उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन्।
पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौं आक्रमण भइसकेका छन्।
“चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए। खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले भन्नुभयो, “साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन्।”
उहाँले डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएको जानकारी दिनुभयो।
खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षौंदेखि पाकिस्तानी तालिवान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्षित गर्नेगरेका छन्।
गण्डापुरको स्थानीय प्रशासनले एएफपीलाई बताएअनुसार आक्रमणकारीहरूले सोमबार बिहान आक्रमणको क्रममा केही समयका लागि प्रहरी चौकीलाई नियन्त्रणमा लिएका थिए।
गत हप्ता पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा रहेको एक सरकारी भवन परिसरमा बलोच पृथकतावादी समूहले लुकीछिपी आक्रमण गरेपछि भएको घटनामा २४ जना लडाकू मारिएको सेनाले जनाएको थियो।
आक्रमण र त्यसपछिको खोजी कारबाहीमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारणको मृत्यु भएको थियो। प्रतिबन्धित बलोच पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ।
पाकिस्तानको निर्वाचन आयोगले गत हप्ता खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतदान हुने बताएको थियो। हिंसा भड्किएपछि सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरी निर्वाचन कार्यक्रम यथावत रहने बताएको थियो।
मतदाताको सुरक्षाका लागि देशभर हजारौं सुरक्षाकर्मी परिचालन गरिने सरकारले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
