काठमाडौँको तीनकुने आगजनी घटनामा ज्यान गुमाउनु भएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
मधेसी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा दिवङ्गत आत्माको चिर सान्तीको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको हो।
मधेसी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम विकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गर्नुभयो। “एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन, यो सम्पूर्ण पत्रकारिता क्षेत्रको लागि गम्भीर आघात हो,” चौधरीले भन्नुभयो। प्रदेश अध्यक्ष चौधरीले लुम्बिनीलाई शान्ति भूमि मात्र नभई न्यायको आवाज उठाउने स्थलका रूपमा परिभाषित गर्दै समाजमा व्याप्त अन्याय, दमन र हिंसाका विरुद्ध सशक्त रूपमा उभिनुपर्ने धारणा राख्नुभयो।
मधेसी पत्रकार समाज नेपाल, रुपन्देही शाखा अध्यक्ष राधेश्याम विश्वकर्माले पत्रकार सुरेश रजकको बलिदानलाई व्यर्थ जान नदिनुपर्ने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो। “पत्रकारितालाई भयमुक्त बनाउन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र अपराधीलाई कठोर कारबाही गराउन हामी निरन्तर आवाज उठाउनेछौँ,” उहाँले भन्नुभयो।
त्यस्तै, पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै मर्चवार प्रेस क्लबका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ रुपन्देही कार्य समिति सदस्य हृदयराम गुप्ताले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न राज्यले कडा कदम चाल्नुपर्ने माग गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकार, भिक्षु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले मृतक आत्माको चिर सान्तीको लागी प्रार्थना गर्दै पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
