कुनाको भरमा कर्णालीको पढाई

  • लक्ष्मी भण्डारी/आइएनएस संवाददाता 

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका –४ का हेमन्त शाही कक्षा सातको परिक्षा उर्तिण भएपछि निकै हौसिएका थिए । तर, कोरोना माहामारीको कारण भएको लकडाउनको कारण विद्यालय बन्द भएपछि आठ कक्षा प्रवेश गर्न नपाउँदा खिन्न थिए । जेठ महिना यता उनी दाजुहरुको साथमा घरमै ‘सिकाई कुना’ निर्माण गरेर पढ्ने गरेका छन् । हेमन्तका भाइबहिनीलाई पढाउन उनीहरु अध्ययनरत नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक मिनबहादुर बोहोरा घरमै आएर पढाउँछन् । हेमन्त आफ्नो दाजु र बहिनीको साथमा दैनिक कार्यतालिका बनाएर पढ्न थालेका छन् । उनको दाजु विवेक शाही १० कक्षामा पढ्छन् भने बहिनी हिमाली शाही तीन कक्षामा पढ्छन् । ‘घरमा पढाइकुना बनाएर पढ्न थालेपछि पढ्न मन लाग्छ’ हेमन्त भन्छन्, ‘हाम्रो आमाले हामीलाई दैनिक कार्यतालिका अनुसार पढे नपढेको विषयमा हेर्नुहुन्छ ।’

हेमन्तका दाजु विवेकले भाइ र बहिनीको सिकाउँदै पढ्ने गरेको बताए । ‘हामीले जानेको कुराहरु आफै पढ्छौ र नजानेका कुराहरु सर घरमा आएको बेलामा सिकाउनुहुन्छ’ उनले भने, ‘हामीहरु खुलेर उहाँसँग नजानेका कुराहरु सोध्छौ ।’ बुवाआमालाई घरको काममा पनि सघाउने गरेको उनले बताए ।

छोराछोरीहरुले पढेको देख्दा आफुलाई खुशी लागेको हेमन्त र विवेकको आमा ललिता शाहीले बताइन् । ‘कामबाट फुर्सद मिलेको बेलामा छोरोछोरीहरुलाई गीत गाएर सुनाउँछु र कहिले कथा भन्छु’उनी भन्छिन्, ‘उनीहरु गीत र कथा सुन्न पाउँदा खुश खुशी हुन्छन् ।’
सोही गाउँकी जेनिसा मल्ल आजभोली तीन कक्षामा अध्ययनरत भाई विम्लेस मल्ललाई पढाउँनमा सहयोग गरेकी छन् । जेनिसा स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा आठमा अध्ययन गर्छिन् । उनीहरुकोे घरमा सोही विद्यालयका शिक्षक मिनबहादुर बोहोराले पढाउँन आउँछन् । आमा चन्द्रा मल्लले गीत गाउनुका साथै कथा सुनाएर उनीहरुलाई रमाइलो वातावरणको सिर्जना गरेकी छन् । ‘कोरोनाले गर्दा स्कुलहरु बन्द भएपनि स्कुलमा जस्तै घरमै पढाई भएको छ’ जेनिसाले भनिन्, ‘भाइलाई मैले पढाउँछु र हामी दुवैजनालाई पढाउन शिक्षक घरमै आउनुहुन्छ ।’ बिहानदेखि बेलुकासम्मको क्रियाकलापको कार्यतालिका बनाएर पढ्ने गरेका छन् । ‘बिहान उठेदेखि पढ्ने, नास्ता खाने अनि खेल्ने समय छुट्याएका छौ’ जेनिसाले भनिन्, ‘हामी कार्यतालिका अनुसार नै काम गरेका छौ ।’ पढाइलेखाईसँगै आमालाई भान्साको काममा सहयोग गर्ने गरेको उनले बताइन् ।

कोरोना संक्रमणको कारण भएको लकडाउनका कारण अहिलेसम्म सबै विद्यालयहरु बन्द छन् । तर, दैलेखको गुराँसे गाउँपालिका स्थित वडा नम्वर चारमा भने पढाई निरन्तर भइरहेको छ । वडा नम्वर चारमा स्थित नेपाल राष्टिय आधारभूत विद्यालय अहिले क्वारेन्टाइन्को रुपमा प्रयोग भइरहेको छ तर,सोही विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि भने घरकै एउटा कुनामा सुरक्षित रुपमा पढाउने व्यवस्था गरिएको छ ।

उनीहरुलाई घरमा रहेका अभिभावक मध्ये पढेलेखेका अभिभावकले पढाईमा सहयोग गर्छन् भने शिक्षकहरु पढाउन हप्ताको तीन दिन घरमै पुग्छन् । घरमा पढेलेखेका अभिभावक नभएमा शिक्षकले नै उनीहरुलाई पढाईमा सहयोग गर्दै आएका छन् ।
लकडाउनका कारण लामो समय सम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरु पढाईमा निरन्तरता ल्याउनको लागि गुराँस गाउँपालिकाको वडा नम्वर चारमा ‘पढाई कुना’ कार्यक्रम सञ्चालन गरिएको छ । जसअन्तरगत घरको कोठाको एउटा कुनामा विभिन्न शैक्षिक सामग्रीसहित विद्यार्थीहरु बसेर पढ्छन् । उनीहरु अभिभावक र शिक्षकको सहयोगमा कार्यतालिका बनाउँछन् र सोही अनुसार पढाईलेखाईको काम गर्छन् । विभिन्न शैक्षिक सामग्रीहरु पनि बनाउँछन् र त्यही कुनामा राख्छन् त्यसैले उनीहरुले त्यसको नामाकरण गरका छन् ‘पढाई कुना’
गुरासँ गाउँपालिकाको वडा चारमा ५६ घरधुरी रहेका छन् । जसमा चार वटा टोल रहेका छन् । यस टोलमध्ये सबैभन्दा बढी पढेलेखेका अभिभावकहरुलाई गृह शिक्षकको रुपमा चयन गरिएको छ । उनीहरुले बालबालिका हरु लाई कार्यतालिका बमोजिम सिकाईमा सहयोग गर्ने गरेका छन् ।

उक्त वडामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेकको) साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहकार्यमा ‘पढाई कुना’ स्थापना गरेर घरमै विद्यालय सञ्चालन गरिएको छ ।
परियोजनाका फिल्ड अधिकृत लक्ष्मी चलाउनेले कोरोनाको संक्रमणको कारण विद्यार्थीहरु स्कुल जान नपाईरहेको अवस्थामा गाउँपालिकाको वडा–४ का चिसापानी, रिट्ठा, घोडाबास टोलहरुमा घरमै विद्यालय सञ्चालन गरिएको बताइन् । इन्टरनेटको पहुँच नभएका गाउँवस्तीमा अनलाइन कक्षा सम्भव नहुने हुँदा यो कार्यक्रम प्रभावकारी बनेको उनले बताइन् । ‘शहर बजारमा बालवालिकाहरु अनलाइन कक्षाहरु पढिरहेका छन् तर, गाउँवस्तीमा त्यो सम्भव छैन’ उनी भन्छिन्,‘लकडाउनको समयमा गोठालो जाने यहाँका बालवालिका सिकाइकुना कार्यक्रम संचालन पछि पढ्न थालेका छन् ।’

उक्त वडामा रहेको बाल कल्याण नमुना प्रावीका शिक्षकहरुले पालैपालो घर–घरमा पुगेर बालबालिकाहरुलाई पढाईमा सहजिकरण गर्दै आएका छन् । लामो समय बिद्यालय बन्द भएका कारण बालबालिका को पढ्ने बानी हराइसकेको अवस्थामा अहिले बालबालिकाको पढ्ने बानिको विकास भएको अभिभावक चन्द्रा शाहीले बताइन् । ‘यस्तो माहामारीको बेलामा छोराछोरीलाई घरमै बसालेर सुरक्षित तरीकाले पढाउने व्यवस्था भएकोमा खुसी लागेको छ’ उनी भन्छिन्, ‘कहिलेकाही विद्यालयका शिक्षकहरु आएर पनि सिकायर जानुहुन्छ त्यसैले छोराछोरीको पढाईको चिन्ता हटेको छ ।’ विद्यालय बन्द भएका कारण फुर्सदमा छोराछोरीहरु डुल्न जाने र कोरोना सर्ने डर भएको उनी बताउँछिन् । पढाई कुना कार्यक्रम सञ्चालन भएपछि छोराछोरीहरु अनुशासित भएको उनले बताइन् । ‘मैले छोराछोरीहरु लाई घरमै खेल खेलाउने, कथाहरु सुनाउने, चित्र बनाउन लगाउने गरेकी छु । यसले गर्दा उनिहरु रमाउँदै पढाईमा ध्यान दिने गर्छन ।’

प्रत्येक टोलमा एक जना शिक्षक खटाएको बाल कल्याण प्राथमिक विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर विसीले बताए । ‘हामीले शिक्षकहरुलाई टोलको जिम्मा दिएका छौ’ प्रध्यानाध्यापक बिसीले भने ‘सबै शिक्षकहरुले आफुले जिम्मा पाएको टोलका घरघरमा पुगेर दुरी कायम गर्दै बालबालिकालाई पढाई र सिकाईमा सहजिकरण गरिरहनुभएको छ ।’ लकडाउनले विद्यालय बन्द भएपछि बालबालिकाहरुमा पढ्ने बानी हराउने, पढाई बिग्रने चिन्ता लिईरहेका अभिभावकहरु अहिले खुसी भएको उनको भनाई छ । यता गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले वडामा सञ्चालन गरिएको कार्यक्रमले बालबालिकाको सिकाईमा राम्रो प्रभाव पारेको बताइन् । ‘कोरोनाको महामारीको समयमा सबै विद्यालय बन्द रहेकाले बालवालिकाहरु पढाईबाट वञ्चित छन्’ विसी भन्छिन्, ‘लकडाउनको समयमा पढाईकुना कार्यक्रमले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पारेको छ ।’ यस कार्यक्रमलाई अन्यत्र पनि विस्तार गर्न सकेमा बालबालिकाको सिकाईमा राम्रो उपलब्धी हुने उनको भनाई थियो । लामो समयको पठनपाठन अवरुद्धले विद्यार्थीमा पढ्ने बानी हराउने भन्दै चिन्तित बनेका अभिभावक घरमै पढाई सञ्चालन भएपछि दंग देखिन्छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लक्ष्मी भण्डारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link