दुधको पैसा नपाएपछि आन्दोलनको तयारीमा किसान

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ। सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ।

गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो।

सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नुपर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। उहाँले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो।

अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेठलाई गराइएको बताउनुभयो। मन्त्री श्रेष्ठ यसै क्षेत्रबाट चुनाव जित्नुभएकाले समस्या समाधानमा लागिदिन आग्रह गरिएको उहाँको भनाइ छ।

धुलो दूधको परीक्षण उत्पादन

यसबीच बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ। बागमती प्रदेश सरकारको रू ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ।

प्रदेश दूध विकास बोर्डले नियमित दूध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानहरूबाट दैनिक ६० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा मन्दीप पोखरेलले बताउनुभयो। उहाँका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध र बटरको उत्पादन गर्ने गरिएको छ।

दूध प्लान्टलाई केही हप्ताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र उक्त प्लान्टबाट उत्पादन गरिएका धुलो दूध र बटर विदेश तथा स्वदेशका विभिन्न सहरमा आपूर्ति गरिने प्रवक्ता डा पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार योसँगै बोर्डले दैनिक करिब छ सय मेट्रिक टन धुलो दूध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ।

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दूध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उहाँको भनाइ छ। साथै अहिले उत्पादित धुलो दूध र बटरलाई बजारको व्यवस्थापन गर्नसमेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताउनुभयो। उहाँले अब केही हप्ताभित्रै नियमित धुलो दूध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दूध र बटर काठमाडौँ, भरतपुर, पोखरा, भैरहवा तथा विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिनुभयो।

हेटौँडामा सञ्चालित दूध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link