क्यानडाविरूद्ध नेपालको रोमाञ्चक जित, कप्तान रोहितको उत्कृष्ट प्रर्दशन

एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हराएको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। ३३ औं ओभरमा १७४-३ को स्थितिमा रहेको क्यानडाले अन्तिम ४३ रनमा ७ विकेट गुमायो । आजको खेलमा नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । पौडेलले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए ।

यसैगरी ललित राजवंशीले पनि दुई विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिए । निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख देखिएको थियो । तर नेपालका स्पिनरले अन्त्यतिर खेललाई लयमा फर्काउँदै रोमान्चक जित दिलाउन सफल भए ।

सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । क्यानडाका लागि परगत सिंह ५० र निकोलस किर्तनले ६८ रन बनाएका थिए । हर्ष ठाकेरले पनि ३२ रन बनाए । क्यानडाले अतिरिक्त रुपमा १७ रन पाएको थियो ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान गरे । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए । भीम सार्कीले १७ रन बनाए । पवन सर्राफ १५ रनमा आउट भए । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे । सूर्य तामाङ ३२ बलमा १० रन बनाउँदै अविजित रहे । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

यससँगै प्रशिक्षक मोन्टि देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा अपराजित यात्रालाई कायम राखेको छ । नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

यसैबिच नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई नियन्त्रणमा लिएको थियो।

कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो। सोही कारण केहीबेर खेल समेत रोकिएको थियो।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link