खेती गर्नुभएको छ।
८ कट्ठा जमिनमा अहिले भिन्डी, बोडी, टमाटर, काँक्रो, खुर्सानी लगायतका कृषिउपज छन्। तर यिनको उत्पादनमा कुनै शत्रु जीव अर्थात् रोग कीरा लाग्ने डर शाहीलाई छैन।
बजारमा पाइने विषादीमा लगानी गर्न उल्टै स्वास्थ्यका लागि हानिकार हो भन्ने सामुदायिक सिकाइ केन्द्रबाट राम्रोसँग बुझेकी शाहीको जोड विषादीमुक्त तरकारी उत्पादनमा छ। गाईभैँसीको गहुँत, तितेपाती, सिस्नु, खुर्सानी, निम्बु, मेवाको पात मिलाएर घरमै जैविक विषादी बनाउन सिकेकी उहाँ उत्पादन लागतसमेत जोगाएको बताउनुहुन्छ।
‘हामीले घरायसी तितेपातीलगायतका सजिलै पाउने वस्तुको प्रयोगबाट जैविक विषादी बनाएर रोगकीराको प्रकोपबाट जोगाउँछौ,’ शाहीले भन्नुभयो, ‘बजारमा पनि विषादीमुक्त तरकारी बिक्री गरेकी छु।’
स्थानीय सिकाइ केन्द्रमा जैविक विषादी र कम्पोस्ट, गडौँलाको मल बनाउने विधिसमेत सिकेपछि प्रांगारिक अर्ग्यानिक तरकारी फलाउन सहज भएको उहाँको भनाइ छ। लामो समय बुवा मानबहादुर शाहीले तरकारी उत्पादन गर्ने कार्यलाई फरक ढंगबाट निरन्तरता दिइएकी उहाँले चार महिना (एक सिजन) मा करिब ३ लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ। बुवा मानबहादुर नेपाली सेनाबाट अवकाश भए पनि तरकारी खेतीमा राम्रो दखल राख्नुहुन्छ। ‘छोरीलाई नजिककैको शिक्षा क्यापसमा स्नातक अध्ययनसँगै व्यावसायिक विषादीमुक्त कृषि उपज उत्पादन गर्न सहयोगी भूमिका खेलिरहेको छु,’ मानबहादुरले भन्नुभयो।
‘सेवा निवृत्तभएपछि काम गर्न भारत गएँ। तर कोरोना आएसँगै घर फर्किएँ,’ मानबहादुरले भन्नुभयो, ‘घर आएर तरकारी सामान्य तरिकाले लगाइरहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘सिकाइ केन्द्रमा जैविक कृषिका कुरा छोरीले सिकिन्। अहिले अध्ययनसँगै आम्दानी गरिरहेकी छन्।’ विषादीमुक्त तरकारी मात्र होइन अहिले उहाँको परिवारले बेमौसमी तरकारी पनि गरिरहेको छ प्लास्टिकका घर बनाएर टमाटरलगायतका कृषि उपज सजिलै उत्पादन गर्ने गरेको मानबहादुरले बताए।
गोठ सुधारबाट मल र मूत्र व्यवस्थापन गरेर कम्पोस्ट मल र एक गैरसरकारी संस्थाको सहयोगबाट गडौँलाको मल घरमै उत्पादन गर्नुभएको छ। शाहीले भन्नुभयो, ‘मलमा पैसा लाग्दैन। सिँचाइ सुविधा पनि राम्रो छ। उत्पादन खर्च नलाग्ने र हामीलाई पनि रोग नलाग्ने कृषिउपज उत्पादन गर्दै आएकी छु।’
बजारमा अर्गानिक तरकारी
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—९ पर्सेनी गाउँका २२ परिवारले अर्ग्यानिक तरकारी उत्पादन गर्ने गरेका छन्। सामुदायिक सिकाइ केन्द्रमा सञ्चालित ग्रेप परियोजनाले जलवायु उत्थानशील र कृषि प्रविधि सिकाए पछि कृषक थप बलियो बनेका छन्।
पर्सेनीका २२ परिवारको देखेर अहिले अन्य गहुँ, कमै बाली लगाउन ५ परिवारले समेत जलवायु उत्थानशील कृषि गर्न थालेका छन्। पहिले त्यस गाउँका २७ जनाले उत्पादन गरेको तरकारी व्यपारी (मण्डीवाल) ले घरबाटै खरिद गरेर बजारमा ल्याउने गरेको छ।
‘पर्सेनीको तरकारी हो ? भनेर सोध्छन्। हो भनेपछि जोसुकैले किन्छन्,’ स्थानीय व्यापारी कुम्भ बुढाले भन्नुभयो, ‘विषादी तरकारीदेखि ग्राहक डराउन थाले।’
अर्गानिक तरकारी उत्पादन गर्ने कृषक बढ्दै
वीरेन्द्रनगर नगरपालिकाभित्र ५ सय ५५ कृषकले अहिले विषादीमुक्त तरकारी फलाउँदै आएका छन्। जलवायुमैत्री कृषितर्फ आकर्षण बढिरहेको वरिष्ठ कृषि प्राविधिक रामदेव शाहको दाबी छ। ‘उत्पादन लागत कम, सहज बजारीकरण र स्वास्थ्यका लागि उपरोक्त छ भन्नेबारे हामीले किसानलाई खेतबारीमै अनुसन्धान गरेर देखाएका छौँ,’ कृषि प्राविधिक शाहले भन्नुभयो, ‘झोल मल, गड्यौला मल, भकारो सुधारले कृषकको जीवनी परिवर्तन भएको पनि छ।’
जलवायु अनुकूलन खेती नगर्न सक्दा किसानले लाखौको क्षति व्यहोर्नु परेको छ। विषादी प्रयोग भएको तरकारीले हाम्रो स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर हुने गरेको जानकार बताउँछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार