नयाँपुस्ताले त्याग्यो मौलिक सीप

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे। हातमा सीप भएका बुढापाका पनि धेरै थिए। हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन्। उनीहरूले उत्पादन गरेका वस्तुले बजार पाउँदैन।

आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो। खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो। अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन। वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन्। बनाउने मान्छे पनि कम छन्। दही, मही र दूध राख्नका लागि प्रयोग गरिने ठेकी पनि बिक्री हुँदैनन्। विभिन्न जातजातिमा आधारित सीप नागरिकको जीवन निर्वाह गर्ने माध्यम थियो।

परम्परागत सीप बिक्न छाडेपछि पछिल्लो समय मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ। बागलुङको ग्रामीण समाज परम्परागत कृषि र पशुपालनमा आश्रित रहेको थियो। अहिले त्यो परिस्थिति फेरिएको छ। अचेल गाउँमा मान्छे कम छन्। उनीहरूले आयातित सामान प्रयोग गर्छन्। यसले आत्मनिर्भरभन्दा परनिर्भर बनाइरहेको छ। जिल्लाको ढोरपाटन नगरपालिका–९ का तुलासिंह पुन मगरले ९ वर्षको उमेरदेखि नै चोयाका सामग्री बुन्नुहुन्थ्यो। डोको, नाङ्लो झेरुङ्गो, पेरुङ्गोलगायतका सामग्री घरायसी काममा प्रयोग हुन्थे। अहिले ती सामग्रीको सट्टा प्लाष्टिकका सामान प्रयोग हुन थालेका छन्।

घर्ती भन्नुहुन्छ, “जुगजमाना सबै फेरिए, हाम्रो पालाको जस्तो छैन अहिले, उतिबेला बजारबाट नुन र चामल ल्याउँथे, लत्ताकपडा ल्याउँथे, अचेल सबैथोक बजारबाट आउँछ, प्लाष्टिकका सामान आउँछन्, यहाँ बनेका काठका, चोयाका र बाबियोका सामान प्रयोग नै गर्दैनन्, नजिकै बजार छ, पैसा भएपछि सबै एकछिनमा घरमा आउँछन्, सुविधा त भयो तर हाम्रो मौलिकता हरायो, सीप पनि हराउने नै भए।”

निसीखोला गाउँपालिका–७ का प्रेमबहादुर विकले बाल्यकालदेखि नै काठका ठेकी बनाउन सिक्नुभयो। पछि ठेकी बनाएरै परिवार चलाउँदै आउनुभयो। सात वर्ष यता ठेकी बिक्री हुन छाडेपछि उहाँले अहिले ठेकी बनाउने काम नै छोड्नु भयो। आफूले बनाएका ठेकी किन्नका लागि टाढाटाढाबाट ग्राहक आउने गरेको भन्दै पहिले बनाएका ठेकी यतिकै थन्क्याइएको उहाँको भनाइ छ। मेला, पर्व र विभिन्न सार्वजनिक कार्यक्रम हुने स्थलमा डोकोमै बोकेर ठेकी बेच्न जाने गरेको स्मरण गर्दै अहिले धातुका ठेकीले गर्दा काठका ठेकी विस्थापित भएको विक बताउनुहुन्छ।

“मेरा छोरा नातिले पनि ठेकी बनाउन सिकेनन्, सिकेको भए पनि अहिले बिक्री हुने रहेनछ, हामीहरूले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामी पछिका युवाले पुराना पुस्ताको सीप सिकेनन्”, विकले भन्नुभयो, “मैले ठेकी बेचेर महिनामा उतिबेलाको रु ३० हजारसम्म कमाउने गर्थे, तर अहिले एउटा ठेकी पनि बिक्री हुँदैन, राज्यले आयातित सामानलाई प्रतिबन्ध गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिए हामी जस्तो हातमा सीप भएका मान्छेलाई जीविका चलाउन समस्या हुने थिएन।”

निसीखोला–५ का ६७ वर्षीय तिलबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको थियो। बुढ्यौलीले गर्दा हातपाखुरा चल्न छाडेपछि उहाँले अहिले आरनमा काम गर्नुहुन्न। आफ्ना दुई भाई छोराले सानैबाट यो पेसाप्रति चासो नै दिएनन्। घरेलु औजार बनाइदिएबापत गाउँलेबाट हिसाब गरेर धान, गहुँ, मकैजस्ता खाद्यान्न उठाएर परिवार चलाउँदै आए पनि अहिले पेसा पूर्णरुपमा बन्द भएको छ।

आफूले १०/१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उहाँको भनाइ छ। अचेल बजारमा हसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाउने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link