इलाममा यस्तो गाउँ छ, जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिँडी, खैनी र मदिराको सेवन निषेध छ ।
यो स्थानीय सरकारले बनाएको कानून भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । ‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानून् तर गाउँमा भने चल्दैन,’ स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।
माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।
करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरूले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ ।
गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताए । उनका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ ।
किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ ।
किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ ।
माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरूको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो ।
धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।
गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरूको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्ष्मण राई (जनम)ले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
