काठमाडौँका सडक वस्तुभाउ दक्षिणकालीको कोपुगाउँ पुर्‍याइने

काठमाडौँका सडकमा देखिने गाईबाच्छालाई अब महानगरपालिकाले दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पुर्‍याउने भएको छ। यो काम कार्तिक २३ गतेदेखि सुरु हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपाया छाडा हुन्। यिनीहरूको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ। काठमाडौँमा महानगरपालिकाका तालुकवाला अधिकारीहरूले काञ्जी हाउसमा लगिने गाईबाच्छा राख्ने पूर्वाधारको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्। तिर्खा लागेका बेला पानी पाउँदैनन्। बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ। उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’ महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झा भन्नुहुन्छ, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ। हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ। दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्दछौँ।’

दक्षिणकाली नगरपालिका वडा नं. ७ का अध्यक्ष हरिप्रसाद तिमल्सेना भन्नुहुन्छ, ‘महानगरपालिकाका सडक चौपाया व्यवस्थापन गर्न हामीले सहकार्य गरेका हौँ। यसमा दक्षिणकाली नगर क्षेत्रकै छाडा चौपाया पनि व्यवस्थापनमा सहयोग हुनेछ।’ काञ्जी हाउसमा पुग्ने सडक खण्डलाई सहज बनाउन भोलि बिहान डोजर लगाएर सम्म्याउनेछौँ। वडाध्यक्षले जानकारी दिनुभयो।

बुधवारबाट महानगरका चार वटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा सङ्कलन गरेर टेकु ल्याइनेछ। सङ्कलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पुर्‍याउने छौँ।’ महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेले भन्नुभयो, ‘सङ्कलन र ढुवानीका क्रममा पशु कल्याणलाई ख्याल गरिनेछ।’

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो। सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो। प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोभिड लगायत समस्याबाट नियमित हुन सकेन। यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित  सम्झौता भएको हो।

सम्झौताबमोजिम लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइ सकेको छ। काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ। थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ। पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ। यस ठाउँमा १२६ रोपनी जमिन छ। यस ठाउँमा महानगरपालिकाले डाले तथा भुईँ घाँस लगाउन सक्नेछ।

छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो। यसमध्ये चौपाया लिलामी एउटा विधि थियो। सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७/०५८ एक वर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो। यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो। लिलामी गर्न पुग्ने सङ्ख्या बनाउन त्यस बेला टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो। लिलाम गरिएका चौपाया कहाँ लगिन्छन्? उनीहरू सुरक्षित रहन्छन् त? प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो।

महानगरपालिका क्षेत्रभित्र गाई पालन गर्ने गोठ र सडकमा भएका चौपायाको सङ्ख्या यकिन छैन। समय समयमा सडकमा हुने सवारी दुर्घटनाको कारण छाडा चौपाया भएपछि उनीहरूकै सुरक्षाका लागि पनि निश्चित ठाउँमा राख्नु पर्ने भएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link