राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो। कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।
यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ। तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसङ्ख्या वृद्धिदर रहेको छ।
पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६० दशमलव एक प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत रहेको छ। बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।
प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गर्दै चार सयभन्दा बढी जनसाङ्ख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, पत्रकारलगायत आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण सार्वजनिक गर्नेक्रममा आगामी आठ महिनाभित्र १६ वटा विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिनुभयो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ। हरेक १० वर्षमा जनगणना गर्ने व्यवस्था भएबमोजिम यसअघि २०६८ सालमा लिएको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चन्दा सङ्कलन गरी पदमार्ग निर्माण
- म्यान्मा भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ
- तीनकुने घटनामा दिवङ्गत पत्रकार रजकलाई लुम्बिनीमा श्रद्धाञ्जली
- बिपी राजमार्ग : वैकल्पिक सडक निर्माण गरिँदै
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- म्यान्मामा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा
- नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
- मकै छोडेर कफीखेतीमा महाभारतका किसान
- ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
- ढोरपाटनमा सुरु भयो सिकार याम
