महोत्तरीको ओल पुग्यो डडेलधुराः किसान उत्साहित

उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन्। यहाँ उत्पादित ओल (एलिफेन्ट फुट याम) र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो।

भङ्गाहा–४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ। “उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ”, किसान राजकुमार दासले भन्नुभयो, “अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन। संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ।”

तराईको विशेष तरकारी मानिने ओल र बेसार, खोर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान बिक्रीको कुराबाट ढुक्क भएका हुन्।

बर्दिबास–७ का रामउद्गार महतोले भन्नुभयो, “पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौँ।” संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९, तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ।

संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खोर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ। “अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो। अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ”, प्रेमनगरका ओल किसान सुफल महतोले भन्नुभयो।

“हर्दी (बेसार), खोर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन्। यी सबै संस्थाले किन्छ”,  पशुपतिनगरकी पारोवती महतोले भन्नुभयो, “संस्थाले किन्न थालेपछि ढुक्क भएका छौँ। आम्दानी पनि प्रशस्त हुन थालेको छ। रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्वपूर्ण गर्जो टार्न पाइएको छ।”

संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय  उत्पादन किन्न थालेको जनाएको छ। अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो। उहाँका अनुसार गत असोजयतादेखि संस्थाले करिब रु १० लाखभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ।

यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पुर्‍याइएको अध्यक्ष यादवले जानकारी दिनुभयो। “अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौँ।”

संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो।

गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्र महोत्तरीले जनाएको छ। महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
महोत्तरीको ओल पुग्यो डडेलधुराः किसान उत्साहित
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link