कञ्चनपुर, महेन्द्रनगरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ। ४४ पाटे बाघ, २३ गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृतिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया रहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृतिम पोखरी रहेको बताउनुभयो। “गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृतिम पोखरीले निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “अहिले त पानीको मुहान/पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन्।”
शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन्। “यस वर्ष पोखरीको मर्मत/सम्भारका लागि बजेट आउँदा छ/सात सरसफाइ एवं मर्मत गरियो।” उहाँले भन्नुभयो, “कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ।”
सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ। यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ।
“पानीका लागि अझै पोखरी थप्ने पाए हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त बाघ देखिने क्रम पनि बढेको छ।” ताल उत्खनन र पुर्नभरण, पर्यावरण प्रर्वद्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकारका राखिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ। तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्गकिलोमिटरको विशाल घाँसे मैदान छ।
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पोखरी
यसैगरी म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन्। मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो।
सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो। वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ”, अधिकारीले भन्नुभयो।
उहाँका अनुसार बेनी नगरपालिका–५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका–२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका–१ को कल्लेरी, वडा नं७ को रानीवन, मंगला–२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका–२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन्। ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ।
डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी रु एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो। यसअघि आव २०७८/७९ मा १० र २०७९/८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उहाँले जानकारी दिनुभयो।
दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो।
जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुर्याउन थालेका छन्। यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गर्दछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलवायु परिवर्तन प्रभावको असर: विदेशी पर्यटक चराको सङ्ख्यामा कमी
- अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने
- निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण भएपछि…
- रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान
- इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
- स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
- अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न
- दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै