म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।
स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताउनुभयो। “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ। अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो। अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भन्नुभयो।
गाउँमा छरिएका मदिराका बोतल र सुर्तीजन्य पदार्थका खाली प्याकेटलाई जम्मा गरी व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो। आयातित मदिरा सेवनका कारण गाउँको पुँजी बाहिरिएको र युवा कुलतमा फस्दै जान थालेकाले आयातित मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरिएको स्थानीय देवी पुनले बताउनुभयो।
बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा स्थानीयले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो। विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने खतरा बढ्नाका साथै धनराशिसमेत मासिने गरेकामा आमा समूहको अगुवाइमा गरिएको यो निर्णयलाई आफूले पनि सघाउने उहाँले बताउनुभयो।
त्यसैगरी, रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा पनि आयातित मदिरालाई निषेध गरिएको छ। सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरिएपछि गाउँमा सकारात्मक परिवर्तनहरु देखिएका रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो। “गाउँमा कमसल स्तरका आयातित मदिरा सेवनका कारण धेरै जना बिरामी परे, राम्रो गुणस्तरका मदिरा महङ्गो हुने भएकाले धेरै रकम गाउँबाट बाहिरियो। यसलाई रोक्न गाउँमा सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरेपछि यसले धेरै सकारात्मक प्रभाव पारेको छ,” वडाअध्यक्ष शेरपुञ्जाले भन्नुभयो।
वडाअध्यक्ष शेरपुञ्जाका अनुसार विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन्।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पनि आयातित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। मदिरा सेवन गर्नेहरुलाई गाउँमा नै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको स्थानीय तिलक सिउथानीले बताउनुभयो।
विवाह, व्रतबन्धलगायतका अवसरमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने उहाँले बताउनुभयो।
स्थानीय रक्सीको ‘ब्रान्डिङ’
गण्डकी प्रदेश सरकारले स्थानीय मदिरा, गाँजा र खानी उत्खननलाई वैधानिकता दिने तयारीमा जुटेको छ। यही हिउँदे अधिवेशनमा खानी, गाँजा र स्थानीय रक्सीलाई वैधानिकता दिने विधेयक पारित प्रस्तुत गर्ने गरी तयारी भएको गण्डकी प्रदेशका न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जनाउनुभएको छ।
यी तीन वटा विधेयक पारित भए म्याग्दीमा रहेका तामा, ढुङ्गा, सिसा खानीका साथै घरेलु मदिरा र प्राकृतिक रुपमा उम्रिएका गाँजाको समेत सदुपयोग हुने उहाँले बताउनुभएको छ। गाँजाको बिक्री केवल औषधि र उद्योगमा कच्चापदार्थका रुपमा उपयोग गर्नेगरी कानुन निर्माण गरेर गाँजालाई वैधानिक बनाउने प्रदेश सरकारको योजना छ।
स्थानीय रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने र वैधानिक बनाउने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
- अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित