वनको व्यवस्थापन नभएर बढ्यो डढेलो

वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन्। देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले २७ वैशाखमा काठमाडौँमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उहाँहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिनुभएको हो।

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताउनुभयो। “पहिलापहिला वनको पातपतिङ्गर सोरेर जैविक मल बनाइन्थ्यो, घाँस, दाउरा सङ्कलन हुन्थ्यो र वन क्षेत्र पनि सफा हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब अहिले ती सब क्रियाकलाप नहुँदा वनमा बल्ने चिज थुप्रँदै गए र वन डढेलो फैलने खतरा भएकाले वनको व्यवस्थापनमा जोड दिनुपर्छ।”

उहाँले डढेलो पूर्वतयारी र नियन्त्रणमा राज्यको लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जानेसमेत बताउनुभएको छ। उहाँका अनुसार राम्रो घाँस दाउरा पलाउने लोभमा पहिले–पहिले वनमा मानिसले जानाजान आगो लगाउने गरेको र अहिले भने पिकनिक जाँदा आगो बाल्ने अनि छाडेर हिँड्दा, चुरोट खाएर जङ्गलमा फाल्दा, क्याम्प फायर गर्दा तथा कुनै रिसिइबीका कारण र काठ तस्कर गरेर प्रमाण नष्ट गर्नका लागि पनि मानिसले जङ्गलमा आगो लगाउने गर्छन्।

वन डढेलोका कारण वन जङ्गल विनाश, जैविक विविधतामा ह्रास, वातावरणीय विनाश, बस्तीमा आगो सल्कने खतरा, वन अतिक्रमण, विकास निर्माणमा वृद्धिलगायतका असर पर्न सक्छ”, पौडेलले भन्नुभयो, “सबैको सहकार्यमा वन डढेलो नियन्त्रणलाई गम्भीरताका साथ लिन जरुरी छ।”

उहाँले वनमा लाग्ने डढेलो ६० प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापबाट हुने भन्दै जानाजान आगो लागाउनेलाई कडाइ कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वातावरण अधिकृत रिना चौधरीले २० मिलिमिटरसम्मको वर्षा हुँदा पनि डढेलो नियन्त्रण भने हुन नसकेको बताउनुभयो।

नेपाल जस्तो मुलुकका लागि हेलिकप्टरलगायतका अत्याधुनिक सामग्री प्रयोगबाट डढेलो नियन्त्रण गर्न सम्भव नभएको उहाँको भनाइ छ। “पर्याप्तमात्रामा नेपालमा दमकल नहुनु, अग्नि नियन्त्रणका लागि दक्ष जनशक्तिको अभाव हुनुले पनि डढेलो नियन्त्रणमा समस्या भएको छ”, चौधरीले भन्नुभयो, “नेपालमा कति दमकल छ ? अवस्था के छ ? कर्मचारी कतिको दक्ष छन् ? यस विषयमा मूल्याङ्कन भइरहको छ, सोअनुरुप कार्यविधि बनाइनेछ।”

यसैगरी पारिवारिक निजी वन सङ्घ नेपालका अध्यक्ष जोगराज गिरीले पनि डढेलोबाट वन जोगाउन सहकार्य र प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेकामा जोड दिनुभएको छ।

यसैगरी फेकोफनको महासचिव पार्वता गौतमले पनि वन डढेलोबाट घाइतेलाई समयमामा नै उद्धार, पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ। “वन डढेलो नियन्त्रणसम्बन्धी सामान्य ज्ञान नहुँदा यहाँ बर्सेनि डढेलेका कारण मानिसको जान गएको छ त कैयौँ घाइते भएका छन्, उनीहरुको समयमा नै राहतको व्यवस्था हुनुपर्छ र दक्ष जनशक्ति निर्माणका लागि तालिम जरुरी छ”, उहाँले भन्नुभयो, “फेकोफनले भने डढेलो पीडित उपभोक्तालाई निःशुल्क काठ उपलब्ध गराउन समूहहरुलाई निर्देशन दिएका छौँ।”

फेकोफन भक्तपुर जिल्ला अध्यक्ष पार्वती नगरकोटीले आफूहरुले समूहरुमा डढेलो नियन्त्रण र सुरक्षासम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गराएको जानकारी दिनुभयो। उहाँकाअनुसार स्थानीय तहको सहकार्यमा डढेलो नियन्त्रणका गतिविधि अगाडि बढाइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link