संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गर्यो गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा इजरायल-हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहितको युद्धविराम प्रस्ताव पारित गरेको छ । 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमबार गाजामा इजरायल र हमासबीचको आठ महिना लामो युद्ध अन्त्य गर्ने पहिलो प्रस्तावलाई भारी बहुमतले अनुमोदन गरेको छ।

सुरक्षा परिषद्मा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएको थिएन । 

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकाले इजरायल र हमास दुवैलाई विनासर्त युद्ध विराम गर्न अपिल गरेको छ । 

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्कन सोमबार इजरायलमा थिए, जहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गरेका थिए। इजरायल अझै हमासलाई नष्ट गर्न प्रतिबद्ध रहेको भन्दै नेतान्याहुले सम्झौताप्रति शंका व्यक्त गरेका छन्।

हमासले उक्त युद्धविरामको प्रस्तावलाई स्वीकृत गरेकोमा स्वागत गरेको छ । साथै, यसलाई कार्यान्वयन गर्न इजरायलसँग वार्ता गर्ने र मध्यस्थकर्तासँग काम गर्न तयार रहेको बताएको छ । 

इजरायलका एक वरिष्ठ कूटनीतिज्ञले इजरायल आफ्नो अडानमा अडिग रहेको बताउँदै “सबै बन्धकहरूलाई फिर्ता नगरेसम्म र हमासको सैन्य र शासक क्षमताहरू समाप्त नभएसम्म युद्ध जारी राख्ने बताएका छन्।”

यसअघि, हमास र प्यालेस्टिनी इस्लामिक जिहाद नेताहरूले प्रस्तावित युद्धविराम सम्झौताको बारेमा छलफल गर्न कतारमा भेट गरेका थिए । भेटमा सो सम्झौताले स्थायी युद्धविराम, गाजाबाट पूर्ण इजरायली सेना फिर्ता, पुनर्निर्माण र गाजामा रहेका बन्धकहरू र इजरायली जेलहरूमा राखिएका प्यालेस्टिनीहरू रिहाईको सम्झौतामा छलफल भएको थियो । 

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलाबाट युद्ध सुरु भएको थियो जसमा आतङ्ककारीहरूले करिब एक हजार २०० मानिसहरूलाई मारेका थिए, जसमा मुख्यतया इजरायली नागरिकहरू थिए र करिब २५० अन्य देशका नागरिकलाई बन्धक बनाएका थिए। लगभग १२०  बन्धकहरू रिहाई हुन बाँकी रहेका छन् भने ४३ जनालाई मृत घोषिणा गरिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणबाट ३६ हजार ७०० जना भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् र ८३ हजार भन्दा बढी घाइते भएका छन् । युद्धबाट गाजाका लगभग ८० प्रतिशत भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सुरक्षा परिषद्ले गत मार्च २५ तारिक गाजामा मुस्लिम पवित्र महिना रमजानमको अवसर पारेर मानवीय युद्धविरामको माग गर्दै एक प्रस्ताव पारित गरेपनि युद्ध रोकिएको थिएन । 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पारित गरेको युद्धविराम प्रस्तावको तीन चरणमध्ये पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरुको शव फर्काउने उल्लेख छ । इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ ।

दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुने छ । यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ ।

तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु हुने छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link