बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ। विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो।
विगतमा सङ्घीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ। कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ। जसअनुसार प्रदेश सरकारले हेटौँडा अस्पतालमा थप दुई सय श्यया थप्न लागेको हो।
हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० श्ययामा ४० थपगरेर सय पुर्याउने र प्रदेश सरकारले थपेको दुई सय श्यया गरी कुल तीन सय श्ययाको क्षमतामा अस्पताल सञ्चालन हुने समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो। हेटौँडा अस्पताल तीन सय श्ययामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ। विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी थप गरेपछि सेवामा पनि विस्तार गर्न सकिने उहाँले बताउनुभयो। तीन सय श्यया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मिर्गौलासम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उहाँले बताउनुभयो। अस्पताल स्तरवृद्धि भएसँगै प्रतिष्ठानलाई एमबिबीएस र एमबी अध्यापनको लागि बाटो पनि खुलेको छ।
अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ श्ययाको आइसियु र एचडियु सञ्चालन गरिएको छ। विगतमा सातवटा श्ययाबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ श्यया रहेको सदस्य चौलागाईंले जानकारी दिनुभयो। अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुँदैछ। एनआइसियु सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो। विगतमा एउटा शल्यक्रिया कक्षबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म शल्यक्रिया कक्ष सञ्चालन हुनेछ।
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ। प्रदेश सरकारको रु पाँच करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो। हाल अस्पतालमा चिकित्सक करिब ६६ सहित कुल कर्मचारी दुई सय ९१ जना रहेका छन्। तीन सय श्ययामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यकता पर्ने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन
- गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि
- हमासद्वारा रिहा गर्ने भनिएको बन्दीहरुमा केहिको मृत्यु भईसकेको तथ्य बाहिर
- लेबनानमा इजरायली आक्रमणमा एक जनाको मृत्यु, ७ घाइते
- यस्तो छ संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक
- रुखमा बसेका चमेरा
- काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
- ल्हुरी गाउँ
- ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’
- पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर