उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। सर्लाही जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो।
मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताउनुभयो। “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उहाँले भन्नुभयो, “अहिले सबै लगानी डुब्यो।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ।
यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन्। प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गर्नुभयो। उहाँले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताउनुभयो। उहाँका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन।
महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन्। र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ। मकैमा दाना नलागे पछि आफूहरु सङ्कटमा परेको उहाँले गुनासो गर्नुभयो।
उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ।
उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन्। मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिनुभयो।
बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ। नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गर्नुभयो। मकैको परागसेचनको समयमा धेरै चिसो भएको उहाँले दाबी छ। “किसानले मकै रोप्न हतार गर्नुभयो”, उहाँले भन्नुभयो, “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो।” मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उहाँको दाबी छ। दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उहाँले बताउनुभयो। किसानलाई कसरी राहत पुर्याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उहाँले बताउनुभयो। नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ।
किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिनुभयो। अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।
जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
