स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ।
बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन्। तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्रबैंकको नियम छ। जसका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।
नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारको गलत नीतिले भारतीय पर्यटकले खुलेर खर्च गर्ने वातावरण नबनेको गुनासो गर्नुभयो। “हामी नेपालमा पर्यटक भित्र्याउने भनिरहेका छौँ। तर भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा धेरै रकम बोक्न नपाइने नियमले पयर्टन क्षेत्रको विकासमा अवरोध पुगेको छ”, उहाँले भन्नुभयो, “सरकारले तत्काल यो नियम पुनःविचार गर्नुपर्छ ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले यो प्रावधान खुकुलो बनाउनुपर्ने बताउनुभयो। “पक्कै भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले केही जटिलता छ।” उहाँले भन्नुभयो, “पैसा ल्याउन पाउने सीमा बढाएर अन्तरदेशीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ।”
उहाँले बारा र पर्सामा औद्योगिक, धार्मिक र शैक्षिक पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो। “बारा/पर्सा जिल्लामा विदेशी उत्पादन कम्पनीका सप्लायर्सको बाक्लो उपस्थिति छ। त्यसलाई हामीले औद्योगिक पर्यटनका रुपमा विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले यहाँ शैक्षिक र धार्मिक पर्यटनको समेत विकास गर्नुपर्छ।”
अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालमा हवाईमार्गबाट १० लाख १४ हजार आठ सय ८६ पर्यटक नेपाल आएका थिए। घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना आएका थिए।
सन् २०२४ को मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका छन्। ती मध्ये भारतीय पर्यटकको सङ्ख्या ३० हजार छ सय ९८ रहेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकको सङ्ख्या ठूलो भएपनि तथ्याङ्क राख्ने गरिएको छैन।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने बिहीबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा पर्यटकलाई ठाउँठाउँमा चेकिङका नाममा दुव्र्यवहार नगर्न निर्देशन दिनुभयो। “पर्यटकलाई एक ठाउँमा सुरक्षित ढङ्गले जाँच गर्नुस। त्यसपछि पर्यटकलाई निर्वाधरुपमा आफ्नो क्रियाकलाप गर्ने वातावरण सिर्जना गरिदिनुस्”, उहाँले भन्नुभयो, “पर्यटकलाई गल्ली पिच्छे, मोडपिच्छे र होटल पिच्छे जाँच गरेर दुख नदिनुस, त्यसो गर्नु भनेको दुर्व्यवहार गर्नु हो।”
गृहमन्त्री लामिछानेले भारतीय पर्यटकले भारु २५ हजार ल्याउन पाउने विषयमा सरकारले कूटनीतिक ढङ्गबाट आवश्यक समन्वय गर्ने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय
- नाम्दो गाउँ
- जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित