सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो।
सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ। बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ।
यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेनामूलक कार्यगर्ने पनि निर्णय गरिएको छ। गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमूना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिनुभयो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताउनुभयो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराउनुभएको थियो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताउनुभयो। यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए। सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ। नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोगको पुष्टि भएको थियो। देशभरका २८ जिल्लामा सङ्क्रमण देखिएपछि जैविक सुरक्षाको विधि अवलम्बनसँगै सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानीका साथै सचेतनाका कार्यक्रम गरिएको थियो।
यो रोगको सङ्क्रमण हुँदा सुँगुर, बङ्गुर तथा बँदेलमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन्छन्। विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिक गरेको डा अवस्थीले जानकारी दिनुभयो।
फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसङ्क्रमणका औषधि प्रयोग निःसङ्क्रमण गर्ने, रोगको शङ्का लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
