जाने होइन त होमस्टेमा रमाउन पसगाउँ?

प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कार र संस्कृतिले सम्पन्न लमजुङ जिल्लाको क्व्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँमा १४औँ पसगाउँ महोत्सव फागुन २० गते सम्पन्न भएको छ।

पसगाउँ सामुदायिक घरबास (होमस्टे) व्यवस्थापन समितिको आयोजना एवं क्व्होलासोँथर गाउँपालिकाको कार्यालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रज्ञा–प्रतिष्ठान, क्व्होलासोँथर गाउँपालिका–६, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङको प्रवर्द्धनमा आयोजित दुईदिने महोत्सवको शनिबार गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो।

अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत लमजुङ हिमालको काखमा समुद्री सतहबाट एक हजार ६ सय ५० मिटरको उचाइमा रहेको रमणीय गाउँको पर्यटकीय विकासलाई लक्षित गरी २०६१ सालदेखि सञ्चालित पसगाउँ सामुदायिक होमस्टेको प्रवर्द्धनको लक्ष्य राख्दै महोत्सव आयोजना गरिएको हो।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाम्रा मनोरम प्राकृतिक सम्पदाका साथै प्राचीन मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि गाउँ पर्यटनको विकास आवश्यक भएको बताउनुभयो। गण्डकी प्रदेशमा तत्कालीन आफू नेतृत्वको सरकारले गाउँ पर्यटनलाई जोड दिँदै गण्डकी प्रदेशमा तीन सयवटा घरबास सञ्चालनमा जोड दिएको उहाँले बताउनुभयो। अर्थतन्त्रलाई गतिशील बनाउन यस किसिमका मेला महोत्सवको विशिष्ट भूमिका हुने उहाँले बताउनुभयो।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले प्रकृति र संस्कृतिमा पसगाउँ सम्पन्न रहेको बताउँदै यसको प्रवर्द्धन र विकास आवश्यक हुने उल्लेख गर्नुभयो। लोप हुँदै गएका प्राचीन संस्कृतिको जगेर्ना गर्दै पर्यटनसँग जोड्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो। क्व्होलासोँथर गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्य गुरुङले होमस्टेलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको बताउनुभयो। प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिलाई जगेर्ना गरी स्थानीय उत्पादनमा जोड दिनु आफूहरूको उद्देश्य भएको उहाँले बताउनुभयो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोख्रेलले मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको बताउँदै पहिचानलाई जोगाउँदै त्यसलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले होमस्टेलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्न सकिने धारणा राख्नुभयो।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोँथर गाउँपालिका–५ का वडाअध्यक्ष गीतबहादुर गुरुङ, पसगाउँ सामदायिक होमस्टेका उपाध्यक्ष पदमबहादुर गुरुङ, एक्याप भुजुङका प्रमुख आनन्द सुवेदी, गङ्गाराम गुरुङलगायतले पसगाउँको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link