प्राथमिकतामा बिजुली

वैशाख १६ देखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बन्नुभएको छ। पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उहाँहरू थप उत्साहित बन्नुभएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताउनुभएको थियो।  उहाँले भन्नुभयो, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको  उल्लेख गर्नुहुँदै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मा निर्माण चरणमा रहेका जानकारी दिनुभएको थियो।

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने उहाँको भनाइ छ। यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिनुभएको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरूमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताउनुभयो। “उद्घाटन समारोहमा नै प्रधानमन्त्रीज्यूले नै जलविद्युत्‌मा लगानीको सम्भावनाबारे स्पष्ट पारिसक्नुभएको छ, यसले पनि लगानी सम्मेलनमा जलविद्युत्को आयोजनाहरूलाई प्रथामिकता दिइएको स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो, “जलविद्युत् आयोजनाहरूलाई आवश्यक लगानी जुटाउन सम्मेलनले सहयोग पुग्ने छ तर सरकारले लगानीमैत्री वातावरणको विश्वास दिलाउन सक्नुपर्छ।”

अध्यक्ष कार्कीका अनुसार सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ। उक्त लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उहाँको भनाइ छ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताउनुभयो। यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उहाँको भनाइ छ। “यो तेस्रो लगानी सम्मेलन त सुरुआत मात्रै हो। जलविद्युत्‌मा आवश्यक पर्ने लगानीका लागि थुप्रै काम गर्न बाँकी नै छ,” उहाँले भन्नुभयो, “सम्मेलनमा नेपाली व्यवसायहरूसँग मिलेर विदेशी व्यवसायीहरूले सहकार्य गर्ने मौका पनि जुर्ने विश्वास छ, यसले नेपालको जलविद्युत् क्षेत्रमा निकै सहयोग पुग्ने छ।”

जलविद्युत्‌मा सबै किसिमका उद्योगीहरू लगानी गर्न उत्साहित देखिएका भन्दै उहाँले यसमा चाँडोभन्दा चाँडो धेरै परियोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ। “जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता लगानी गर्न उत्सुक देखिनुभएको छ। अब जलविद्युत्‌मा लगानी गर्नका लागि अझै थप उत्साहित हुने वातावरण तय गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।

निजी क्षेत्रले अध्ययन गरे सबै आयोजना निर्माणमा जान योग्य बनाइसकेको भन्दै उहाँले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल बढाउने किसिमको नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभएको छ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ वैशाख १६ देखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ। बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन्। लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९  परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link