आँखा चिकित्सक डा किरण शाक्य र डा इन्दुप्रसाद ढुङ्गेल पुरस्कृत

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ। अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो।

अस्पतालको ५०औँ वार्षिकोत्सवका अवसरमा करिब एक हजार नौ सय २९ बिरामीको सफल शल्यक्रिया गर्ने डा किरण शाक्य र बहिरङ्ग सेवामार्फत करिब १६ हजार बिरामीको स्वास्थ्य परीक्षण गर्ने डा इन्दुप्रसाद ढुङ्गेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

विसं २०३० चैत २६ गते स्थापित अस्पतालले हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखा परीक्षण र एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो।

गत वर्ष सन् २०२३ मा एक लाख ५४ हजार चार सय ८० बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करिब ११ हजारको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो। उक्त अस्पतालले सो अवधिमा एक सय वर्षमाथिका १५ जनालाई आँखा उपचार सेवा पुर्‍याइएको अध्यक्ष डा पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सेवा लिनेमध्ये दुई जनाको शल्यक्रिया गरिएको थियो।

उपचारमा आउने समग्रमध्ये ५२ प्रतिशत महिला छन् भने मोतियाबिन्दुका उपचार गर्न आउनमा महिलाको सङ्ख्या ५५ प्रतिशत छ। साथै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या तुलनात्मकरुपमा धेरै रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सयसम्म बिरामीले सेवा लिइरहेका छन्।

अस्पतालले आगामी चार वर्षभित्रमा वार्षिकरुपमा दुई लाख ५० हजार बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यहाँ सेवा लिन आउनेमध्ये ९० प्रतिशत बिरामीलाई एकघण्टाभित्र उपचार सेवा उपलब्ध गराउँदै आइएको अध्यक्ष पोलरेलले बताउनुभयो।

उक्त अस्पतालमा उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै काठमाडौँका ६२ प्रतिशत छन् भने अरु क्रमशः ललितपुर, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, दोलखासहित छिमेकी मुलुक भारतसम्मका छन्। अरु महिनाको तुलनामा वार्षिकरुपमा साउनमा उपचार गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक छ। अस्पतालले गत वर्ष मुलुकका विभिन्न स्थानमा १३ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालित गरी बिरामीलाई सेवा पुर्‍याएको थियो।

नेपाल आँखा अस्पताले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र वृद्धाश्रममा पनि उपचार सेवा पुर्‍याउन महानगरसँग सहयकार्यका लागि प्रयास गरिरहेको छ। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको अस्पतालले आँखाका बिरामी मात्र नभई विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको स्वास्थ्यसम्बन्धी दीगो लक्ष्यप्राप्तिमा समेत योगदान दिँदै आएको छ। अस्पताले वार्षिकोत्सवका अवसरमा २५ वर्षसम्म निरन्तर सेवा दिनुहुने पर्शुराम हुमागाईं र दानबहादुर महतोलाई दीर्घसेवा पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले नेपालको स्वास्थ्य सेवाभित्र आँखा अस्पतालमार्फत दीगो लक्ष्य प्राप्तिका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभयो।

अस्पतालले मासिकरुपमा समग्र बिरामीको स्वास्थ्य परीक्षण, शल्यक्रिया र बहिरङ्ग सेवाका सम्बन्धमा गहन छलफल र मूल्याङ्कन गरी सेवालाई गुणस्तरीय, सहज र सरल बनाउने अभ्यास गरिरहेको पनि उहाँले बताउनुभयो। नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो।

अस्पतालमा कर्निया, मोतियबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवासमेत उपलब्ध छन्। आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ।

 प्रा डा पन्त पुनः अध्यक्ष

नेपाल नेत्रज्योति सङ्घको अध्यक्ष पदमा प्रा डा चेतराज पन्त पुनः निर्वाचित हुनुभएको छ। भरतपुरको चितवनमा हालै सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले उहाँलाई दोस्रो कार्यकालका चयन गरेको हो।

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आतिथ्यतामा यही चैत्र २३ र २४ गते सम्पन्न अधिवेशनले प्राडा पन्तको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ। सङ्घको विधानबमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये एक जना अध्यक्ष, १२ जना खुला सदस्य र दुई जना महिला सदस्य गरी १५ सदस्य अधिवेशनमार्फत निर्विरोध निर्वाचित हुनुभएको हो।

त्यस्तै सदस्य पदमा कृष्णकुमार गिरी, चिजकुमार मास्के, दिव्यप्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्मनारायण चौधरी, विष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरतबहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, मन्जु कँडेल र प्रा डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचित सदस्यमध्ये बाट नै पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशनलगत्तै बसेको केन्द्रीय समिति बैठकले सङ्घको वरिष्ठ उपाध्यक्षमा पोखरेल, महासचिवमा चन्द र कोषाध्यक्षमा मास्केलाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै सङ्घका सातवटै प्रदेशका प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा चयन हुनुभएको छ भने बाँकी सदस्य केन्द्रीय समितीले मनोनीत गर्ने सङ्घले जनाएको छ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन्। स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link