उफ गर्मी!

गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।  नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो।

‘‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे। तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन्।’’

नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहले विगत १५ मा समग्रमा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा भने धेरै घटबढ नभएको जानकारी दिनुभयो।

‘‘हामीले आज अस्पतालमा भर्ना भएका बिरामीको १५ दिने तथ्याङ्कको विषयमा समीक्षा गरेका थियौँ। समग्रमा बिरामी भर्ना हुने अवस्थामा खासै फेरबदल भएको देखिएको छैन।’’ आज सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ। न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ।

अन्य तराई/मधेसका जिल्ला मुलुककै सबैभन्दा ठूलो औद्योगिक नगरी पर्सामा  जनजीवन प्रभावित हुँदै आइरहेको छ। दिनको समयमा अत्यावश्यक काम परे मात्रै सर्वसाधारण बाहिर निस्कने गरेका छन्। अन्य दिनको तुलनामा सरकारी कार्यालयमा पनि सर्वसाधारणको भीड न्यून हुँदै आइरहेको छ। वीरगञ्जमा कपडा पसल गर्दै आइरहेका अनिल गुप्ता चर्को गर्मी बढेसँगै सर्वसाधारण किनमेलको लागि निकै कम मात्रै आउने गरेको बताउनुभयो।

‘‘अहिले दिनको समयमा त अत्यावश्यक समान किनमेल गर्ने मात्रै आउने गर्छन,’’ उहाँले भन्नुभयो, ‘‘बिहान र  बेलुकीपख मात्रै पसलहरूमा भीडभाड लाग्ने गर्छ।’’

यसबीच जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ। विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन एक विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ।

“ती भूभागमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link