मीनबहादुरको मौरीपालन व्यवसाय: सत्र जनालाई रोजगारी, बर्सेनि करोडौँको कारोबार

सुन्दरबजार नगरपालिका वडा नं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार जानुभयो । त्यहाँ एक महिना काम गर्नुभएका उहाँले मासिक तलब नेपाली रु १७ हजार जति पाउनुभयो ।

यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किनुभयो । विदेश जाँदा लागेको रु एक लाख ५० हजार ऋण पनि तिर्न बाँकी नै थियो ।

स्वदेश फर्कनासाथ उहाँले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आउनुभयो । अलिअलि रकम जम्मा गर्दै रु तीन हजार पाँच सयले सुरुमा एक घार मौरीसहितको घार खरिद गर्नुभयो । त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाउनुभयो ।

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थाल्नुभएका व्यवसायी गुरुङले विसं २०६९ मा युवा लक्षित कार्यक्रमबाट रु ४० हजार अनुदान प्राप्त भएपछि सो रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिनुभयो ।

विसं २०७३ मा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गर्नुभएका उहाँले मौरीपालनमात्र नभई मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाल्नुभयो ।

सत्र जनालाई रोजगारसमेत दिलाउनुभएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताउनुभयो । उहाँका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर बर्सेनि रु तीन करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

आठ–नौ वर्षदेखि सबै खर्च कटाएर रु २५ लाखदेखि रु ३६ लाखसम्म मुनाफा हुँदै आएको छ । प्रतिकिलो रु एघार सयमा मह बिक्री गर्दा गत वर्ष रु तीन करोड ७६ लाखबराबरको कारोबार भएकामा यस वर्ष हालसम्म रु आठ लाख कमाई भइसकेको छ ।

यहाँ उत्पादित मह लमजुङसहित काठमाडौँ, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक विगत पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाइ थियो ।

“मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफैँ पुगेर हेरचाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन् ।

व्यवसायी गुरुङले भन्नुभयो, “पहिला खानालाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ । गरिब भएकै कारण अरुले हेला गर्दर्थे । धेरै दुख कष्ट व्योहोर्नुपर्यो तर अहिले धेरै राम्रो भएको छ । त्यतिबेलाको दुःख भुलेको छु । मौरी व्यवसायबाटै सफलता हुँदा यस पेसाले मेरो भाग्य नै बदलियो ।”

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नंं ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उहाँले जोडिसक्नुभएको छ । गायक पशुपति शर्माले गाउनुभएको गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उहाँले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिनुभयो ।

आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिनुहुने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link