नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिनुभएको छ।
कृषि विकास बैंकको ७ माघमा आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिनुभयो।
“कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ। कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ। यसका लागि बैंकले काम गर्न सक्छ”, गभर्नर अधिकारीले भन्नुभयो। उहाँले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने बताउनुभयो। “आफूलाई नेपाली जनताको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधिकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो।
त्यस अवसरमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले कृषि विकास बैंकले दिगो बैंकिङको अभ्यास गरिरहेको भन्दै बैंकले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले निजी क्षेत्रलाई अगाडि बढाउन सरकारसँगै बैंकिङ प्रणाली पनि तयार रहेको उहाँको भनाइ छ।
बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले विश्व र देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा समेत बैंकले कारोबार बिस्तार गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले बैकिङ क्षेत्रमा आउन सक्ने प्रणालीगत जोखिमलाई समेत कुशलतापूर्वक व्यवस्थापन गर्न बैंक सक्षम रहेको उल्लेख गर्नुभयो। उहाँले गरिबी निवारण, साना किसान विकास कार्यक्रम, ग्रामीण र कृषि क्षेत्रको विकास, दुर्गम विपन्न वर्गलाई लघुवित्त सेवा प्रदानलगायतमा विशेष भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो।
विक्रम संवत् २०४१ सालमा स्थापना भएको यस बैंकले वित्तीय सेवा, कृषक, उद्यमीलाई ऋण प्रवाह गर्दै आएको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर गरी १३ प्रतिशत लाभांश दिएको छ। वार्षिकोत्सवकै अवसरमा बैंकले ओभरड्राफट डेविट कार्ड र कल सेन्टरको सुरुआत गरेको छ।
बैंकको गत आवको सञ्चालन नाफा रु चार अर्ब ८२ करोड ७१ लाख २० हजार थियो। बैंकले सो आवमा रु एक खर्ब ९९ अर्ब ६६ करोड २० लाख ३० हजार निक्षेप र रु एक खर्ब ८२ अर्ब ८१ करोड ५० लाख ७० हजार कर्जा प्रवाह गरेको छ। बैंकको गत आवमा खराब कर्जा दुई दशमलव ७८ प्रतिशत थियो। बैंकको जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड छ लाख २७ हजार छ। बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
