भारतीय कृषीमा सुरू भयो एआईको प्रयोग

दक्षिण भारतको तेलंगाना राज्यमा सरकारले विभिन्न कृषि सहायता संस्थाहरू र प्रविधि कम्पनीहरूसँगको सहकार्यमा एउटा नवीन परियोजना “सागु बागु” सुरु गरेको छ। यस परियोजनाले सात हजार खुर्सानी उत्पादक कृषकहरूलाई एआई सञ्चालित औजारहरूद्वारा खुर्सानी खेतीमा सहयोग गरी कृषिमा उदीयमान प्रविधिहरूको प्रयोग तथा एकीकरणमा महत्त्वपूर्ण पाइला अगाडि बढाएको छ।

 “सागु बागु” कार्यक्रमले परम्परागत चुनौतीहरूबाट किसानहरूलाई सहयोग गर्न एआई आधारित विभिन्न समाधानहरू अगाडी ल्याएको छ। यसका लागि महत्त्वपूर्ण मानिने ह्वाट्सयाप च्याट बट डिजिटल ग्रिन र ओपन सोर्स डेभलपर ग्लिफिकसँगको सहकार्यमा बनाइएको  थियो। तेलुगु भाषाको यस च्याट बटले किसानहरूलाई कृषि उत्पादनको विभिन्न चरणहरू अनुरूप समयमै सुझावहरू प्रदान गरेको थियो ।

कृषि तन्त्र नामक एग्रीटेक स्टार्टअपले मेसिन लर्निङ प्रविधि भएको माटो परीक्षण केन्द्रहरूको स्थापना गरेको थियो। यस नवीन प्रयोगले माटो परीक्षण प्रक्रियालाई छिटो बनाइ माटोको स्वास्थ्य र अवस्था बुझ्न सहज बनाएको थियो भने यसले माटोमा कुन मल प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुराको जानकारी पनि किसानहरूलाई जानकारी गराएको थियो ।

अर्को एआई स्टार्टअप एजीनेक्स्टले खेतमै खुर्सानीको गुणस्तरको सीधै मूल्याङ्कन गर्न कम्प्युटर भिजन प्रणाली ल्यायो । यसले कृषकहरूलाई बिग्रेका खुर्सानीहरूको खेतमै  पहिचान गरी रङ्ग र आकार जस्ता गुणस्तरीय विशेषताहरू निर्धारण गर्न सक्षम बनायो । यसले गर्दा  आफ्नो उब्जाउको मूल्य बढाउन र बिग्रेको र खराब उब्जाउ कम गराउन कृषकलाई मदत मिलेको छ ।

१८ महिनाको तीन कृषि बाली समेटिएको यस पाइलट कार्यक्रममा यी एआई एप र अन्य उपकरणहरूको उपयोग तथा कार्यान्वयनले उल्लेखनीय नतिजाहरू ल्याएको हो । यसको प्रयोगपछि किसानहरूले प्रति एकडमा २१ प्रतिशत बिरुवा उब्जाउमा वृद्धि भएको बताएका छन्  । साथै कीटनाशक र मलको प्रयोगमा क्रमशः ९ प्रतिशत र ५ प्रतिशतले कमी आएको छ। विश्व आर्थिक मञ्चका अनुसार परिणाम स्वरूप बिक्री मूल्य ८ प्रतिशतले बढेको छ । तेलंगाना सरकारले यो प्रयोगको सफलताबाट प्रेरित भएर भिन्न-भिन्न प्रकारका बाली उब्जाउने ५ लाख किसानहरूलाई यसमा समावेश गर्न कार्यक्रम विस्तार गरेको छ।

सागु बागुको सफलताले भारतमा मात्रै नभई विश्वव्यापी रूपमा कृषिमा क्रान्ति ल्याउने एआईको विशाल सम्भावनालाई चित्रण गर्दछ। तेलंगानामा यसको प्रभावकारिताले विभिन्न कृषि, वातावरणमा यस्ता प्रविधिको अनुकूलताको मापनयता र सान्दर्भिकतालाई जोड दिएको छ। कार्यक्रमको सफलताले एआई-सञ्चालित कृषिको लागि उज्यालो भविष्यको सङ्केत दिएको छ। साथै यस क्षेत्रमा विश्वव्यापी रूपमा थप आविष्कार र लगानीका लागि बाटो पनि देखिएको छ।

सागु बागुले कृषिमा एआईको रूपान्तरणकारी शक्तिको उदाहरण हो जसको प्रयोगले किसानहरूलाई उत्पादनमा वृद्धि, खर्चमा कमी गराउँदै आधुनिक खेतीका चुनौतीबाट पार पाउनका लागि दिगो र प्रभावकारी मार्ग प्रदान गर्दछ।

कृषिमा एआईको प्रभाव दिनदिनै बढ्दै गइरहेको छ। यसले विश्वव्यापी रूपमा परम्परागत खेती गर्ने अभ्यासहरूमा परिवर्तन ल्याइरहेको छ । एआई-सञ्चालित प्रविधिले किसानहरूले सामना गर्ने विभिन्न चुनौतीहरूको समाधान प्रदान गर्दछ । यसले बाली प्रणाली अनुकूलन गर्ने, उत्पादन वृद्धि गराउन, बालीको स्वस्थताको अनुगमन गर्न र प्रकोपहरूको प्रक्षेपण गर्न मदत गर्छ । यसले बाली उत्पादन मात्र बढाउँदैन पानी, मल र कीटनाशकहरूको अत्यधिक प्रयोगलाई कम गरेर दिगो खेती अभ्यासहरूमा योगदान पुर्‍याउँछ।

तेलंगानाको सागु बागु कार्यक्रम जस्ता समान प्रयासहरू विश्वव्यापी रूपमा लागू भइरहेका छन्। भारतको आन्ध्र प्रदेशमा, इक्रीस्याट (ICRISAT) र माइक्रोसफ्ट बिचको सहकार्यमा किसानहरूलाई बाली रोप्ने सल्लाहहरूमा एआई-सञ्चालित सन्देशहरू प्रदान गर्दा बाली उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । साथै माइक्रोसफ्ट र भारतको युनाइटेड फस्फोरस बिचको सहकार्यले कीरा-फट्याङ्ग्रा आक्रमणको पूर्वानुमान गर्न र बाली नोक्सान कम गर्न सहयोग गर्ने एआई संचालित प्रविधिको विकास गरेका छन् ।

माथिका उदाहरणहरूले कृषिमा एआईको बढ्दो प्रभावलाई देखाउँछ । यसले विश्वव्यापी रूपमा दिगो र लाभदायक कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै विकासशील देशहरूमा किसानहरूले सामना गर्ने कृषिका जोखिम समस्याहरूलाई सम्बोधन गर्ने सम्भावनामाथि प्रकाश पारेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link