सर्वोच्च शिखर सगरमाथालगायत हिमालको फोहर सङकलनार्थ खटिने नेपाली सेनाको टोलीलाई ब्यानर हस्तान्तरण गरिएको छ। नेपाली सेनाद्वारा चैत २९ गते आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान–२०२४’ का टोली संयोजक सेनानी आदित्य कार्कीलाई नेपालको राष्ट्रिय झण्डासहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गरिने छ। उक्त अभियानमा सेनाका तालिम प्राप्त १० जना र १८ शेर्पा सहयोगीले फोहर सङकलन गर्नेछन्। ‘सफा हिमाल अभियान–२०२४’ मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शव तथा १० टन फोहर सङ्कलन गरिने नेपाली सेनाले जनाएको छ।
सफा हिमाल अभियान टोली आगामी वैशाख २ गते सगरमाथातर्फ प्रस्थान गर्ने र ५० दिनसम्म अभियान सञ्चालन हुने सेनाले जनाएको छ। सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर सङ्कलन गर्ने योजना छ। सो अवसरमा प्रधानसेनापति शर्माले पर्वतीय पर्यावरण सुरक्षा एक सार्वजनिक महत्वको विषय भएकाले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने बताउनुभयो।
पर्यावरण सुरक्षामा करिब पाँच दशकको सक्रिय सहभागिता एवं सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभव र यस वर्षको विस्तृत तथा व्यवहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्ने प्रधानसेनापति शर्माले विश्वास व्यक्त गर्नुभयो। यस अभियानको सफलता फोहर सङ्कलनको मात्राले मात्र नभइ अभियानमार्फत प्रसारित हुने सचेतना र त्यसले ल्याउने वृहत सहभागिताले निर्धारण हुने उहाँले बताउनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले नेपाललाई विश्वसामु पहिचान गराउने हिमालको संरक्षण र सफाइ अभियानमा नेपाली सेनाले सञ्चालन गरेको अभियान महत्वपूर्ण रहेको भन्दै यसलाई दीर्घकालीन बनाउन नीतिगत रुपमै अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो।
सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले पर्यटनको प्रमुख आधार रहेको नेपालका सुन्दर हिमालमा मानवीय कारण फोहर हुने क्रम रहिरहेको र यसले हिमाली क्षेत्रको जैविकि विविधतामा असर परिरहेको तथ्य विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो। नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सफा हिमाल अभियान सञ्चालन भइरहेको छ। नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सञ्चालन गर्दै आएको छ।
सगरमाथाको आठ हजार मिटर उचाइँसम्म पुगेर फोहर सङ्कलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीले बताउनुभयो। अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ। सङ्कलित फोहरमध्ये सड्ने फोहर स्थानीय निकायलाई र नसड्ने फोहर ‘रिसाइकल’ गर्ने संस्थालाई व्यवस्थापनका लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ। अभियानले विश्वव्यापी चुनैतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास सेनाले लिएको छ।
सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङह्लामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालय उद्धार सङ्घ, एभरेष्ट लिङ्क, एक्सिपीडिसन अपरेटर एशोसिएशन आदी सङ्घ संस्थाको प्राविधिक सहयोग रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय
- नाम्दो गाउँ
- जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित