हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो।
निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्र्याप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो।
पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिनुभयो।
सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ रहेको छ।
डिभिजन वन अधिकृत रावतका अनुसार तीनवटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो। डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताले हिउँ चितुवाको सङ्ख्या गणना गरेका थिए। गणनाका लागि वन क्षेत्रका ६६ स्थानमा क्यामेरा जडान गरिएको थियो।
विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो।
चार वर्षअघि क्यामेरा ट्र्याप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमा ९० वटा फेला परेको थियो।
प्राप्त तथ्याङ्कअनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २ दशमलव २ रहेको छ। “निकुञ्ज र वन क्षेत्र गरेर कूल सङ्ख्या एक सय २० पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीका लागि खुसीको कुरा हो,” प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, “हिउँ चितुवाका लागि आवश्यक आहार मानिने नावरको सङ्ख्या वृद्धि हुनाले पनि सङ्ख्या बढेको हुनसक्छ।”
मानव वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढङ्गबाट लागू गर्नुपर्ने उहाँको भनाइ छ। हिउँ चितुवाको सङ्ख्या वृद्धि हुनुले पर्यापर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने बताइएको छ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा वन तथा भूसंरक्षण विभाग र विश्व वन्यजन्तु कोषका प्रतिनिधि, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मीको भौतिक तथा भर्चुअल उपस्थितिमा हिउँ चितुवाको तथ्याङ्क सार्वजनिक गरिएको हो।
हिउँ चितुवा गणनाका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको सर्वेक्षणमा ४८ लाख खर्च भएको विश्व वन्यजन्तु कोषका प्रतिनिधि चन्द्रजङ्ग हमालले बताउनुभयो। दुवै निकायले गरेको सर्वेक्षणको प्राविधिक तथा आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले गरेको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
