सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ। आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो।
लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ। उक्त निर्देशक समितिको आइतबार बसेको पहिलो बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिनुभयो।
“लगानी सम्मेलनका लागि तयारी थालिएको छ। यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री डा महतले भन्नुभयो।
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ। तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिनुभयो।
यसबीच अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनअघि पर्याप्त तयारी गर्नुपर्ने बताउनुभएको छ।
आगामी वैशाख ९ र १० गते आयोजना हुने लगानी सम्मेलन निर्देशक समितिको अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री महतले विगतका लगानी सम्मेलनभन्दा फरक हुने गरी र बढी लगानीकर्ता आकर्षित गर्न सम्मेलन हुने बताउनुभयो।
“यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौँ। यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौँ,” अर्थमन्त्री महतले भन्नुभयो।
सम्मेलनमा धेरै सङ्ख्यामा सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको पनि उहाँको भनाइ छ। “सरकारले दुईपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ। यसपटकको लगानी सम्मेलनको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई निरन्तर छलफलपछि लगानी स्वीकृतिको चरणसम्म पुर्याउने हो”, अर्थमन्त्री महतले भन्नुभयो।
स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको उहाँको भनाइ छ। “लगानी सम्मेलनका लागि तयारी थालिएको छ। यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री महतले भन्नुभयो।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिनुभयो।
आइतबार बसेको निर्देशक समितिको पहिलो बैठकमा पर्यटनमन्त्री सुदन किरातीले सहज लगानी वातावरण बनाउन विद्यमान ऐन कानुन र काम गर्ने शैली बाधक भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। नेपालमा भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा उहाँले जोड दिनुभयो।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले विगतका लगानी सम्मेलनको समीक्षा गर्नुपर्ने र त्यसबाट पाठ सिकेर सुधारका प्रयास थालिनुपर्ने बताउनुभयो।
सम्मेलनका लागि तयारी गर्ने समय निकै कम भएकाले अहोरात्र काम गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका परियोजना भएको तर अन्य क्षेत्रमा आयोजनामा अध्ययन कम भएको उहाँको भनाइ छ।
लगानीकर्तालाई सरकारले दिने सुविधाबारे बढी तयारी गर्नुपर्ने वाणिज्य सचिव नारायण दुवाडीले बताउनुभयो। उहाँले ऐनले दिएको सुविधाले पूर्ण विश्वास आर्जन गर्न नसकेको भन्दै लगानीकर्तालाई विश्वस्त पार्न अनुसन्धानमूलक हिसाबले आयोजनाको अध्ययन गर्न जोड दिनुभयो।
लगानी बोर्डका पूर्वअध्यक्ष राधेश पन्तले सम्मेलन नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले ‘हेजिङ’ नियमावली कार्यान्वयन जानुपर्ने, नेपालको सार्वभौम साख मूल्याङ्कन ‘सभरेन कन्ट्री रेटिङ’ गर्नेमा जोड दिनुभयो। लगानी बोर्डलाई बलियो बनाउन र पर्याप्त कर्मचारीको व्यवस्था गर्न उहाँले जोड दिनुभयो। आयोजना दिगो बनाउन सकियो भने बोर्ड आफ्नै स्रोतले धानिने उहाँको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलन गर्नुभन्दा अगाडि पहिला अरू साना सम्मेलन गरेर लगानीकर्तालाई आयोजनाबारे विस्तृतमा बुझाउन आवश्यक भएको बताउनुभयो। उहाँले नेपालमा दुई पक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता ‘बिप्पा’बारे विदेशी लगानीकर्ताको चासो रहेको र खाडी क्षेत्रलाई प्राथमिकतामा नराखेकाले त्यसतर्फ बढी केन्द्रित गर्न आग्रह गर्नुभयो।
नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचा पूरा नभएको बताउनुभयो। लगानीकर्ता नेपालभन्दा अन्य बजारतिर गएका बताउँदै उहाँले सम्मेलनअगाडि नै संरचनागत सुधार गर्नुपर्नेमा जोड दिनुभयो। सम्मेलन तयारीका लागि चार महिना छोटो समय भएको भन्दै उहाँले भन्नुभयो, “सरकारले गर्ने समन्वय लगानी बोर्डमार्फत होस्। व्यावसायिक एवं दक्ष परामर्शदाता राखेर विश्वव्यापी मान्यता पाउने प्रतिवेदन तयार गरौँ।”
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले लगानी सम्मेलनका लागि प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेगरी आयोजना छनोट हुनुपर्नेमा जोड दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान